पर्यटकीय नगरी धुलिखेललाई हार्दिक बधाई । पहिचानहरु बदल्दै, पहिचानहरुलाई अझै सशक्त र थप परिभाषित गर्दै नगर भित्रका नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय सरकार के का लागि ? किन ? के गर्दैछन् ? भन्ने प्रश्नको घेरामा विश्व स्वास्थ्य संगठनमा आफ्नो उपस्थिति देखाउँदै नेपालमै नमुना शहर घोषणा भएकोमा धुलिखेलबासीहरुले मात्रै होईन जिल्ला र नेपालले नै गर्व गर्नुपर्छ । यसको मतलब धुलिखेल नगरपालिकाले जस्तो अरु स्थानीय सरकारले काम नै गरेका छैनन् भन्ने हैन । गरेका छन्, अझै राम्रो सेवा पनि दिएका छन् तर त्यसलाई प्रकृयामा नगए पछि देखिने र प्रमाणित हुने कुरा हुँदैन । कोहि ब्यक्ति पिएचडी अध्ययन गरे भन्दा धेरै जान्दछ । गरि पनि रहेको छ । गर्छ भन्ने थाहा पनि छ । विश्वास पनि छ । तर उ परीक्षामा सामेल नै हुन सकेन भने, भएन भने अरु पनि थिए त्यसले मात्रै पिएचडीको प्रमाणपत्र लिएको छ भन्न मिल्दैन । अहिलेको प्रकृया पनि त्यहि हो । धुलिखेल जस्तै नेपालका अन्य केहि र दक्षिण पूर्व एशियाका शहरहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमध्ये धुलिखेल पहिलो, दोश्रो र तेश्रो विद्यागत नम्वर प्राप्त गर्ने शहरहरु मध्ये दोश्रो चरणको ६२.४८ नम्वर प्राप्त गरी नेपालको पहिलो शहर घोषित भयो ।
पहिलो चरण पार गर्न धुलिखेलले अझै ७१ नम्वर भन्दा माथि पुग्नु पर्छ । केहि सुचकांकहरु अझै पुरा हुन सकेका छैनन् । ९५ नम्वरको सुचिकृतको लक्ष्यमा यो महत्वपूर्ण खुट्किलो हो । यसलाई बढाउँदै शतप्रतिशत पु¥याउन र पुगेका नम्वरहरुलाई टिकाई राख्न नगरपालिकालाई थप चुनौती थपिएको छ । तर यसको मतलब यो होइन कि धुलिखेल नगर भित्रका नागरिकहरुमा रोग नै लाग्दैन, स्वस्थ शहर भन्ने वित्तिक्कै सबै बस्तु र क्षेत्र स्वास्थ्यका मापदण्ड भित्र छन् । मुख्य कुरा के हो भने धुलिखेलले आधारभुत समस्याहरुको समाधान गर्ने सामथ्र्य राखिसकेको छ । विश्वमा देखिएका स्वास्थ्य समस्याहरु मात्रै धुलिखेलमा देखिन थालेका छन् । नियमित नसर्ने महामारीजन्य रोगहरु पनि छन् । त्यसको ब्यवस्थापनका लागि नगरपालिका आफैले नीति बनाएको छ । नीतिलाई कार्यान्वयन गर्ने भिजन बनाएको छ । नीति र भिजन पछि जनशक्ति र पूर्वाधारको ब्यवस्थापन गरिएको छ । आवश्यक उपकरण र औषधीजन्य सामाग्रीको उपलब्धता बढाईएको छ । पहिचान र परिक्षणसँगै रोकथाम र उपचारमा बृद्धि गरिएको छ । सेवा प्रवाहमा निरन्तर गुणस्तर कायम गरिएको छ । त्यसकारण नगरपालिकालाई स्वस्थ शहर घोषणा गरिएको छ । जसमा जनप्रतिनिधिहरुको राजनीतिक प्रतिबद्धता ब्यवहारत देखिएको छ । जुन महत्वपूर्ण र अत्यावश्यक हो । नेपाल जस्तो एक एक मिनेटमा फेरबदल हुने राजनीतिक घटनाक्रम र अस्थिरता यस्ता कार्यक्रमका बाधक हुन् । स्थानीय सरकार परिवर्तन भए पनि नेतृत्वले लिएको नीति र कार्यक्रमले पाएको निरन्तरता महत्वपूर्ण आधार हो ।
अतः धुलिखेल एउटा नमुना शहरका रुपमा स्थापित भएको छ । स्वस्थ शहर निर्माणका क्रममा मात्रै नभई्, बालमैत्री नगर, वातावरमैत्री नगर, दिगो लक्ष्य पूरा गर्ने शहर लगायतका दर्जनौ कार्यहरु धुलिखेलले अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ । छिमेकी पालिकाहरुले पनि यसलाई पछ्याउन शुरु गरेका छन् । नागरिकहरुले चाहेको गुणस्तरीय सेवा हो । त्यसमा पनि स्वास्थ्य उसको पहिलो धन हो । स्वस्थ नागरिक उत्पादन गर्न, नागरिकहरुको जीवन रक्षार्थ स्थानीय सरकारले आफ्नो बल बुताले भ्याएको सेवा प्रवाह गरी अन्र्तराष्ट्रिय स्तरमा स्थानीय शहरको नाम दर्ज गराउनु कम्ति चुनौती होईन र छैन पनि । त्यसैले यो अभियानमा निरन्तर ५ वर्ष देखि सक्रिय कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरु जसको भागिदार हुन् । खुशी मात्रै होईन जिम्मेवारी र आगामी कार्यभारको चुनौती समेत थपिएको यो घोषणाले नगरपालिकालाई अझै जिम्मेवार र नागरिक प्रतिको दायित्वबोध गराउन सकोस् शुभकामना ।









