बजारमा असरल्ल गुणस्तरहीन खाद्य बस्तुहरु फेला पर्न थालेका छन् । कोभिड महामारी पछि शिथिल बनेको बजारमा ब्यवसायीहरुले थोरै मुनाफाका लागि खाद्य वस्तुमा मिसावट गर्ने गरेका छन् । ब्यवसायीहरु पनि सबै खाद्य बस्तुका मालिक हैनन् । उनिहरुले पनि अन्यत्र पसलबाट ल्याउने खाद्य बस्तुहरु उपभोग गरिरहेकै हुन्छन् । आफु पनि उपभोक्ता नै भएको सम्झेर ब्यवसायीहरुले खाद्यान्नमा प्रयोग गरिने बस्तुहरुको गुणस्तर कायम राख्ने हो भने बजारको गुणस्तर ह्वात्तै माथि जान सक्छ । तर उद्योगी ब्यवसायीहरुले उपभोक्ताको स्वास्थ्य भन्दा पनि नाफा कमाउने उद्देश्य राखेकाले बजारमा खाद्य भन्दा अखाद्य बस्तुहरु धेरै भेटिन थालेका हुन् ।
विशेषगरी धेरै खपत हुने समयमा केहि ब्यवसायीहरुले उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्दै अखाद्य बस्तुहरुको मिसावट गर्ने गरेको फेला परेको छ । होटल पसलहरुमा खाना तथा खाजा, खाद्य बस्तुको प्रयोग गर्दा उपभोक्ता आफै पनि सचेत हुन आवश्यक छ । उपभोक्ता सचेत गराउँदै ब्यवसायीहरुलाई पनि जागरुक गर्ने र पटक–पटक गरिएको अनुरोधलाई वेवास्ता गर्ने ब्यवसायीहरुलाई कानूनी कारवाहीको प्रकृया शुरु गरेको छ । उपभोक्ताहरु बेवास्ता गर्ने र ब्यवसायीहरुले अटेर गर्दा बजारमा गुणस्तर र खान मिल्ने सामाग्री कम हुँदै जान थालेका छन् । विशेषगरी धेरै खपत हुने समयमा हुने र नियमित अवस्थामा पनि त्यस्तो सामाग्री प्रयोग गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा समस्या हुने चेतावनी विशेषज्ञहरु दिएका छन् । तर पनि केहि ब्यवसायीहरुको लापर्वाहीले नागरिकहरुको ज्यान जोखिममा परिरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग बाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयहरु मार्फत गरिएका अनुगमनहरु अझै प्रभावकारी बनाईनु पर्छ । कार्यालयहरुले ब्यवसायीहरुलाई सहज र सरल बनाउन तथा उपभोक्ताहरुको स्वास्थ्यमा ध्यान दिन निर्देशन पनि दिएका छन् । प्रशासनको सदासयतालाई ब्यवसायीहरुले दुरुपयोग गरिरहेका छन् । बुबाको मुख हेर्ने दिन आसपासमा गरिएका अनुगमनहरुले त्यहि सन्देश दिएका छन् । मिठाईहरुमा अखाद्य केमिकल, रङ प्रयोग गरी विक्री वितरण गरिएको फेला परेको छ ।
अनुगमनका क्रममा पनौतीका अधिकांश मिठाई पसलमा अखाद्य केमिकल प्रयोग गरिएको, अत्याधिक रङ, सरसफाईमा ध्यान नदिएकाले ब्यवसायीहरुलाई सचेत र सजग गराउँदै कानूनी प्रकृयामा जाने गरी प्रकृया अघि बढाईएको छ । अनुगमन गरेका पसलहरुमा उप्रान्त त्यस्ता अखाद्य केमिकल र रङ प्रयोग नर्गन निर्देशन दिईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेले आर्थिक वर्ष २०८०÷०८१ मा भएका गतिविधिहरु पूर्ण रुपमा कार्यान्वयन गरिएको छ । डिभिजन कार्यालयले खाद्य गुणस्तर तथा होटल तथा रेस्टुरेन्टहरुमा गुणस्तर सुधारका लागि होमस्टे, होटल रेस्टुरेन्ट, क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी दुई पटक तालिम प्रदान गरिएको छ । स्थानीय तहको समन्वयमा स्ट्रिटफुडको खाद्य स्वच्छता अभिबृद्धि कार्यक्रम, फलफुल बजार÷गोदाममा रिपेनिङ्ग एजेन्टको प्रयोगको सर्भिलेन्स तथा नियमन, खाद्य बजार अनुगमन गरिएको छ । १ सय पटक बजार खाद्य बजार अनुगमन गरिएको छ । ८ पटक दाना बजार अनुगमन गरिएको छ । ५३ पटक होटल तथा रेस्टुरेन्टहरु अनुगमन गरिएको छ । ७६ वटा खाद्य उद्योग अनुगमन गरिएको छ । हाटबजार, मेला महोत्सव ८ पटक अनुगमन गरिएको छ । संवेदनशील खाद्य पदार्थ अन्तर्गत दुध, तेल, पानी लगायत उत्पादन गर्ने उद्योगहरुको ४३ पटक अनुगमन गरिएको छ ।
बजारलाई गुणस्तर बनाउन, उपभोक्ताको अधिकार तथा ब्यवसायीहरुले आफ्नो दायित्व पुरा गरे भने बजार गुणस्तर हुन्छ । सरोकारवाला निकायले उक्त कुरामा ध्यान दिनु आवश्यक छ ।









