
सरकार एउटा प्रेम अदालत गठन गर्दै जहाँ मेरो बुढालाई मुटु र दिमागलाई फ्रिज गरी शरीरलाई आन्तरिक ट्रमामा पु¥याएर अर्ध चेतको अवस्थामा छोडेर विलम्ब गरी उपस्थित हुने जिकिर लिएको कसुरमा आजीवन हृदय कैद गराई पाउँ भन्ने माग दाबी लिएर मुद्दा दायर गर्नु छ । हरेक दिन दर्ता हुने अदालती लिखत, निवेदन र सेवाग्राहीका गुनासा भन्दा केही भिन्न फिराद थियो । कानुनका दफा र ड्यु प्रोसेस हेरेर दर्ता र दरपिठ गर्न टेक्ने कुनै आधार भेटिन तर यी प्रेमिल भावमा आफूलाई पनि कहीँ कतै पाउन थालेँ । सरकारले यस्ता प्रेमिल मन भएकाहरू माग सम्बोधन गरी प्रेम अदालत गठन गर्ला वा नगर्ला यो तपसिलको विषय भयो । मलाई चैँ यो फिराद यहीँबाट दर्ता गरी उनको बुढासम्म यो अजर प्रेम–फिराद पेस गर्न उपयुक्त लाग्यो ।
प्रिय बुढो मैले पुज्ने भगवानको अगाडि धार्मिक, सांस्कृतिक, नैतिक र आत्मिक रूपमा स्वीकार गरी तिमीलाई नि उही भगवान् कै स्थानमा राखी सिउँदोमा सजाएकी छु । मेरो प्रेमले तिमीलाई बाँधेको महसुस झुक्किएर नि नगर्नु है । प्रेम भनेको आफूले माया गर्ने व्यक्तिको स्वतन्त्रता र खुसीको कदर हो भन्ने बुझेकी छु । तिम्रा दुई सन्तानलाई वयस्क बनाउन नसकेकी असफल आमा हुँ म । यहीँ कारण तिमीलाई बुवा बन्नुको गुरु र पुरुषार्थको प्रमाणपत्र दिन सकिन । सरी ल । तिमी जीवनका हर खुसीमा रसपान गर तर प्लिज मलाई तिमीमा समर्पण भई बाँच्ने अधिकार त नखोस न । तिम्रा खुसीका निमित्त आफ्नै आत्मा मारेर नि तिम्रो प्रेममा छु । तिमी भने छिटै आउँछु माया भन्दै अक्सर विलम्ब मात्रै गर्छौ । जिल्ला अदालतमा तिमीले मागेको सम्बन्ध विच्छेदको फिराद दाबी नपुग्ने फैसला भयो फेरि तिमी उच्च अदालत पुनरावेदन गएकोमा सुरु सदर भएको छ । यी अदालतहरूले खै कसो मेरो प्रेमका फैसला गर्लान् । तिमी विकल्पमा जान सकेऊ जसमा मेरो सहृदय सहमति हो तर म वान म्यान वुमेन हुँ, मेरो घर, वन, जीवन र मरण तिमी हौ, थाहा छ ? तिमी मलाई ट्रान्जिट प्वाइन्ट बनाई गन्तव्यको क्षितिजको उडान भर्दै छौ, त्यो यात्रा पश्चात् ल्यान्ड हुने स्थान मेरै छाती हुनेछ भन्नेमा विश्वस्त छु ।
बुढो यो संसारमा सायदै त्यस्तो कुनै पीडा दिने जलन होला जसलाई मैले मुटुमा दबाएर तिम्रा सामु खुसी भएको नाटक गर्नु परेको छ । यती धेरै पीडाको महसुस त हाम्रो बच्चा गुमाउनु पर्दाको समयमा पनि भएको थिएन । तिमी मसँग निर्धक्क भएर तिम्री गर्लफ्रेन्डको प्रशंसा गर्छौ र भन्छौ–उ सरकारी जागिरे छे, एभ्रेज छ त्यस्तो खास ट्यालेण्ट त होइन तर दुःख बुझ्न सक्छे, घरमा बच्चा पनि हुन्छ, उसको परिवारले सहमति दिए पछि बिहे गर्छु । तिमीले यति भनिसक्दा–नसक्दा म भक्कानिएर रुँदै तिमीलाई सोध्छु–बुढो मलाई चैँ अब कसरी माया गर्छौ म सँग पाउने सबै कुरा उसैसँग पाइहाल्छौ अनि मेरो त कुनै स्थान नै हुँदैन होला है भन्ने वाक्य पुरा हुँदा नहुँदै मेरो घाँटी अवरुद्ध भयो र नियन्त्रण गुमाएर डाँको छोडेर रोएँ, तिम्रै काँधमा । तिम्रो जवाफ आउँछ कस्ती लाटी रहिछे तिम्रो स्थानमा तिमी हुन्छौ उसको स्थानमा उ हुन्छे, तिमीलाई माया त गरिहाल्छु नि, अहिले जस्तो चैँ अल्लि नहोला परिस्थिति फरक होला तर तिमीलाई पनि माया गर्छु । महाभारतको युद्ध प्रेमका कारण भएको थियो । इतिहासका कुनै कालखण्डमा पनि प्रेमका कारण ठुला ठुला युद्ध र अपराधका घटना भएको पढ्न पाईन्छ । प्रेम एकतर्फी र दुईतर्फी हुन्छ । कच्चा उमेरको प्रेम, प्रेम पछिको विवाह, विवाह पछिको प्रेम, विवाहको सम्वन्ध कायम रहँदै तेश्रो ब्यक्तिसँगको प्रेम, एक ब्यक्तिसँग प्रेम र विवाहको सम्बन्धमा रहँदा रहँदै अर्काे ब्यक्तिसँग हुने गरेको प्रेम ।
बुझेकी छु, तिमीलाई छोराछोरी अनि घरमा आमा–बालाई नाति नातिनी चाहिएको छ । तिमीलाई पारिवारिक र सामाजिक प्रश्नहरूको बेजोड जवाफ दिएर मर्दाङ्गी प्रमाणित गर्नु छ । यही विषयमा हाम्रो सहमति नि भएकै हो । म त तिमीलाई अथाह प्रेम गर्ने मान्छे तिम्रा खुसीका लागि हरदम हर हालमा तयार हुने तर तिमीले सिधै तिम्री गर्लफ्रेन्डसँगको सामीप्य बढेको कुरा नभनी म प्रति दुव्र्यवहारको पराकाष्ठा देखाउन सुरु गरेऊ । म निर्दोषतामै तिम्रो प्रेमको बदलामा चरम मानसिक यातनाको शिकार भइरहे । बुढो तिमीले याद गरेको हुनुपर्छ तिम्रा ती हेलापूर्ण व्यवहार, म प्रतिको तिम्रो वितृष्णा, मलाई देख्ने बित्तिकै तिमीलाई हुने चिटचिटाहट, घृणाको डिग्रीमा तीव्र वृद्धि हुँदा समेत पनि मेरो प्रेम स्थिर, निश्चल, सदाझैँ धाराप्रवाह र निरन्तर थियो छ र भइरहनेछ । बुढो तिम्रो अफिसको प्रेसर, तिम्रा साथीभाईसँगको मनमुटाबको प्रभाव, घरपरिवार र सामाजिक दबाबको चाप सायद तिम्री गर्लफ्रेण्डको गनगनको ताप यी सबैको आक्रोश धर्ती झैँ थेगिदिने मेरै छाती त हो । तिमीलाई मैले एउटी आमाले बच्चालाई झैँ काख र छातीमा खेल्न दिएँ, तिम्रा लागि मेरो हर निर्दोषतामा आफू झुकेर तिमीलाई जिताएँ । तिमी र म बिच हावाले खेल्ने स्थानसम्म पनि नराखी टपक्कै कसेको थिएँ । मेरा विगत वर्तमान र भविष्यको एक मात्र अंशियार तिमीलाई कायम गरेँ सर्वस्व सुम्पिएँ । सायद तिमीले मेरो यही निश्चल प्रेमलाई कमजोरी मानिदियौ र म माथिको ज्यादती बढाउँदै लग्यौ । मलाई नदीको पल्लो किनारामा तैराउन चाहन्थ्यौ सँगै बगेर पनि भेट नहुने गरी ।
बुढो तिम्रो यस्तो दुव्र्यवहारको बखत म कति पीडामा हुन्थे तिमी अनुमान समेत लगाउन सक्दैनौ । म त तिम्रो बैँस बिसाउने चौतारी मात्रै रहेछु, अझै भन्नुपर्दा म त तिम्रो विर्यनाल पो भएछु । म आफूमै कमजोरी देख्न थालेँ, लाग्थ्यो मसँग अब तिमी अघायौ समय र व्यवहारले थोत्रो बनाएकी म तिमीलाई किन चाहिन्थ्यो होला ? फेरि तिमीले तिम्रो छनौटको नयाँ प्रेमिका पाइसक्यौं । म बेवकुफ थिए तिमीमा प्रेम मात्रै होइन भरोसा गर्ने । हुन त तिमीलाई यो थाहा छ कि मलाई भगवानले नि ठगेका छन् त्यसैले मैले भगवानको स्थान नै स्थानान्तरण गरी तिमीलाई राखेको छु । यस्तो लागिरहेको छ बुढो म जीवनको कुनै पनि खुसीको हकदार होइन यो संसार नै मेरा लागि होइन, यत्ति धेरै नकारात्मक सोचाइहरू आएकी ती सबै मिलेर मेरो आत्मा चिथोर्दै थिए । फेरी एक्कासी तिमीले सुस्तरी अँगालोमा बेरेर चुम्बन गरेको सम्झिए जसले मेरा आँसु रोक्यो र सामान्य अवस्थामा पुगेँ ।
मेरो मान्छेको रिस कडा छ उसले सबै रिसमा मात्रै यस्तो दुव्र्यवहार गरेको हो । आखिर मलाई आफ्नै मानेर यो सबै गरिरहेको छ । रिसमा जे जसो गरे पनि वास्तविक व्यवहारमा मलाई न्याय गर्छ । मलाई पीडा भएको तिम्रो गर्लफ्रेन्ड भई भनेर होइन म प्रति तिमीले गरेको दुव्र्यवहारले हो । सबै चित्त नबुझेका कुरा सिधै भन्ने खरो तर मनको सफा मेरो मान्छे किन यस्तो गरिरहेको छ भन्ने कुरा बुझ्न नसकेर पिल्सिएको थिएँ । यसैबिच एकदिन मलाई अधुरो छाडेर गयौँ त्यो क्षण आफूले आफैँलाई खत्तम गर्ने विचार तीव्र भएको थियो । उफ्... अत्यन्त पीडादायक दिन निमेष कटाउन नि वर्ष झैँ भएको थियो । सायद म रहन्न थिए होला तिम्रो–सरि माया तिमीलाई आज हतारमा छोडेर आएँ भन्ने म्यासेज नआएको भए ।
फेरि पनि म मनकै उतारचढावको सिकार भइरहेको छु । लाग्छ मैले माया गर्नै जानिन निस्फिक्री भएर तिमीलाई आफूमा समर्पण गराएँ । यत्तिसम्म कि सानु तिम्रा ज्यादती र हट्टीपनलाई बाल–जिद्दीपनमा एउटी आमाको हृदय सहर्ष स्विकारे झैँ स्विकारी तिम्रै पिरमा हुन्छु । मैले तिमीलाई यत्ति धेरै माया गर्दा त मलाई तुच्छ व्यवहार गर्छौ, अरूलाई नि यस्तै गरेऊ भने कसले बुझ्ला तिमीलाई ? हुन त अरू तिम्रा रोजाइका हुन्छन् तिमीले चाहेर माया गरेका हुन्छन् अनि ती सबै प्रेमले सहिहाल्छौ होला । म पो तिमीलाई माया गर्ने भएँ अरू त तिमीले माया गर्ने हुन्छन् अनि प्रेम मात्रै गर्छौ होला । सायद म बाहेक तिम्रा जीवनमा आउने सबै भाग्यमानी हुन्छन् ।
मेरो प्रेम सीमाविहीन, अपेक्षाविहीन र गन्तव्यविहीन हुँदा पनि बुझ्नै सकेनौ अचम्म लाग्छ मलाई नबुझेकै हौ कि नबुझे झैँ गरिरहेको छौ ? तिम्रो जीवनमा एक दिन त पक्कै आउला र भन्छौ होला–त्यसको जस्तो सुकुन् दिने माया त कसैको हुन्न । मलाई यो नि लाग्छ बुढो, म निकै सहज, सरल र तिम्रा लागि हुन्न नभन्ने साथै हर सीमा पार गरिदिने हुनाले तिम्रा नजरमा मेरा निमित्त कुनै इज्जत नभएको होला । अझ मलाई यो नि लाग्छ बुढो म तिम्रो एक्सपेरिमेण्ट गर्ने प्रयोगशालाको नमुना भएँ । तिम्रो प्रेमको गोलाद्र्ध सीमित रहेछ यो त सीमाविहीन इन्फिनिटी रहन्छ । बेवकुफी नै सही मैले तिम्रा खुसीका लागि आफ्नो आत्म स्वाभिमान गुमाउँदा पनि तिम्रै लागी रुँदैछु ।
हो बुढो म तिमीले चाहेको जस्ती मान्छे बन्न सक्दिनँ यो तिमीलाई नि थाहा छ कि मेरा व्यक्तिगत बुझाई, सीमाङ्कन, आध्यात्मिक चेतना, क्षमता, मनोदशा, सामाजिकीकरण र बाल्यकालको हुर्काइसँगै विकास भई मन मास्तिस्कमा अमिट भई बसेका सम्बन्धका महत्वहरू फरक छन् । यही अमिट सम्बन्धको प्रतीक हौ तिमी । एउटै कुरा समान र ध्रुव सत्य यो छ बुढो मेरो मन, मुटु र मानव हुनुको अस्तित्व तिमीलाई मात्रै स्विकार्छ अथाह प्रेम गर्छ ।
सुनेको थिएँ बूढाबूढीको सम्बन्ध भनेको विचार र स्वार्थको सन्तुलन हो भनेर तर मलाई लाग्थ्यो प्रेमले हो जगत् अडिएको अरू तपसिलको विषय हो । अहिले त दुनियाँ नै भ्रम लागिरहेको छ । तिमीलाई याद छ बुढो तिम्रो स्वास्थ्य र दीर्घायुको लागि व्रत बसी आरती सकेर तिम्रो अनुमतिले खाना खान घण्टौँ कुरेर कत्ति साँझ बिताएकी छु । प्रायः तिमी उसैसँग डेटिङमा हुन्थ्यौ एउटा म्यासेज गरेर खाना खाऊ माया भन्ने फुर्सद सम्म तिमीसँग नहुँदा मैले मेरो स्थान बुझ्नुपर्ने थियो तर तिमीलाई गर्ने मेरो प्रेम धेरै घातक छ आफैँलाई सिध्याउन खोज्दा पनि रति घट्दैन ।
शर्मिला शर्मा
धुलिखेल, काभ्रे