काभ्रेपलाञ्चोक जिल्लामा पाँच वर्षको अवधीमा ६२ वटा बन्यजन्तुको उद्धार भएको छ । उद्धार भएका मध्ये २० वटा चितुवा मृत अवस्थाका हुन् । चितुवा बाहेक अन्य वन्यजन्तु समेत गरी २३ वटा मृत अवस्थामा र ३९ वटा जीवित अवस्थाबाट उद्धार गरिएको छ । पछिल्लो समय घर आँगन तथा बाली नालीमा प्रवेश गरेर बन्यजन्तुले दिएको हैरानी कृषकहरुको पीडा बनिरहेको छ । यसका बाबजुत पनि बन्यजन्तु संरक्षण गर्नुको विकल्प छैन । सरकारले ल्याएका अस्थायी कार्यविधी मार्फत धेरै दुख दिएका बँदेल तथा रातो बाँदर नियन्त्रण गर्न सकिने भए पनि कृषकहरुलाई त्यसका लागि आवश्यक उपकरण तथा प्रविधिको पनि अभाव छ ।
वन्यजन्तु हानि नोक्सानीका हिसावले संबेदनशील क्षेत्र तोकिएका छन् । विशेषगरी वन पैदावार चोरी निकासीका मार्ग, वन्यजन्तु, अखेटो पहार, चोरी निकासी तथा ओसारपसार, वन अतिक्रमण र वन डढेलोका कारण वन्यजन्तुलाई हानि नोक्सानी पु¥याईरहेको छ । खानीखोला–ढुंखर्क–पनौती र बनेपा, पाँचखाल–मण्डनदेउपुर–नगरकोट–भक्तपुर–काठमाडौ, बनेपा–साँगा–भक्तपुर–काठमाडौ रुटबाट वन पैदावार चोरी निकासी हुन सक्ने सम्भावित सूचीमा राखिएको छ । काठमाडौ–भक्तपुर–बनेपा–तातोपानी,नेपालथोक–धुलिखेल–बनेपा–भक्तपुर–काठमाडौ रुटबाट वन्यजन्तु, अखेटो पहार, चोरी निकासी तथा ओसारपसार हुन सक्ने सम्भावित रुटमा निगरानी बढाईएको छ । वन अतिक्रमणका हिसावले सडकका किनार जस्तै यात्रु, पर्यटकहरुको आतेजाने हुने क्षेत्रहरु जस्तै धुलिखेल, पाँचखाल आसपास, नगरकोट क्षेत्रका आसपास भुभागहरु र अधिकांश सामुदायिक वन क्षेत्र रहेका छन् ।
वन डढेलोमा चौरीदेउराली, भुम्लु, तेमाल,बेथान्चोक, खानीखोला, महाभारतको दक्षिण मोहोडाको वन क्षेत्र र आकलझुकल शहर आसपासको वन क्षेत्रहरु रहेका छन् । पाँच वर्षको अवधीमा बन्यजन्तुका कारण भएको क्षति बापत नागरिकहरुले डिभिजन वन कार्यालय मार्फत ९२ लाख २९ हजार ७३ रुपैया क्षतिपुर्ति प्राप्त गरेका छन् । यो अवधीमा १ सय ३९ वटा पशुधनमा बन्यजन्तुले आक्रमण गरी क्षति पु¥याएको छ । ८ जना नागरिकलाई आक्रमण गरेको छ । १ हजार १ सय २६ कृषकहरुको अन्नबालीमा क्षति पु¥याएको छ । हरेक वर्ष अन्नबालीमा क्षति हुने क्रम बढेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६÷२०७७ मा २१ वटा घटनामा २ लाख ५८ हजार २ सय, आर्थिक वर्ष २०७७÷२०७८ मा १ सय २५ वटा घटनामा १३ लाख ७५ हजार ३ सय ६७ रुपैया, आर्थिक वर्ष २०७८/२०७९ मा २ सय ६३ वटा घटनामा २७ लाख ७० हजार १ सय ७४ रुपैया, आर्थिक वर्ष २०७९/२०८० मा ३ सय ८५ वटा घटनामा ४३ लाख १७ हजार ३ सय ३२ रुपैया र आर्थिक वर्ष २०८०/२०८१ मा ४ सय ७९ वटा घटनामा ५० लाख ८ हजार रुपैया भुक्तानी प्राप्त गरेका छन् । कयन कृषकहरु उक्त क्षतिपुर्ति पाउनबाट बञ्चित भएको गुनासो कायम नै छ ।
२०७६/२०७७ साल देखि २०८०/२०८१ सम्म १२ प्रजातीका ६२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । २० वटा चितुवा मृत अवस्थामा र ५ वटाको जिवित चितुवाको बच्चाको उद्धार गरिएको छ । लोपोन्मुख बन्यजन्तुको संरक्षण तथा उद्धारमा स्थानीय तह, सामुदायिक वन र अधिकारकर्मीहरुको सक्रियता आवश्यक छ ।









