2025 April 19/ 08:21: 13am

    ‘जग्गालाई त महङ्गै हाल्नुभयो नि मामा !’ यति मात्र के भनेको थिएँ उनी स्वतःस्फूर्त बोल्न थाले । ‘मेरो लगानी होइन भान्जा । म एउटा मास्टरको के नै कमाइ हुन्छ र ? मैले त अलिकति सहयोगको नाम मात्र पारेको छु, यसमा त छोराकै मात्र कमाइ परेको छ भने नि हुन्छ । छोरो ल्याब पढेको, तीन वर्ष जति भयो, ल्याब टेक्निसियन भएको छ । उसैले अलिअलि जम्मा गरेको रैछ । अब बिहे गर्ने बेला पनि भएको छ । घर बनाउन नसके नि शहरमा एउटा घडेरीसम्म त जोड्नु प¥यो भन्ने विचारले जग्गा किनेको हो ।’ एकछिन रोकिए उनी, अनि अनुहारमा अझ बढी मुस्कान ल्याएर पुनः बोले– ‘छोरो यहीँ हस्पिटलमा जागिर खान्छ । हामी बुढाबुढी त उतै गाउँमै छौँ । अहिले कोरोनाको महामारी केही मत्थरिएको हुनाले नै यहाँ आएको । आज बैनाबट्टा मात्रै गर्ने, पास गर्नका लागि केही समयपछि आउनुपर्ला ।
    जग्गा चार आना भन्दा केही बढी थियो । एक करोड भन्दा केही बढी परेको रहेछ । कोरोनाले महामारीको रुप लिएको वर्ष दिन पुग्नै लागेको थियो । अहिले उनी कोरोना केही मत्थरिएको यही समय मिलाएर बैनाबट्टाको कागज गर्न आएका रहेछन् । अरूको कुरा सुन्नतिर त्यति ध्यान दिँदैनन्, आफूलाई केन्द्रमा राखेर बोल्ने गर्छन् । मामाका कुराले मलाई सोचमग्न बनायो । आफ्नो खासै धेरै लगानी नभएको कुरा गर्छन् । छोराको कमाइ भन्छन् । छोराले तीन वर्षको अवधिमै यतिका रुपैयाँ कसरी जम्मा गर्न सक्यो ? उनि वर्षाै शिक्षक भएर कमाई गर्न नसक्ने, कमाएको पैसा बचत गर्न नसक्ने अनि छोरा चाँहि तीन वर्षमा नै करोड भन्दा धेरै मुल्यको जग्गा खरिद गर्न सक्ने ? म अचम्ममा परेँ । उसको कामबाट आउने तलब वा नाफा बारे मैले केही बुझ्न सकिन । जे होस, मामाले घडेरी किने । मेरै छिमेकी बन्ने भए । मैले उनको छोराको आम्दानीका बारेमा चासो राख्नै पो किन प¥यो र ? आयस्रोतका बारेमा मैले उनीसँग केही सोधिनँ । उनी अलि हतारमा पनि रहेछन् । यद्यपि यी मेरा साख्खै मामा होइनन् । मेरा मामाका दाजुभाई खलकका हुन् ।
    सानो उमेरमा मेरा लागि मामाघर असाध्यै प्यारो थियो । जतिबेला पनि मामाघर जान पाए हुन्थ्यो, मामाघरमै धेरै दिनसम्म बस्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । प्यारो त अहिले पनि उस्तै छ । सम्झना अहिले पनि उत्तिकै छ तर जान भने त्यति भ्याएको छैन । सानो उमेरमा मामाघर जाँदा म यिनै मामासँग सँगसँगै खेल्थेँ । यी मामाको घर मेरो मामाको घरभन्दा पाँच÷सात कान्लामुनि थियो । यिनको उमेर पनि मेरै उमेरसँग मिल्दोजुल्दो थियो । यिनी मभन्दा एक÷दुई वर्षले जेठा थिए । पढाई पनि मेरोभन्दा एक कक्षा माथि थियो यिनको । मेरो घरबाट मामाघर कस्सिएरै हिँड्नेहरुका लागि पनि छ सात घन्टाको पैदल दुरीमा थियो । विभिन्न ठाउँमा घना जङ्गल पनि भएकाले आइमाई केटाकेटीहरु एक्लै हिँड्न डराउँथे । त्यस समयमा म पनि एक्लै जान सक्दिनथेँ, कहिले दाइको हात समाएर त कहिले आमाको सारीको फेरो समाएर पछि लाग्ने गर्थें । बाटो सहज थिएन । कतै डेढ घन्टाको उकालो चढ्नु पथ्र्याे भने कतै त्यति नै ओरालो झर्नु पथ्र्याे । टाढा भएकाले वर्षमा एक वा दुईपटक भन्दा बढी म मामाघर जान पाउँदिनथेँ । कुनै कुनै वर्ष त मामाघर नगएरै पनि बितेको हुन्थ्यो । यस अर्थमा पनि यी मामासँग मेरो त्यति बाक्लो भेटघाट हुँदैनथ्यो । बाल्यकालमा जतिपटक भेट भयो उत्तिकै आत्मीय बनेर खेल्ने गथ्र्याै । 
    म क्याम्पस पढ्न पोखरा आए पछि यी मामासँग दुई वा तीन वर्षमा एकपटक जस्तो भेट हुन्थ्यो । अझ पछिल्लो समयमा भने यिनीसँग भेट नभएको पनि थुप्रै वर्ष भएको थियो । यीनले क्याम्पस पढेनन् । गाउँमै मास्टरी गर्न थाले । ०४८÷०४९ सालतिर हो सायद यिनी प्राथमिक तहको शिक्षकमा स्थायी भएका । यिनले दुई छोरी र त्यसपछि एक छोरा पाएको थाहा थियो मलाई । हामी बिच बाक्लो भेटघाट नहुने हुँदा यीनको पारिवारिक अवस्थाबारे त्यति जानकारी थिएन । बरू केही वर्ष पहिलेको भेटमा यिनले मसँग साथीभाईहरुको तुलनामा आफूले त्यति राम्रो कमाई गर्न नसकेको गुनासो गरेका थिए । प्राथमिक तहको शिक्षकको तलब, केटाकेटीलाई सहरमा राखेर पढाउँदैमा ठिक्क हुन्छ । जहिले पनि तलब बुझ्यो उनीहरुलाई नै पठायो, आफू त जस्ताको तस्तै । पछिल्लो भेट पाँच वर्ष जति पहिले भएको थियो । त्यति बेला यिनी पोखराको एउटा चोकमै भेटिएका थिए । म हतारमा थिएँ । बसेर बोल्ने, गफ गर्ने अवस्था थिएन । आफूसँगै रहेको केटालाई ‘मेरो छोरो’ भनेर चिनाएका थिए । यिनको कुरा सुन्ने फुर्सद नभएकाले म नमस्कार र सञ्चो बिसञ्चोको औपचारिकता पछि हिँडिहालेको थिएँ । त्यसपछि भने यस भेटका लागि पाँच वर्ष कुर्नु प¥यो । बिचमा म मामाघर नगएको पनि होइन, गएको थिएँ । बिहान गएर बेलुका फर्केको थिएँ । त्यतिबेला यिनीसँग भेट हुने अवसर जुरेको थिएन । कोरोना सङ्क्रमण केही मत्थरिँदै जाँदा यिनीसँग भेट त भयो तर हामीलाई मनपेट खोलेर गफिन चाहिँ समयले साथ दिएन । कोरोनाको महामारीमा केही कमी आए पनि सङ्क्रमितहरुको संख्या घटेको देखिए पनि मान्छे मर्न छाडेका थिएनन् । स्वाब टेष्ट गर्ने नाममा प्राइभेट हस्पिटलहरुले ब्रह्मलूट गरेका थिए । हस्पिटलका लगानीकर्ता, कर्मचारी एवम् डाक्टरहरुलाई पैसा कमाउनका लागि यो उपयुक्त समय थियो । उनीहरुलाई पैसा सोहोर्न भ्याइनभ्याई थियो । उनीहरुले स्वाब परीक्षणका नाममा मज्जैले पैसा असुलेका थिए । अन्य स्वास्थ्य सामाग्रीमा पनि उनिहरुले गरेको ब्रम्हलुट सायद धेरै वर्ष पछि पनि त्यस्तो अवसर आउने छैन । 
    मान्छेहरु मरिरहँदा, मान्छेलाई संकट परिरहँदा मान्छेहरुले नै पैसामा गर्ने ब्यवहार र कारोवार मानवीय संवेदनाहीन हो । त्यहि संवेदनाहीन भएकाहरुले करोडांै कमाए । अर्बपति भए । धेरैले ज्यान नै गुमाए । लकडाउन सुरू हुनुभन्दा अगाडिको कुरा हो । आमा दिदी भेट्न जानु भएको थियो । पोखराबाट चापाकोट जाने गाडीमा चढाई दिएको थिएँ । चापाकोट पुगेको केही दिनपछि लकडाउन सुरू भयो । एक साता जति बसेर फर्कने हिसाबले जानुभएको थियो तर त्यहीँ अड्किनुभयो । डेढ दुई महिना पछि दोब्बर भाडामा सार्वजनिक यातायात चले पनि बुढी मान्छे, सुरक्षित तरिकाले बस्न जान्नुहुन्न जस्तो लाग्यो यसैले पनि मैले उहाँलाई सार्वजनिक सवारीमा फिर्ता बोलाउन सकिनँ । ट्याक्सी वा जीप रिजर्भ ग¥यो भने नौ दस हजार रूपैयाँ लाग्ने । उता बहिनीले पनि आमा केही महिना मसँगै बस्नुहुन्छ, आत्तिनु पर्दैन भनेर फोन गरेकी थिई । आमा बसेको साँढे दुई महिना पुग्न लाग्दा एकपटक बहिनीले फोनमार्फत आमालाई सामान्य टाउको दुखेको र सिटामोलले काम गरेको हुनाले आत्ति हाल्नु नपर्ने कुरा गरी । घरैपिच्छे जस्तो सङ्क्रमितहरु देखिन थालेकाले मेरो मनमा शङ्काको बादलले डेरा जमाउन पुग्यो, कतै आमा पनि सङ्क्रमित त हुनुभएन । यहाँजस्तो उपचारको व्यवस्था पक्कै पनि त्यहाँ नमिल्न सक्छ । अब यसरी बसेर हुँदैन । आमालाई जसरी भए पनि पोखरा ल्याउनु पर्छ भन्ने लाग्यो । तर कसरी ? केही समय प्रश्न अनुत्तरित रह्यो । म आफै पनि सार्वजनिक सवारी चढ्ने गरेको थिइन । घरमा मोटरसाइकल थियो । पोखरा बजारभित्र त मोटरसाइकलमा हिँडडुल गर्न पाइन्थ्यो तर जिल्ला बाहिर जान बन्देज थियो । एउटा जिल्लाको सिमाना काटेर अर्काे जिल्लामा प्रवेश गर्नका लागि प्रशासनको पास चाहिन्थ्यो । म पुग्नु पर्ने स्याङ्जा जिल्लाको चापाकोटमा । दुरी हुँदो हो त्यस्तै ७५÷८० किलोमिटर जति ।
    म कास्कीको जिल्ला प्रशासन कार्यालयमा गएँ । त्यहाँ पास बनाउन आउनेहरुको निकै भिड थियो । लाइनमा बस्नु पर्ने रहेछ । त्यहाँ मैले चिनेका केही पार्टी कार्यकर्ताहरु पनि थिए जो लाइनमा नबसी सरासर भित्र पसेर सजिलै सित पास लिई फर्केका थिए । तर हामी सामान्य भोटर तथा सर्वसाधारणहरु भने लाइनमै बस्नुपर्ने रहेछ । लाइनमा निकै समय उभिएपछि मेरो पालो आयो । आमा बिरामी भएको हुनाले उहाँलाई पोखरा ल्याउनका लागि स्याङ्जा जान पाऊँ भनी अनुरोध गरेँ । कास्कीको जिल्ला प्रशासन कार्यालयले दुई दिनका लागि भनेर पासका रुपमा सामान्य कागजको चिर्कटो दियो । दिनभरीको उपलब्धी एउटा पासको चिर्कटो लिएर साँझपख घर फर्कें । भोलिपल्ट मोटरसाइकलको पछाडिपट्टि राखेर बिस्तारै चलाउँदै र ठाउँठाउँमा रोकेर आराम गराउँदै आमालाई पोखरा ल्याएँ । सामान्यतः मेरा लागि मोटरसाइकलमा तीन घन्टा जतिको बाटो हो तर बिरामी आमालाई लिएर आउँदा मलाई लगभग साँढे पाँच घन्टा जति लाग्यो । घरमा ल्याएपछि ज्वरो नापेँ । ज्वरो ठ्याक्क एक सय डिग्रीमा थियो । कोरोनाका लक्षणहरु केही थिएनन् । खासै खोकी लागेको थिएन, छाती दुखेको थिएन र सास फेर्न असहज पनि थिएन । सिटामोल खान दिई बिस्तारामा तातोपानीको थर्मस र एउटा गिलास पनि राखिदिएँ । आमाले पानी पिउन निकै गाह्रो मान्नु हुन्थ्यो । उहाँमा समय समयमा पानी पिउनुपर्छ भन्ने चेतना थिएन । पानी पिउनका लागि पनि हामीले कर गर्नु पथ्र्याे । मैले कर लाएरै पानी पिउनका लागि प्रोत्साहित गरिरहेँ । भोलिपल्ट बिहान पनि ज्वरो नापेँ । ज्वरो घटेको रहेनछ, १ सय १ डिग्री थियो । अब यसरी भएन भनेर स्वाब परीक्षण गर्नेतर्फ मैले ध्यान केन्द्रित गरेँ । एउटा ट्याक्सी खोजेर आमा र म दुवै न्युरोडमा रहेको एक मेडिकलमा पुग्यौं । जहाँ दुई हजार रुपैयाँमा स्वाब परीक्षण गरिन्छ भन्ने सुनेको थिएँ । बन्द रहेछ । अब कता जाने ? दिमागमा झ्वाट्ट नागढुङ्गामा रहेको अर्काे मेडिकलको सम्झना आयो । त्यहाँ रुपैयाँ महङ्गै लिए पनि स्वाब परीक्षण गरिन्छ भन्ने सुनेको थिएँ । ट्याक्सीमा नागढुङ्गातिर झरेँ । त्यहाँ पनि नहुने रहेछ । उसबाट थाहा भयो अर्काे अस्पताल । ट्याक्सीमा आमा सहित पृथ्वीचोक पुगें । त्यहाँ पनि मलाई बाहिरबाटै फिर्ता गरियो । 
    केहि सिप नलागेपछि डाक्टरलाई फोन गरे । आमाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएर स्वाब परीक्षणका लागि अनुरोध गरेँ । ७ हजार रुपैयाँ लाग्छ, पैसा ठिक्क परेर राख्नुस् म बेलुकासम्ममा समय मिलाएर आउँछु भनेर आश्वासन दियो । मलाई अहिले फुर्सद छैन । बेलुकासम्ममा आउँछु । रिपोर्ट भोलि नै पाउनुहुन्छ भन्दै फोन काट्यो । पैसा सरकारले तोकेको रेटभन्दा तीन गुना बढी तिर्नु परे पनि स्वाब टेष्ट गरेर रोग भए नभएको पत्ता लाग्ने कुरामै म खुसी भएँ । साँझपख आइपुग्यो ऊ । मुखमा मास्क लगाएको थियो । आफैले पछाडि भिरेको झोलाबाट झिकेर हातमा ग्लोब पनि लगायो । हेर्दा केटो कलिलै देखिन्थ्यो । आमाको स्वाब निकाल्दै गर्दा पनि उसको मोबाइलको रिङ टोन बज्यो । केही समयसम्म बजिरह्यो । स्वाब निकालेर नसक्दासम्म उसले उठाएन । सकेपछि उठायो र एक घन्टापछि आउँछु भनेर जानकारी दियो । मैले पैसा तिरेको रसिद पाइनँ । रसिद नपाए पनि आमाको स्वाब परीक्षण गराउन सफल भएँ । यसैमा सन्तुष्ट थिएँ तर मनमा भने जिज्ञासा उब्जिरहेको थियो । कोरोनाका नाममा यस किसिमका भ्रष्टहरुले दैनिक कति कमाउँछन् होला ? सरकारले परीक्षणलाई व्यवस्थित गर्न सक्ने हो भने त यिनीहरुले यस्तो मनपरि गर्न पाउँदैनथे कि ? सरकारी संयन्त्र नै भ्रष्टाचारको जालमा छ ।
    भोलिपल्ट बिहान खाना खाएर दस बजेतिर चोकमा निस्केँ । दस मिनेट जति उभिएको थिएँ । ऊ आइपुग्यो । नाकमुख मास्कले छोपिए पनि ड्रेस हिजो जुन लगाएको थियो, आज पनि त्यही नै थियो । चिन्न गाह्रो परेन । रिपोर्ट नेगेटिभ निस्केको छ भन्दै उसले मलाई बधाई दियो । र हिँडिहाल्यो । म पनि तनावबाट मुक्त हुँदै घरतिर फर्कें । थोरै भए पनि म तनावबाट मुक्त भएँ । कोरोनाको महामारी मत्थरिँदै गयो । बजार पुनः पहिलेकै जस्तो गरी सुचारू हुन थाल्यो । राज्यले कोभिड विरूद्ध खोप लगाउने व्यवस्था पनि मिलाउन थाल्यो । मानिसहरु बढी नै सलबलाउन थाले, आ–आफ्नो पेसा व्यवसायलाई निरन्तरता दिन थाले । चोक, बजार जताततै भिडभाड बढ्न थाल्यो । अलि सचेतहरुले सुरक्षित तरिका अपनाएर काम गर्न थालेका थिए भने कतिपयले सुरक्षा सतर्कतालाई बेवास्ता गरिरहेका थिए । एक दिन म बिहानीपखको समयमा बजारको काम सकेर चोकबाट आफ्नो घरतिर लाग्दै थिएँ । बाटा छेउको एउटा चिया पसलमा उनै मामा भेटिए । हामी बिच नमस्कारको आदानप्रदान भयो । उनी यसपटक भने जग्गा पास गर्न आएका रहेछन् ।
    उनले छोराकै बखान गर्न थाले । छोरो मिहिनेती छ । कमाइ राम्रै गरेको रहेछ । उसकै आडभरोसाले घडेरी किनेको हो । छोराले नकमाएको भए त कहाँ मैले यो घडेरी किन्न सक्थेँ र ? मालपोतको सबै काम सकेर आजै घर फर्कने विचारमा छु भान्जा । दुईवटा भैँसी छन् । घरमा बुढीलाई पनि हैरानै छ । उनको कुरा टुङ्गिएकै थिएन । यही समयमा त्यहाँ उनलाई लिन मोटरसाइकलमा एउटा केटो आयो । मामाले यही हो मेरो छोरो भनेर चिनाए । मलाई त्यो केटो कता कता देखे जस्तो लाग्यो । तर कहाँ देखेको थिएँ कुन्नि जति नै बल गर्दा पनि सम्झन सकिनँ । उनै मामा बोले यहीँ हस्पिटलमा काम गर्छ यसले । बल्ल मेरो दिमागले काम ग¥यो । छोराको कमाई, मैले चिनेको मामा । प्राथमिक तहका स्थायी शिक्षक । मेरी आमा । कोरोना । अनि ति अस्पताल चाहर्दा पाएको दुःख । प्रशासन कार्यालयमा लाईन बसेर लिएको पास । कोभिड परिक्षण । रिपोर्ट र शुल्क । सायद नेपालमा कानून नै नभएको हो भएर पनि कार्यान्वयनमा विपत्ति हो ? विपत्तिमा लुट मच्चाउनेहरुलाई सधै किन हुन्छ छुट ? 

रमण केसी
पोखरा, हाल काठमाडौ