2026 May 31/ 02:28: 21am

    विश्वासमा सम्बन्ध बढाएर अविश्वास पछि हत्या गर्ने क्रम बढेको छ । आफन्तबाटै आफन्त असुरक्षित भईरहेका घटनामा तिब्रता आएको छ । परिवारका सदस्यहरुबाट अभिभावकहरु नै असुरक्षित हुनुपर्ने अवस्था बढिरहेको छ । युवा अवस्थामा रहेको सम्बन्ध अघि बढ्न नसक्दा ब्यक्तिले ज्यान नै गुमाउनु परेको छ । जिल्लाका पछिल्ला केहि घटनाहरुले असुरक्षा अरुबाट नभई आफ्नै र आफ्नै भनिएकाहरुलाई गरिएको विश्वासका कारण भएको देखिन्छ । कति विश्वास गर्ने ? विश्वासलाई कहाँसम्म लैजाने ? अविश्वास पछि उत्पन्न घटना हत्यासम्म पुग्न नदिन के गर्ने ? सम्वन्ध राख्दा वा बसाउँदा ध्यान दिनुपर्ने विषय हुन् । 
    काभ्रेपलाञ्चोक जिल्लामा चालु आर्थिक वर्षको ७ महिनामा शान्ति सुरक्षा अपराध नियन्त्रण र विपद ब्यवस्थापन अन्र्तगत अपराधिक ४ सय ६ वटा घटना भएका छन् । माघ महिनामा मात्रै ५४ वटा घटना भए । ७ महिनाको अवधीमा ३ सय २० जना पक्राउ परेका छन् । माघ महिनामा १९ जना पक्राउ परे । जिल्ला प्रशासन कार्यालय काभ्रेको माघ महिनासम्मको प्रतिवेदनका आधारमा सडक दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । माघ महिनामा एक जनाको ज्यान गएको छ । १ सय जना घाईते भए भने माघ महिनामा १४ जना घाईते भए । जिल्लामा साउन देखि माघ मसान्तसम्म ४ जनाको हत्या भएको छ । फागुन महिनामा थप २ जनाको हत्या भएको छ । दुर्घटनामा थप ३ जनाले ज्यान गुमाएका छन् । ७५ जनाले आत्महत्या गरेका छन् । माघ महिनामा ९ जनाले आत्महत्या गरे । फागुन १५ सम्म चार जनाले आत्महत्या गरिसकेका छन् । यो अवधीमा प्राकृतिक प्रकोपका घटना ४९ वटा भए । ८१ जनाले ज्यान गुमाए । ९७ जना घाईते भए । विश्वासमा सम्बन्ध राख्ने र अविश्वास पछि हत्या गर्ने क्रुर अपराधीक घटनामा बृद्धि भएको छ । घटना हुनु अघि नै त्यसबारेमा पाएको सूचनामा हेलचेक्रयाई पनि त्यसको कारण हुन सक्छ । पछिल्ला दुई घटनामा आफन्तको गुनासो त्यहि देखिएको छ । अबैद्य सम्बन्ध, सम्बन्ध पछिका सूचना तथा अवस्थाका बारेमा भन्न नसक्नु, त्यहि घटनाका बारेमा जानकारी गराउँदा हुन सक्ने सम्भावित जोखिम भोग्न नसकेकै कारण पनि अपराधका घटनामा बृद्धि भएको छ । 
    बनेपामा होटलमा बोलाएर आफ्नै प्रेमीले प्रेमिका मारेर फरार भएको घटना तथा मण्डनदेउपुरमा असोज देखि बेपत्ता भएकी महिलाको घटनामा संलग्न हत्याराहरुका आधारमा भन्न सकिन्छ कि विश्वासमा पारेर अविश्वास पछि हत्या गरिएको छ । २०८१ असोज १५ गते देखि बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ घर भएकी ३५ बर्षिया निशा लामा २०८१ फागुन १४ गते मृत अवस्थामा फेला परेकी छन् । धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका ३६ बर्षिय सुनिल रञ्जितकार निशाको हत्यामा संलग्न छन् । निशाको कंकाल भेटिएको २४ घण्टा नबित्दै प्रहरीले फागुन १५ गते सुनिललाई पक्राउ गरेको थियो । सुनिलले निशासँग डेढ वर्ष अघि देखि सम्बन्ध रहेको, सम्बन्धमा अविश्वास बढे पछि घरबाट बोलाएर पाँचखाल जंगलमा पु¥याई क्रुरतापूर्वक ढुंगाले टाउकोमा हानेर मारेको उल्लेख गरिएको छ । उक्त घटनाका बारेमा प्रहरीलाई असोज १७ गते मृतकका श्रीमान राईफल लामाले हराएकी श्रीमती खोजतलास गर्न र शंका लागेका उनै ब्यक्ति सुनिललाई पक्राउ गरी सोधपुछ गर्न अनुरोध गरेको थियो । मोबाईल रेकर्डमा समेत निशा र सुनिलबीच निशा हराएको दिन असोज १५ गते १६ पटक सम्पर्क भएको देखिएको थियो । मोबाईलमा गरिएका कुराकानीका आधारमा पनि निशालाई सुनिलले बेपत्ता बनाएका धेरै आधार थिए । 
    समयमै अनुसन्धान, सहि सूचना तथा सूचना पछिको अनुसन्धान हुँदा अपराधमा कमी आउन सकिन्छ । प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्ने तर्फ चासो नदिएकाले लामो समयसम्म निशाका बारेमा जानकारी हुन सकेको थिएन । निशाको शव फेला परेको २४ घण्टा नवित्दै प्रहरीले उनैलाई पक्राउ गरी अनुसन्धान शुरु गरे पछि घटनाका बारेमा स्विकारेका छन् ।