2026 May 26/ 03:03: 44pm

    उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला बत्ति मुनिको अँध्यारो छ । उपत्यकाको बैकल्पिक शहरका रुपमा चिनिएको काभ्रेपलाञ्चोक जिल्लाको एकीकृत विकासका लागि भएका पहलहरु पनि कामवायी हुन सकेनन् । एकीकृत खानेपानीको निर्माण कार्य सकिएको ९७ प्रतिशत सकिए पनि संचालनमा आउन सकेको छैन । फोहोरमैला ब्यवस्थापनमा पनि तीनवटा नगरपालिकाको एकीकृत ब्यवस्थापन हुन सकेन । अन्य पूर्वाधारहरुमा पनि उपत्यकाको हिसाबले निर्माण कार्य हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरको राजमार्ग निर्माणमा पनि स्थानीयको अवरोधका कारण समयमा सम्पन्न हुने सम्भावना क्षण बन्दै गएको छ । अरनिको राजमार्ग निर्माणमा बनेपा खण्डको अवरोध कायम छ । धुलिखेल–खावा सडक खण्ड अझै निर्माण हुन सकेको छैन । विपी राजमार्ग अविरल वर्षात्को कारण क्षतविक्षत छ । 
    दशक देखि बनेपाको पुलबजार क्षेत्र डुबानमा परी राजमार्गमा आवतजावत बन्द हुने गरेको, ब्यक्तिका घरहरु डुबानमा परी समस्या भएको र पानीको निकास ब्यवस्थापन गर्न नसक्दा उत्पन्न परिस्थितिका बारेमा सरकारका सबै निकायहरुले जानकारी लिएका छन् । समस्याका बारेमा प्रतिवेदन पनि तयार बनेका छन् । तर पनि निकास निस्कन सकेन । पाँच महिनासम्म बनेपा खण्डमा अवरोध हुँदा निर्माण ब्यवसायीले धुलिखेलबाट कालोपत्रे लगायतका कार्य प्रारम्भ गरेको छ । बनेपा खण्डको काम अवरोध हुँदा स्थानीयहरुले समेत असहजता महसुस गरिरहेका छन् । बनेपाको अवरोधले आयोजना सम्पन्न हुने मिति पनि धकेलिदै गएको छ । नियमित निर्माणको कार्य नहुँदा बजार अस्तब्यस्त छ । ब्यवसायीहरुले सकस ब्यहोरिरहेका छन् । सडक विभाग र निर्माण कम्पनीले निर्माण शुरु हुनु अगावै डिटेल निर्माण कार्यको तालिका सार्वजनिक गरेको थियो । त्यतिबेला स्थानीय सरकारले सहमति जनाएको थियो । निर्माण शुरु भएको २ वर्ष पुग्न लाग्दा स्थानीयको तर्फबाट सरकारकै अगुवाईमा भएको अवरोधलाई कसरी हेर्ने ? साँगा धुलिखेल खण्डको निर्माण कार्यको प्रगति भने न्यून छ । सम्झौता अवधीको एक वर्ष मात्रै बाँकी रहँदा २९ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । २७ मसिंर २०७९ मा सम्झौता भएको उक्त आयोजना २०८२ मंसिर २६ गते हस्तान्तरण गर्नु पर्ने सम्झौतामा उल्लेख छ । 
    तीन वर्ष अवधीको उक्त आयोजनाको निर्माण कार्य २ वर्ष सकिँदा ३० प्रतिशत समेत कार्य हुन सकेको छैन । बजेट अभाव, स्थानीय स्तरमा समन्वयको कमी र विपद पछि सामाग्री ढुवानीमा असहजता लगायतका कारण आयोजना समयमा सम्पन्न नहुने अवस्था सिर्जना हुँदै गएको छ । आयोजना शुरु भएको करिव २ वर्ष पछि अवरोध सिर्जना गरेर आयोजना पछाडी धकेल्न खोजेको आशंका बढाएको छ । आयोजनाका लागि ४ अर्ब ५ करोड ६४ लाख ७५ हजार ८ सय ४८ रुपैया मध्ये ४ अर्ब ३९ करोड ७४ लाख ९ हजार २ सय १८ रुपैयाँमा सम्झौता भएको छ । निर्माण कार्य सकिएको मध्ये १ अर्ब १७ करोड ४१ लाख ३४ हजार ६ सय १८ रुपैयाँ भुक्तानी भएको छ । स्थानीयका समस्यालाई सम्बोधन गर्दै तत्काल आयोजना बढाउन स्थानीय सरकार, सडक विभाग र स्थानीय स्वंय पनि सक्रिय हुनु पर्छ । अन्यत्र कार्य सम्पन्न भएर बनेपामा मात्रै कार्य हुन सकेन भने त्यसको अपजस र असर बनेपाका स्थानीयलाई मात्रै हुन्छ र ?