अहिले त धेरै कम मात्रामा हिड्छन रात्रीबसहरु । छोटा दुरीमा चल्ने सवारी साधन, सडक मार्ग र हवाई मार्ग चल्न थाले । तर पनि नेपालको भौगोलिक विकटतामा अझै पनि रात्री बस चढ्नुको विकल्प छैन । धेरै हिसाबले ठिक भनिए पनि दुर्घटनाका जोखिमहरु उतिक्कै छन् । त्यहि बसमा यात्रा गर्दाका अनेकन घटनाहरु भए । अनेकन यादहरु भए । तर त्यहि एक दिनको घटनाले मलाई बारबार सताई रहेको छ । सेता दन्तलहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठुल्ठुला पहाडबाट वहकिएको भेषमा सुईसुई सुस्काउदै बगेको कलकल झरनाको साथ दिई रहेकी, त्यही हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी, सिरिसिरि बतासको वेग सँगैको त्यो प्राकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडा काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको बाला झंै हामी पनि रात्री बसको यात्रामा झुमिरहेका थियौं । हरियाली पहाडमा राज गरेको चिसो बतास सँगै बढारिँदै, सुस्काउँदै बगेको नदीसँग मितेरी लाउँदै यात्रा अगाडि बढाई रहेका थियौं ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश यातायात सुविधाको लागि अग्ला अग्ला काला पहाड खोपेर त ठुल्ठुला खोँच पुरेर उकाली ओराली नदीको किनारै किनार अनि धानको बाला लहलह झुलिरहेको खेतको बिचबिचमा कालोपत्रे सडक हुँदै अगाडि बढिरहेको थियो यात्रा । हरेक गाउँ बस्ती र शहरको पनि राम्रो अवलोकन गर्ने मौका मिलिरहेको थियो । विभिन्न ठाउँका महिला, पुरुष, बालक, बृद्ध, आदि व्यक्तिहरु सँंगको हातेमालोमा यात्रा अझ रोचक र रौनक बनेको थियो । आ–आफ्ना गन्तव्यको ध्यानमा लीन यात्रीहरु मध्ये मेरो नजर आफु बसिरहेको सिट देखी दायाँतर्फ अगाडी बढिरहेको थियो । उनी महिला थिइन् । स्वभाविक नै होला । फरक लिङ्गप्रति ब्यक्तिको आकर्षण । उमेर अन्दाज २५ देखी ३० देखिन्थ्यो । मेरो आफ्नै भित्री जिकिर थियो, एक महिलामा हुनुपर्ने गुणमा पोख्त थिईन उनी । लचकदार शरीर लामो कपालमा रातो लाछाली बाटेकी कपालको गाँठो पारिएको भन्दा केहि माथी मखमली फूल सिउरिएकी, हातभरि राता चुरा छन्किरहेका अनि हत्केलामा मेहन्दीबाट बनेको विभिन्न सजावटी आकृति हरेक औंलाको नङमा गुलाबी रङले पोतेकी, मखमली चोलो अनि पटुकी खुट्टामा पाउजु एउटा आंैलामा त चाँदीका औंठी, म बिस्तारै अनुहारतिर घुम्न थाले । गोलो गहुँगोरो अनुहारमा आँखी भौं मिलाएकी निधारमा रातो टिका कानमा माडुली नाकमा तीनपाते फुली झुन्डाएकी, ओठमा लिपिस्टिक स्याउ जस्ता गाला, गलामा नौ गेडी माला । म उनलाई हेरि रहे । मेरो एकनासको हेराईले उनलाई अप्ठ्यारो लागेछ क्यार उनी यता उति फर्कि रहन्थिन् । एकाईसौं शताब्दीमा आफ्नो परिवार देखी गाउँ टोल बजार जताततै महिलाले लगाउने पोशाक भन्दा फरक पोशाकमा उनी थिईन् ।
उनी नेपाल सँस्कृतिकै छोरी थिइन्, उनमा हाम्रो धर्म संस्कृति चालचलन रीतिरिवाज झल्किरहेको थियो । यो जमानामा नारीहरुको लागी त उनी पक्कै पनि दुश्मनी थिइन्, मलाई सबै कुरा मन प¥यो । उनीसंँग केहि कुरा खोल्न मन लाग्यो । मैले परिचय दिन आग्रह गरे । वास्तवमा कोईलीको स्वरमा आफ्नो परिचय दिइन् उनले । परिचयसँगै उनको बारेमा अनि उनको परिवारको बारेमा सहित मेरो बारेमा र गफसँगै उनले लगाएको पोशाकको बारेमा केहि बेर गफियौं । तर मैले यो प्रश्न गरिनँ । तिमी किन यो पोशाक लगाउदै छौ, आजका नारीहरुको पोशाकको तुलनामा ? मनमा नै राखे । गफकै क्रममा उनले तुरुन्त प्रश्न गरिन् तपाईले किन यो टम्म मिलेको शरीरमा छात्रे टोपी, कानमा रिङ घाँटीमा सिक्री विभिन्न आकृतिमा कुँदिएका शरीर च्यातिएका पाईन्ट लामा–लामा जुत्ता अनि टि–शर्ट माथि पनि टाई ? उनको प्रश्न सकिन नपाउदै म जवाफ दिन हतार भए । यो नै मेरो एकाईसौं शताब्दीको माग अनुसारको ड्रेस हो । यसको सट्टा मैले भदगाँउले टोपी, दौरा सुरुवाल, ईष्टकोट, कम्मरमा पटुकी भित्र खुकुरी एक सच्चा नेपाली गोर्खे ठिटो भनि चिनाउन मैले नचाहेको भने होईन । तर आजका नारी या पुरुष समाजमा सँस्कृति झल्किने पोशाक होईन आधी शरीर देखिने पारदर्शी कपडा मन पराउँछन् । संस्कृति झल्किने पोशाकमा भएका व्यक्तिलाई त यहाँ पाखे गाँउले पुरानो मान्छे आदी आदी सुन्नुपर्छ । अनि मेरो यो उमेर साँच्चिकै उमेरकै हिसाबले पनि म हरेक यौवन उमेरकी नारीहरुप्रति अकर्षित हुन र युवतीहरु म प्रति आकर्षित हुन । अरु धेरै कुरा भनें । म ठिक छु भन्ने देखाउन उनलाई भन्न केहि बाँकी राखिनँ । जवानीका मस्त रङ्गहरु साटा–साट गर्न जुनबेला हाम्रा पुर्खाहरु रोधीं गाउँथे मेलापातमा माया पिरतीका भाका बोल्थे, तर हामी अहिले डान्स डिस्को चोक चोकमा खुलेआम माया सट्छौ । पुराना कुरा र नयाँ कुराका राम्रा नराम्रा पक्षहरुमा गफिँदै हामीले यात्रा अघि बढाईरहेका थियौं । गफगाफमा लिन हामी समय बितेको पत्तो पाएन छौ । रातको करिब ११ बजिसकेको थियो । यात्रुहरु सबै निन्द्रादेवीको अंगालोमा जिन्दगीका सुनौला भविष्यहरुको काल्पनिक संसारमा मस्त थिए तर उनी र म गफमा व्यस्त थियौं ।
अचानक गाडी रोकियो । निन्द्राबाट उछिट्टिदै सबैजना हल्ला खल्ला गर्न थाल्यौ । हामी त घना जङ्गलको बिचमा रोकिएछौं । सबै यात्रुहरु किन र कसरी जस्ता प्रश्न उठाउदै त्यो घना जङ्गल मध्य रातको समयमा आवाज उठाउन खोज्यौं । त्यो पट्यार लाग्दो सुनसान घनाजङ्गलको बिचमा आवाज सुनिदिने कोही थिएन । यदि दिउँसोको समय हुँदो हो त त्यो ठुलो घना जङ्गलमा चरीहरुको चिर्बिर आवाज, कोईलीको सुमधुर स्वर, ढकमक्क लालीगुराँस फूल, कलकल झरनाको सुस्केरा, चिसो चिसो हावा अनि अटल अग्ला हिमालको दृश्यावलोकन हुन्थ्यो होला । प्राकृतिक छटाले भरिपुर्ण त्यो जङ्गल त्यस् बखत एकदमै अन्धकार भित्र पनि मौन थियो । निस्पट्ट थियो । हामी जस्तै हजारौं यात्रुहरु सडकमा अलपत्र भै हो–हल्लामा थिए र पनि त्यो जङ्गल सुनसान थियो । प्राकृतिक छटाका सहयात्री हामी नेपाली दाजुभाई लत्याउदै थियौं । ढकमक्क लालीगुराँस फूलको बगैंचामा रगतको झरना बगाईरहेका थिए । कुहुकुहु कोईलीको नाम निशाना मेटाई गोला, बन्दुक र बारुदको आवाज घन्काउँदै थिए । हरियो वन नेपालको धन तर गोला, बारुदबाट निस्किएको आगो सल्किदै थियो । रोधीं बस्दै माया साट्दै दाउरा घाँस गोठाला गर्न गएका जोडीलाई परिवर्तनको अभियानमा जङ्गलबाट नै बेपत्ता बनाईदै थिए । हरेक आमाको काख रित्ताउँदै थिए । सुन्दर भविष्यको रङ्गिन सपना बुनेर घर देखि टाढिएका हाम्रा दाजु भाईका जिवन सङ्गिनीहरुको सिउँदो उजाडिदै थियो । हत्या, अपहरण, बम, गोली, बन्द, मारपिट, बलात्कार, शोषण जस्ता जघन्य अपराध सामान्य र दैनिक कार्य जस्तो भैइरहेको थियो । तर आखिरी शिकार हामी जस्ता सोझा सिधा जनता थियौं । त्यस दिनपनि अज्ञात समुहले एक यात्रु वाहक गाडीमा बम बिस्फोट गराएछन् । सयौंको हाराहारीमा सोझा सिधा जनता हताहत भए । कोहिको निधन भयो । कोहि घाईते भए । कोहि अपाङ्ग भए । त्यसैको विरोधमा अगाडी बन्द थियो । बिस्तारै हजारौं यात्रुुहरुको लाईन लाग्यो । यात्रामा शितल हावा पस्किरहेको त्यो जङ्गल अचानक उकुस मुकुसको तातो र दुर्गन्धित हावा लिएर आयो । गर्मीले गर्दा सबै यात्रुहरु सडकमा उत्रिँदै लाखापाखा भए । लामो समयसम्म गफमा व्यस्त ति महिला तातो हावाको कारण उकुस मुकुस त भइन् तर गाडीबाट निक्लने आँट गरिनँ । सबैजसो यात्रु बाहिरिएका थिए । मैले उनलाई बहिर जाउँ भने तर उनी मानिनन् । त्यहाँ एकजना दाजु पनि हुनुहुन्छ । भैगो यही बसौं ।
जति मैले उनको प्रशंसा गरेको थिए र उनको हरेक कुराबाट प्रभावित थिए । उनले एक दाजु पनि हुन्हुन्छ, म यही बस्छु, तपाई जाने भए जानोस् भने पछि म अचानक परिवर्तन भए र उनी प्रति नकारात्मक भएँ । म त जान्छु यो गर्मीमा गाडीमा बस्न सक्दिन् । म बाहिरिए । सडकमा नै रात बित्यो । बिहानीको मिर्मिरे आगमन हुन थाल्यो, सुनौला सुर्यका किरणले धर्तीमा आफ्नो राज बसाई सक्यो, बिस्तारै यात्रुरुको भिड अनि हल्लाखल्ला छायो । यात्रुहरु नै जबर्जस्ती गाडी गुडाउन थाले, यात्रुहरुको त्यो किसिमको साहसले करिब ५ घण्टा पछि यात्रा अगाडी बढ्यो । यात्रा अगाडी बढिरहेकै थियो । करिव ३ घन्टा पश्चात फेरी गाडी रोकियो । गाडी अगाडि बढ्न सकेन । आ–आफ्नो गन्तव्यमा समयमा नै पुग्न नपाएको करण चिन्तित यात्रुहरु फेरि पनि आक्रोश पोख्न थाले । विफल भए किनकी बेलुका अज्ञात व्यक्तिहरुबाट सडक बन्द गरिएको थियो भने त्यसबेला सरकार पक्षबाट बन्द थियो । अज्ञात व्यक्तिहरुको खोजीका लागी यातयात बन्द गरेको कुरा आएको थियो । हरेक यात्रुहरु आ–आफ्नो काम लिएर हिंडेका हुन्छन्, सिमित समयको लागी तर हाम्रो देशमा गुडिरहेको गाडी अचानक रोकिन्छ, अनि भनिन्छ २ दिन ३ दिन ४ दिन बन्द । जनताको सेवामा खटिएका ति आर्मी प्रहरी पनि उल्टै बन्दबाट बिचलित भई सडकमा उत्रिएका यात्रुहरु माथि अन्धाधुन्ध मारपिट गरिरहेका थिए । तरपनि यात्रुहरु प्रहरीलाई दबाब दिई आफ्नो गन्तव्य तिर लाग्नको लागी हर प्रयास गरिरहेका थिए ।
गाडीमा थियौ हामी तीन जना मात्रै । म, उनी र हिजो बेलुका जुन मान्छेलाई म शंका गरिरहेको थिए उहि । वास्तवमा ऊ दृष्टिविहिन रहेछ । उसलाई जाडो, गर्मी, हल्लाखल्ला थाहा छ तर के भईरहेको छ देख्न सक्दैन त्यसैले ऊ गाडीबाट जहाँ पयो त्यहीँ जान पनि सक्दैन । लगभग बिहानको खाना खाने समय भयो । तर हामी शहर देखि केही दुरी टाढा थियौं । सबै यात्रुहरु हिंडेर भए पनि खाना खानको लागी होटल तिर अगाडी बढिरहेका थिए । त्यसो त मलाई पनि भोक लागिरहेको थियो । होटल जाने तरखरमा थिए, मैले ति महिलालाई संगै खाना खान जान आग्रह गरे उनले केही छिन पछि जाउँला भनिन्, म भने भोक लागेको छ गए है भन्दै होटल तिर लागे । म पनि टाढा पुगिसकेको थिए पछाडी फर्के । जसरी म फुरुक्क फुर्केर एक्लै आएको थिए तर ति महिला एक्लै आईनन् गाडीमा हामी संँगै यात्रा गर्ने ति दृष्टि बिहिन दाजुलाई पनि लिएर आईन् । गाडीबाट ओर्लदा होस य होटलसम्म आईपुग्न होस उनले धेरै सहयोग गर्दै ल्याईन् । एक हातले त्यो दाजुलाई डो¥याउँदै त एक हातले आफ्नो अनि उही दाजुको सामान झुन्डाउदै होटलसम्म आई खाना खाँदा किन नहोस् उनले धेरै सहयोग गरिन् । सायद यस्तो माया, मोह र ममता आफ्नो परिवारमा मात्र सिमित हुन्छ ।
यात्रा न हो उसलाई दिशा पिसाब लागेछ ति महिलालाई ठुलो संकट परेछ । यात्राकै क्रममा चिनजान अनि गफगाफ भएरै होला मलाई चर्पिसम्म लगिदिन अनुरोध गरिन् । वास्तवमा उनको अनुरोध भन्दा पहिले मैले सोच्न पर्ने कुरा हो तर पनि म उनको आग्रह स्वीकार्दै उसलाई चर्पि लगेर ल्याई दिएँ । होटलदेखि गाडी सम्म आउन भने उनले नै सहयोग गरिन् । लामो पर्खाई पछि बेलुका ५ बजे गाडीहरु फटाफट छुट्न थाले, हामीले पनि यात्रा आगाडी बढायौं । करिब रातको नौ बजे तिर हामी ठुलो बिसौनीमा पुगेछौ । त्यो बसबाट ओर्लेर हामी अर्काे बस चढ्नु पर्दथ्यो । अनि ति महिला पनि त्यही बिसौनिमा ओर्लिन थालिन् केही बाँकी यात्रुहरु र ति दृष्टि बिहिन दाजुको यात्रा भने सोही गाडीमा बाँकी थियो । उनी उसँग छुट्न गाहे मानिन् तर पनि छुटिन् । उसको गाडी गुड्यो । हामी भने अर्काे गाडी नआउन्जेल चियापान गर्न पस्यौं । उनले ठुलो चिन्ता भएको सुनाईन । अझ त्यो मान्छेको यात्रा ६ घण्टा भन्दा बढी र त्यो समय भित्र उसलाई हरेक आपत् विपत् अनि फेरी देशको परिस्थितीले हरेक एक एक मिनेटमा बदलिने परिस्थिति । बन्द हडतालको शिकार, यात्रामा खाना, पानी, दिशा–पिसाब धेरै सोच्न थालिन् । मैले उनलाई सम्झाउँदै चियापान सक्यौ । गाडी आउने बित्तिकै उनी छुट्न खोजीन् तर मलाई उनी अझ बसिदिए अनि गफ गफ गरि दिए हुन्थ्यो जस्तो लाग्यो तर समय आफ्नो गतिमा थियो । म समयलाई न रोक्न सक्थे न छेक्न नै । उसंँग जति छुट्न गाह्रो भएको थियो त्यति नै मसंँग सजिलै छुटिनँ । उनी गए पछि मैले उनका बारेमा धेरै सोचे र नारी महानता गाउन थाले । साँच्चै नारी धर्तिमाता हुन्, नारी सहनशिल हुन्छिन् । अरुको लागी आफु सुम्पिन पनि तयार हुन्छिन् । सायद त्यसपछि कहिल्यै मैले उनलाई भेट गर्न सकिनँ । अहिले जस्तो फोन थिएन । सहज अवस्था थिएन । ति कहाँ होलिन् । कस्तो अवस्थामा होलिन् । सामाजिक संजालको विकासमा पनि उनी भेट्न सकिएको छैन । मुलुकको परिस्थिति पनि राम्रो भयो । तर पनि उनलाई भेट्न सकिएको छैन । तर पनि जीवनमा भेटिएका कयन यात्रीहरु, कयन यादहरु मध्ये त्यो दिन, त्यो क्षण र त्यो घटनाक्रम कहिल्यै विर्सन सक्दिनँ । म आज पनि त्यस्तै नारी खोजिरहेको छु । कहाँ छिन ति नारी ?
सहज न्यौपाने
हालः काठमाडौं









