2026 June 27/ 03:09: 53am

किन यस्तो भई रहेछ ? आफैलाई सम्हाल्न खोज्छु । केहि कठोर बन्ने प्रयास गर्छु । पीडा लुकाउने असफल प्रयास गर्छु । अनुहार रातो हुन्छ । फेरि आवेगमा आउँछु । दाँत किट्छु । सबै प्रयास विफल हुन्छन् । प्राकृतिक नियम ममा पनि लागू हुन्छ । जति कोसिस गरे पनि पत्तै नपाई आँखाको डिल डिलबाट आँशुका ढिक्काहरु झर्छन् । आफ्नो दयनीय स्थिती देखेर आफैमाथि दया लाग्छ । त्यसै पल्टिन्छु । निदाउने फेरि अर्काे असफल प्रयास गर्छु । पटक्कै निद्रा लागेन । नैराश्यताले ब्युँझाईरहन्छ । जुरुक्क उठ्छु । स्वास फेर्नै गा¥हो अनुभव हुन्छ । झ्यालबाट बाहिर चियाउँछु । सुनसान देख्छु । एकाध मानिस छाता ओढेर हिडेको देख्छु । एकहोरिन्छु । कोहि परिचित मानिस आए झैं लाग्छ परबाट । त्यो चेक छाताले टाउको मात्रै ढाकेर यतै लम्केर आउनेलाई चिने चिने झैं लाग्छ । परै भएकोले ठम्याउन हम्मे हम्मे पर्छ । अलिक नजिक आए पछि मेरो ओठमा भएको अलिकति खुसी पनि धेरै टाढा भाग्छ । उ त संजीव नै रहेछ जसलाई मैले तीन दिन अघि नै छोडेर आएको थिए । संजीवलाई चिनेपछि मन झन भुट्भुटिन्छ । पेट्रोल छर्के झैं लाग्छ शरीरमा, कम्पन हुन्छ । रिसले मेरो अनुहार बल्छ ।
    उ मेरो कोठामा आउँछ । तर म ढोकामा छेस्किन लगाएर चुपचाप बस्छु । उ ढोका ढकढक गर्छ । अनु प्लीज एक पटक ढोका खोल । तिमीसँग केहि कुरा गर्नुछ । प्लीज । संजीवको आवाजमा षड्यन्त्रको गन्ध भरिएको जस्तो लाग्छ मलाई । झनै मनलाई दरो बनाउँछु । मुठ्ठी कसिन्छ । बोल्नै मन मन हुन्न । शरीरबाट पसिना निस्कन्छ । के गरुँ कसो गरुँ हुन्छ । उठिसकेको मेरो शरीरलाई पुनः पलङ्गमा लडाउँछु । किन–किन अब मलाई झनै भक्कानेर रुन मन लाग्छ । निरन्तर रुन्छु । तर म संजीवको सामु किन रुनु ? उसको अगाडी म किन दुःखी बनुँ ? म पनि सक्छु उ बिना बाँच्न । हो म यहि देखाईरहेछु । बितेका केहि दिन देखि उसको सामु झुक्दै नझुक्ने गरी आत्मनिर्भर बन्ने योजनामा छु । तर एक्लै हुँदा किन किन रुन मन लाग्छ । आफुले आफैलाई सम्हाल्न सक्दिनँ । चाहे मनमा वेदनाका पहाड नै किन ठडियोस् म समथर बनेर देखिन चाहन्छु अहिले । मनभरि पीडाका ज्वारभाटाहरु उर्लदँै गर्दा म त्यस्लाई बाहिर निस्कन नदिएर आफैमा समहित गर्दैछु । मलाई थाहा छ केहि समय पश्चात त्यो ज्वारभाटाहरु बिस्फोट हुनेछ । तर संजीवको अगाडी म साम्य हुन्छु । म उसलाई देखाउन चाहन्छु । यी हेर तिमी बिना बाँच्न सक्छु हाँसी खुसी । तिमीले गरेको कुठाराघातलाई मैले आत्मसाथ गरिसकें । त्यसले मलाई केहि असर पारेको छैन । जाउ तिम्रो जीवन तिमी बाँच मलाई घच्घचाउन न आउ । मलाई एक्लै छाडिदेउ । प्लीज अनु एक पटक मात्रै ढोका खोल । तिमी कति कठोर हुन सकेकी । मेरो फोन पनि रिसिव गर्दिनौ । उहि आवाज दोहरिन्छ । ढोकामा बसेर उ कराईरहेको छ । मलाई उसका कुनै कुराले छुन सकिरहेको छैन । 
    संजीव यति लाचार भएको मैले यसअघि कहिल्यै देखेको थिइनँ । मैले सोचेको पनि थिईनँ । मेरो श्रीमान्को रुप परिवर्तन हुन्छ । ब्यवहार परिवर्तन हुन्छ । अहं अझै विश्वास लागिरहेको छैन मलाई । अहँ हुँदै हुन्न । म मान्दै मान्दिनँ । उसको बोलीमा अब के नै त्यस्तो जादु बाँकी छ । विश्वास गर्न सकुँ म ? उसका यस्तै चकलेटी कुराले नै त मैले उ सँग १० वर्ष बिताई सकेकी थिएँ उसको श्रीमती भएर । यो सब भ्रम हो । उसको देखावटीपन हो । मानौ उ अझै नाटक गरिरहेछ । म दर्शक बनेर फेरि पनि थपडी बजाउँदै खुसी हुनेछु उसको सशक्त अभिनयमा । साँच्चै कुनै कलाकार भन्दा कम देख्दिन म । वास्तवमा उ साँच्चै पछुतो मान्दैछ वा फेरि पनि मलाई छल्न खोज्दैछ यो त भगवान नै जानुन तर मेरो मनले यि सब झुटा हुन भनेर खबरदारी गर्दैछ । अनु होशियार माकुरा जाल बुन्दैछ उसले । जानी जानी नफस अब । यदि यसो नहुँदो हो त कसरी यति बिघ्न माया गर्ने मान्छेले म माथि सौता नामको किलो गाड्थ्यो ? बाँचे सँगै बाँचौ, मरे सँगै मरौं भनेर सात फेरा लगाएको मेरो लोग्ने कुन मनले अर्काे केटीको पासोमा प¥यो ? सुख दुःखमा साथ रहने बाचा गर्दै ५ वर्ष अघि वैदेशिक रोजगारीको निमित्त अरब गएको संजीवले कसरी म माथि षड्यन्त्र रच्यो ? यि सबै घटना साक्षी छन् कि संजीव अब मेरो विश्वासिलो पात्र रहेन । म उहि भनेर दिनरात सन्तान हुर्काएर पर्खि बसें । मैले पनि चाहेको भए उ विदेश गएको बेला मन परेका कयन केटाहरुलाई श्रीमान् रुपी सम्बन्ध बनाउन सक्थे होला । मेरा पनि चाहनाहरु थिए होलान् । श्रीमानसँग अँगालो बाँधेर घुम्न मन थियो होला । मेरा रहर र चाहना बन्धक बनाउँदै श्रीमान्को पर्खाईमा बस्दा बस्दै मलाई विश्वासघात गर्ने श्रीमान्लाई मैले कसरी गर्न सक्छु विश्वास ? 
    शंका त मैले पहिले नै गर्नुपथ्र्याे । उ एक वर्ष अघि घर बिदामा आएको थियो । कहिले कार्यक्रममा जानुपर्ने त कहिले व्यापारको सिलििला मिलाउन भन्दै हप्तौ हराउँथे । अफिस, घर गृहस्थी धानेर बसेकी मलाई मनको कुनै कुनामा पनि लागेन कि उ अरु कसैसँग अर्काे जीवन बिताउने ध्येयमा हिड्दैछ । उसको त्यो कृत्रिम मुस्कानले छोपिएको अनुहार भित्रको कुरुपता मैले पहिल्याउनै सकिनँ । यसैमा त मलाई अहिले पनि पीडाबोध हुन्छ । जसलाई आफ्नो तनमनले जीवन माने उसैले पिठ्युँमा छुरा रोप्यो । संजीवले त त्यसै बेलामा उसलाई अपनाएर कोठा लिएर अरब फर्केको रहेछ । यस्ता कुरा म के जानुँ ? यी सब कुराको पर्दाफास हुदाँ म अर्ध मुच्र्छित भएकी थिएँ । मलाई आफ्नै कान र आँखा माथि विश्वास लागेको थिएन जतिखेर संजीव मसँग झगडा गरेर अर्कै कोठामा एक्लै सुतेको थियो । मध्यराती उसको हाँसो ढोकाको चेपचेपबाट फुत्किएर मेरो कानमा पस्दा म झस्किएको थिएँ । कोठाभित्र पुरुष स्वर प्रष्टसँग सुनिएको थियो । म भोली बिहानै आउँछु । सलिना अब केहि दिन हो त्यस पछि म तिमीलाई यहि घरमै ल्याउछु । मेरो मुटु छेडिएझै भयो । म घायल बघिनी झै भएँ । अचानक जोड–जोडले ढोकामा हान्न थालें । संजीवले अत्तालिएर ढोका खोल्यो । मोबाईल हातमै थियो । मैले खोसेर हत्तपत्त रिडायल गरें । तुरुन्तै कल रिसिव भयो । उताबाट नारी स्वर सुनियो । केहि बेरको कन्भर्सेसन पछि संजीवले सलिना नामकी केटीसंग विवाह गरेको कुरा पक्का पक्की भयो । मुटु खुकुरी धसेझै भयो । एकैछिनमा मुटु टुक्रियो अनि तितरबितर भयो सम्हाल्नै नसक्ने गरी । अब बाँकी नै के थियो । संजीवको अनुहार हेरें । हेर्न लायकको थियो । डरले कम्पित मुहार अनि झुकेको शिर । उसको हालत गल्ती गरेको बालकको झै देखिन्थ्यो । यो सब यति छिटो भयो कि संजीवले कुनै सफाय दिनै पाएको थिएन । अब के हुन्छ ? उसले अनुमान लगाउनै सकेन । बस अपराधी झै सजायँ भोग्न तयार । सायद उसले सोचेथ्यो म उ माथि खनिन्छु । उसलाई लुस्छु । कोपर्छु, कपडा च्यात्छु अनि भाँडाकुँडा फाल्नेछु । कठालोमा समातेर सोध्नेछु । किन यस्तो गर्नुभयो ? तर अहँ त्यस्तो केहि गरिनँ । उसले सोचे भन्दा बिल्कुलै फरक रुपमा प्रस्तुत भएँं । कुनै प्रतिवाद गर्नै मन लागेन ।
    उसको शरीर छुनै मन लागेन । मन मरेर आयो । संसार नै धमिलो देखें । भाउन्न भयो । उसको अनुहर नियाँले । यति घृणा उम्लेर आयो कि अब उपरान्त उसको अनुहार हेर्नै नपरोस् । दुबै आँखा छोपें । केहि सोच्नै सकिनँ । यति मात्रै थाहा भयो कि अब म त्यस घरमा एक पल पनि बिताउन सक्दिनँ । वरपरका सबै बस्तुहरुले मलाई नै जिस्काए झै लाग्यो । भित्तामा सजिएका संजीव र मेरो तस्वीरले पनि खिसी गरे झै भयो । घरका कुना–कुनाबाट मेरो खिल्ली उडाउँदै फुत्किएका खित्काहरु सुनें । के बस्छेस् अनु तँ यहाँ । जहाँ तेरो आफ्नो केहि छैन । जहाँ तेरो खुसीहरुको घाँटी निमोठिएको छ, जहाँ तेरो उमङ्गको हत्या गरिएको छ, जहाँ तेरो जीन्दगीको रङ्ग उडाईएको छ, जहाँ तेरो भावनालाई सिमेण्ट र कंक्रिटसँंगै प्लाष्टर गरिएर भित्तामा दबाईएको छ । त्यस्तोमा तँ कसरी बस्छेस् ? कसरी निर्वाह गर्छेस् जीवन ? तैले जसलाई आफ्नो ठानिस् उ त अरु कसैको भैइसकेछ । अरु कसैलाई छोएका ती हातहरुले तँलाई स्पर्श गर्दा कसरी सहन्छेस् ? ती जुठा स्पर्श भित्र तँ के पाउछेस् ? केवल छलकपट र झुट, गद्दारी मात्र पाउँछेस् । वास्तवमै यो सत्य थियो । जुन घर मैले वर्षाै लगाएर सजाएको थिएँ । मायाका रङ्गीबिरङ्गी फूलहरु फुलाएको थिएँ । त्यहि मेरो सपनाको सुन्दर बगैँचा कसैले माड्दैथ्यो, कुल्चदै थियो । फूलहरु निमोठ्दै थियो । एकाएक मैले निर्णय लिँए । अविचलित अनि अविछिन्न निर्णय । अनि भनें संजीव मैले जीन्दगी यति नमिठो होला भनेर कहिल्यै अनुमान पनि गरेकी थिइनँ । तिम्रो साथ यसरी बिझाउँछ, पोल्छ । म सधैं तिमीलाई एक आदर्श पुरुषको रुपमा स्वीकार्थें । संसारको सबैभन्दा सुखी र धनी मानिस सम्झिन्थें । तर हैन रहेछ । म भ्रममा बाँचिरहेको रहेछु । भिखारी भन्दा पनि तल्लो दर्जाको माग्ने रहेछौ जो सँंग दिनलाई केहि छैन । तिमी त रित्तो रहेछौ । तिमीसँग मलाई दिने अलिकति मायाको पनि अभाव रहेछ । आफै रित्तो हुनेले मलाई प्रेम दिन सक्छौ र ? तिमीबाट के आशा गरुँ ? म तिमीलाई अगाध माया गर्दछु त्यसैले म तिम्रो खुसी चाहन्छु । तिम्रो खुसी सलिना रहेछ । म तिमीलाई त्यो दिन चाहन्छु । मलाई हाँसो दिन सकेनौ खुसी राख्न सकेनौ तर म तिमीलाई तिमीले चाहेको त्यो खुसी दिन चाहन्छु । तिम्रो मुहारमा मुस्कान देख्न चाहन्छु । तिम्रो पराजय हैन विजय चाहन्छु ।
    तिमीलाई मेरो बन्धनको साङ्गलोबाट मुक्त गर्दैछु । तिमी खुला छौ । जाउ तिम्रो जीन्दगी बाँच । तिम्रो नयाँ जीवन सुखमय रहोस् । मेरो जीन्दगीमा चिहाउने दुश्प्रयास नगर । संजीव त्यतिखेर मेरो खुट्टानेर थियो । उ मेरो पाउमा पश्चातापको भेल बगाउँदै थियो । अनु त्यसो नभन । मैले गल्ती गरें । म तिमीलाई माया गर्छु । मलाई छाडेर जाने कुरा नगर । म सलिना छाडि दिन्छु । तिमी जस्ती देवि माथि अन्याय गरें । म पापी हुँ । मलाई माफ गर । बिन्ती यो घर छाड्ने कुरा मनबाट निकालिदेउ ।  संजीव मेरो अडिग रहने बानीबाट जानकार थियो । उसलाई थाहा थियो कि म स्वाभिमानी थिएँ । मैले गरेका हरेक निर्णयमा म अडिग रहन्थें । उ मलाई रोक्न चाहन्थ्यो । सलिनालाई पनि त्यसै भन्यौ होला हैन ? कमसेकम एकजनासंँग त इमान्दार होउ । म माथि त विश्वासघात गरि सक्यौ उ माथि नगर । मेरो सपना पुरा गर्न नसके पनि उसका सपना टुक्रा हुन नदेउ । म तितर बितर भैसकें । उसलाई त्यसो हुनबाट रोक । उ पनि एक नारी हो । कम्तीमा पनि एकजनासंँग साँचो जीवन बाँच । सत्य बोल । जीवन सुखी र खुशी बनाउ । त्यहि रात घर छाडेर म अफिसको क्वाटरमा आएर बसें । ७ दिन भई सकेको थियो । मैले उसँग कुरा गर्ने चाहना पनि राखेको थिईनँ । कार्यालय जान पनि सकेको थिईन । धेरैले मलाई सोधिरहेका थिए तपाईलाई केहि दिन देखि के भएको छ ? 
    संजीव अझै पनि मसंँग कुरा गर्न चाहन्छ । फेरि मसंँग जीवन बिताउन चाहन्छ । त्यसैले आज ढोकामा उभिएर मेरो मायाको भिख माग्दैछ । तर म यति कठोर भैसकें कि सायद ढुङ्गा पनि यति साहे छैन । समाजमा धेरै त्यस्ता बहुबिबाह गरेर संगै जीवन बिताउनेहरु नभएका पक्कै हैनन् तथापी एकपटक भाँच्चिसकेको यो मन खै कसै गरि पनि जोडिएन अथवा भनुँ जोड्ने मनै भएन । मलाई राम्रैसंँग थाहा छ । यो समाजमा पुरुषको उपस्थिति बिना जीन्दगी बिताउनु फलामको चिउरा चपाए सरह हुनेछ । 

अनु रिजाल
काठमाडौ