जीवनका हरेक क्षणसँग मैले सँधै संघर्ष गरेँ । मैले बुझेको जीवन, तिमीले व्याख्या गरेको जीवनभन्दा फरक थियो र त्यो फरक मलाई कहिल्यै अनौठो लागेन । मैले समयसँग युद्ध गरें, तिमी अवसरसँग रमायौ । फरक यत्ति मात्रै म स्वाभिमानी भएर बाँचेँ, तिमी तिमीलाई पूर्ण ठान्दै, हराएको आत्मस्वाभिमान खोज्दै हिँड्यौ । तिमी शहरको कोलाहलमा रमायौ, म थाकें । मलाई लाग्यो, शहरमा जिन्दगी होइन, केबल अस्तित्वको संघर्ष बाँकी छ । उकालो लाग्दा श्वास फेर्नै गाह्रो, एउटा मास्कले शरीरको मात्र हैन, आत्माको मुख पनि छोपिदिएजस्तो महसुस हुन्थ्यो ।
शहरको रहर, महल र मोटर, तर त्यही छेउमै थुप्रिएको फोहोर र गाडीले फ्याँकेको कार्बनडाइअक्साइडमा म निस्सासिएँ । तर तिमी, तिमी त त्यसलाई पनि सम्भ्रान्तताको उपमा दिँदै रमायौ । मलाई लाग्यो, यो शहर साँच्चै एउटा ऐंठन हो, जहाँ मानिसहरू आफ्नै श्वासप्रति अनभिज्ञ भएर बाँच्छन् । गाउँका निर्दोष सपना बोकेर आएका युवाहरूलाई विदेश पठाउने नाममा ठग्यौ तिमीले । सम्भ्रान्त बन्ने रहरमा कति निर्दोष आँखाहरू तिमीले रुवायौ । अनि तिमीको चिल्लो गाडी र आलिसान महल देखेर म दंग पर्नुपर्छ ? छैन, मलाई दंग हुने मन छैन । मलाई त शहर सम्झिँदा, तिमी सम्झिँदा, मनैबाट बान्ता गर्न मन लाग्छ । धेरै वर्षपछि रोशनसँग भेट भयो बाल्यकालको साथी, जससँग मैले खेतबारीमा लडेर मकै खाएको थिएँ, खोला किनारमा च्याप्प अडिएर माछा समातेको थिएँ । ऊ आज शहरको चम्किलो गाडी चलाउँदै मलाई लिन आयो । चिल्लो सडक, एसी गाडी, र उसका मौन वाक्यहरू ती सबैमा म हराएको रोशन खोजिरहें ।
काठमाडौं पनि तातो भइसकेछ,मैले बोलेको बहानामा भनेँ । उसले एकोहोरो एसी अन गर्यो, तर मलाई त जति चिसो भयो, त्यति नै उकुसमुकुस लाग्यो । उसका बा–आमालाई सम्झिएँ । ती गरिब किसान, जसले आफ्नो छोरो कतार जान सकून् भनेर ऋण खोजेका थिए । गाडी एक ठूला महल अघिल्तिर रोकियो । म झरेँ, ऊसँगै तेस्रो तलासम्म पुग्दा म थकित भएँ । महलजस्तो फ्ल्याट, महँगो सजावट, वाइनका बोतलहरू यो रोशन, त्यो रोशन होइन । भित्र पस्नासाथ सायद भाउजु हुन् भन्ने महिलाको स्वर सुनियो सब्जी ल्याइसिएन ? रोशन चुप, फेरि भाउजुको स्वर म सक्दिन है... गएर ल्याइसियो । ऊ फेरि चुप । यी शब्दहीनताहरू, यी सम्बन्धका मौन संकेतहरू मलाई बेस्सरी टोक्थे । गाउँको बोलक्कड, रमाइलो रोशन, शहरमा आएर शब्दमा पनि कन्जुस बनिसकेको थियो ।
धेरै समयपछि रोशनलाई भेट्ने अवसर मिल्यो । बाल्यकालको साथीजससँग म बर्खामा चप्पल नलगाई दौडिन्थेँ, सुक्खामा मेलामा एक पैसा जम्मा गरेर कच्ची मिठाइ किन्थेँ । त्यो रोशन, आज काठमाडौंको चिल्लिएको सडकमा चिल्लो गाडीको सिटमा थियो । काठमाडौं पनि तातो हुँदैछ है । मैले उसको मौनतालाई तोड्ने कोसिस गरेँ । भित्तामा झुण्डिएका तस्बिरहरू हेर्दै म सोच्न थालेँ । भाउजूकै हातले पस्किएको उसकै बनाएको खाना खाँदै गर्दा म सोच्दै थिएँ गाउँमा जे नजान्ने रोशन, शहरले उसलाई बिस्तारै जीवनका सबै पक्ष सिकायो । अब ऊ श्रीमतीलाई राहत दिन्छ, घर सम्हाल्छ, चुपचाप भान्सामा पस्छ र यो सहरमा साँच्चै ‘मान्छे’ बनेर बाँच्न थालेको छ । भोलिपल्ट बिहान, जब बोलेरो गाडीले हरिया वनहरू छिचोल्दै गाउँतिर लगिरहेथ्यो, मनमा चिसो हावाले सुक्का स्पर्श गरिरह्यो । शहरको धुलो, धुवाँ, सम्झनाहरूसबै एउटै भुँइचालो बनेर मभित्र कम्पन गराइरहेका थिए । तर ती कम्पनमा पीडा थिएन, केवल स्वीकृति थियो । मैले स्वीकार गरेँ जीवन जति परिवर्तनशील रहेछ, सम्बन्धहरू त्यति नै स्थायी बन्न सक्दैनन् । समयले जसलाई जहाँ पु¥याउँछ, त्यहाँ उसले आफूजस्तै अरूलाई बनाउँछ । गाउँका बाटाहरू फेरि चिनेझैँ लागे, रुखहरू अझै हरिया थिए, हावाले अझै मुटुलाई छोइरहेको थियो । मलाई लाग्यो । शहरले मेरो साथीलाई खायो होला, फे¥यो होला, तर उसलाई केही गहिरो कुराहरू सिकाएर मात्र पठायो । आज पनि जब शहर सम्झिन्छु, मन अमिलो भएर आउँछ । त्यो चिल्लो सहर, तिमी र मबीचको मौनता, भाउजुका कुरा, सानो नानीको मुस्कान, खाना पकाउने रोशन । सबै सम्झनाहरू मनको कुनामा फुलेर फेरि ओइलाएर जान्छन् ।
भित्तामा टाँगिएका तस्बिरहरू नियाल्दै म सम्झिरहेको थिएँ मन फेरिनु जीवन फेरिनुभन्दा कठिन हुनुपर्ने, तर यहाँ त ठ्याक्कै उल्टो देखियो । वाइनका बोतलहरू, शहरिया शैली रोशन अब अर्कै परिवेशको मान्छे भइसकेको थियो । कतार जान किन यति धेरै पैसा लिएको भनेर एउटा पत्रकारले आज दिक्क बनायो, ऊ अचाक्ली थकित देखिन्थ्यो । बाहिर खाना खान जाउँ? उसले प्रस्ताव ग¥यो । भाउजु भित्रबाट बोलिन् साथीलाई घरको खाना खुवाउने हो, बनाउँछु म । रातको आठ बजिसकेको थियो । बाबुको पनि भोक लागेको हुनुपर्छ भन्ने लाग्यो । रोशन बाबुलाई लिएर भित्र गयो । म एक्लै कोठामा बसिरहेँ । समय र सम्बन्ध दुबै पट्यार लाग्दो लाग्न थाले । टेबलमा राखिएको पत्रिका पल्टाएँ । पहिरोमा परेर एकै परिवारको मृत्यु, अबिरल वर्षा, डुबान... अनि सम्झेँ, हामी कहाँ आइपुगेका छौं ?
अब खाना खाउँ है ! रोशनले बोलायो । भोक त लागेकै थियो । उसले पकाएको खाना, भाउजुले पस्किएको । मैले सोधेँ खाना पकाउन पनि आउँछ तलाई ? परेपछि आउनु पर्यो नि ! उसले हाँस्दै जवाफ दियो । गाउँमा केही गर्न नसक्ने भन्ने उसले शहरमा सबै गर्न थालिसकेको थियो । अहिले उसले सिकेको थियो खाना पकाउन, पत्नीलाई साथ दिन, जीवन चलाउन । मैले भाउजुतिर हेरेर अधुरा शब्दहरू फ्याँकें गाउँले भाउजू पनि शहरिया भएपछि म पनि... । खाना खाएर गेष्ट रुम पुगेपछि म सोचिरहेँ यो रोशन, उही हो ? गाउँमा काम नगर्ने एक्लो छोरो, जसलाई आमा बाउले ढाडस दिएर हुर्काएका थिए । अब ऊ दिनभरि काम गर्छ, बेलुकी श्रीमतीलाई खुशी पार्न खाना पकाउँछ । शहरले उसलाई केवल चिल्लो कपडा, वाइन र महल मात्र होइन, जीवनको नयाँ पाठ सिकाएको थियो । म बुझ्न थालेँ शहरले मानिसलाई सक्दो निचोर्छ, फेरि फेर्छ पनि । सम्भ्रान्तताको नाममा, आधुनिकताको बहानामा, सबैलाई बदल्ने प्रयास गर्छ यो शहर लवाई, खुवाई, चालचलन, र सोचाइसम्म पनि । भोलिपल्ट बिहान, जब बोलेरो गाडीले काभ्रेको भञ्ज्याङ छिचोल्दै हिलो र हरियाली पार गर्दै फर्किरहेथ्यो, म शहरबाट टाढा हुँदै थिएँ । मन हल्का भयो । तर सम्झनाहरू भने रोशनको महलजस्तै, मनभित्र ईँटाजस्तै गढेर बसे रोशन, भाउजू, सानो नानी, र शहरको धुलो....। शहरले उसलाई सम्भ्रान्त बनायो होला तर म अझै गाउँमै रमाउँछु । जहाँ सपना साँचिन्छ, हार स्वीकारिन्छ, र जीवन अलिकति ढिलो तर गहिराईमा बाँचिन्छ ।
जीवनका हरेक क्षणहरूसँग मैले सधैं लडाइँ लडेँ । कहिले परिस्थितिसँग, कहिले आफ्नै सोचसँग, र कहिले आफ्नै प्रेमहरू, नाताहरू, सपना र अपेक्षासँग । तिमीचाहिँ कहाँ लड्यौ ? तिमी त सधैं भाग्यसँग हातेमालो गर्दै अघि बढ्यौ । मैले चिनेको जिन्दगी र तिमीले बनाएको जीन्दगी एउटै किताबका फरक अध्यायहरू जस्तै रहे सङ्घर्ष र सुविधा । म ती बाटाहरूमा हिंडिरहेँ जहाँ सपना पाइला टेक्न डराउँथे, तिमी भने त्यस्ता सडकमा हिंड्यौ जहाँ सपनाहरूले गाडी चलाउँथे । अनि हामी दुईका पाइलाहरू फरक हुन त स्वाभाविक नै थियो । मैले आत्मस्वाभिमानलाई ढुंगामा उम्रिएको बनझाँडीझैँ जोगाइरहें, तिमीचाहिँ सायद कुनै बेलामा हराएको स्वाभिमान सहरको झिलिमिली भित्र खोजिरह्यौ । शहर, तिमी रमाउने ठाउँ तर म त्यहाँ घुटिन्थेँ । ती महलका छायाँमा बस्दा मलाई कहिलेकाहीँ लाग्थ्यो, यो संसार साँच्चै दुईवटा अस्तित्वको द्वन्द्व हो एउटा, जसले सहरलाई सपना ठान्छ, अर्को जसले सहरलाई दुःस्वप्न । तिमी पहिलो थियौ, म दोस्रो । र, हामीबीचको त्यो असहज मौनता सायद यही द्वन्द्वको उपज थियो ।
शहर र गाउँ दुवै मानव बस्तीका रुपहरू हुन्, तर यी दुईको जीवनशैली, सामाजिक संरचना, विकासको स्तर, अनि सोचाइमा स्पष्ट भिन्नता पाइन्छ । शहरमा जनसंख्या धेरै घना हुन्छ । भवनहरू ठूला, अग्ला र घनाजम्ती हुने गर्छन् । सडक, पुल, आवासीय अपार्टमेन्टहरू, अफिस र बजारहरू धेरै घना र योजनाबद्ध रूपमा निर्माण गरिन्छ । गाउँमा भने बसोबास छरिएर हुन्छ । हरियाली, खेतबारी, खोलानाला र जंगल नजिक हुने हुँदा प्राकृतिक सौन्दर्य पाइन्छ । घरहरू परपर हुन्छन् र एकअर्कासँग आत्मीय सम्बन्ध हुन्छ ।शहरमा उद्योग, व्यापार, सेवा, प्रविधि, बैंकिङ, र प्रशासनिक क्षेत्रले अर्थतन्त्र चलाउँछन् । गाउँको मुख्य आर्थिक आधार भनेको कृषि, पशुपालन, र प्राकृतिक स्रोतहरूको उपयोग हो । शहरमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बिजुली, इन्टरनेट जस्ता आधारभूत र आधुनिक सुविधा सहज उपलब्ध हुन्छन् । गाउँमा यी सुविधा अझै पनि सीमित वा पहुँच बाहिर छन् । यद्यपि अहिले गाउँहरू पनि क्रमशः आधुनिक हुँदै गएका छन् । शहरमा विभिन्न जात, धर्म, र भूगोलका मानिसहरू बस्ने भएकाले मिश्रित संस्कृति देखिन्छ । यहाँको जीवनशैली व्यस्त, प्रतिस्पर्धात्मक र आधुनिक सोचमा आधारित हुन्छ । गाउँमा परम्परागत सोच, संस्कार र सामुदायिक जीवनशैली बलियो हुन्छ । धर्म, जातीयता, र परम्परागत मूल्यमान्यताले बढी प्रभाव पार्छ ।
गाउँमा सबै एकअर्कालाई चिन्छन्, मिलेर काम गर्छन्, दुःख–सुख बाँड्छन् । शहरमा मानिसहरू प्रायः आ–आफ्नो दुनियाँमा व्यस्त हुन्छन्, छिमेकीलाई पनि नचिन्ने अवस्था देखिन्छ । सभ्यता भन्नाले मानिसको सामाजिक, सांस्कृतिक, आर्थिक र नैतिक उन्नतिलाई जनाइन्छ । सभ्य समाजमा शिष्टाचार, नियम–कानून, सहिष्णुता, आपसी सम्मान, विज्ञान र प्रविधिको विकास, कला–संस्कृतिको समुन्नति र मानव अधिकारको सम्मान पाइन्छ । सभ्य समाजमा शिक्षा सबैको आधार हुन्छ । मानिसहरू पढेलेखेका हुन्छन्, वैज्ञानिक सोच राख्छन् र तर्कमा विश्वास गर्छन् ।सभ्य मानिसहरू अरूप्रति सहिष्णु, इमान्दार, र दयालु हुन्छन् । उनीहरू सामाजिक नियमहरूको पालना गर्छन् । सभ्यता त्यहाँ हुन्छ जहाँ कानूनको शासन हुन्छ । सबै नागरिक कानूनको सम्मान गर्छन्, र अन्याय वा हिंसा विरुद्ध बोल्ने वातावरण हुन्छ । सभ्य समाज सबै वर्ग, जात, धर्म र लिङ्गका मानिसहरूलाई समान दृष्टिले हेर्छ । भेदभाव कम हुन्छ । सभ्यताले विज्ञान र प्रविधिको सदुपयोग गरेर मानव जीवनलाई सहज, सुरक्षित र सम्मानजनक बनाउँछ ।
गाउँ र शहर दुवै समाजका अभिन्न अङ्ग हुन् । यद्यपि भिन्न परिवेश र जीवनशैली भए पनि, दुवैको उद्देश्य सुखद, मर्यादित, र सभ्य जीवनयापन गर्नु हो । सभ्यता भनेको कुनै ठाउँ विशेषको कुरा होइन, यो मानिसको सोच, व्यवहार र मूल्यमा आधारित हुन्छ । चाहे शहरमा बस्ने होस् वा गाउँमा यदि हामीमा इमान्दारिता, सहिष्णुता, आत्म–संयम, र समानताको भावना छ भने हामी सभ्य मानिस हौं । सभ्य समाजको निर्माण सोचबाट हुन्छ, ठाउँबाट होइन ।
मनिता शर्मा
काठमाडौ





