2026 May 26/ 05:09: 31pm

समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मुर्तरुप प्रदान गर्न नेकपा एमाले काभ्रेले प्रतिबद्धता ब्यक्त गरेको छ । एमाले काभ्रेले निरन्तर पहलकदमी गरिरहेको, दिगो विकासको अवधारणा अनुरुप काभ्रे जिल्लालाई सन् २०३० भित्र गरिबी उन्मुलन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारहरुका माध्यमबाट सबल जिल्ला बनाउने लक्ष्यका लागि थप सशक्त बनाउने गरी अभियान चलाउने निर्णय गरेको छ । जिल्ला अधिवेशन पश्चात बृहत कार्यक्रमबाट जिल्लाको विकासको वर्तमान अवस्थाको तुलनात्मक विश्लेषण गरि दीर्घकालीन र अल्पकालीन योजना तय गरेको छ । एमालेले गरेका योजनाहरु उसका मात्रै होईनन् यी समग्र जिल्लाका लागि हुन् । केन्द्रमा पहुँच हुँदा काभ्रेपलाञ्चोक जिल्लाले प्राप्त गरेको विकास बजेट तथा योजनाहरुका कारण आज हरेक क्षेत्रमा जिल्ला समृद्ध बन्ने अभियानमा जुटेको छ । विकट क्षेत्रहरु सुगम बन्दै गएका छन् । नागरिकहरुले सहजता महसुस गरिरहेका छन् । 
    पूर्वाधार विकास, हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन, कृषी पशुपालन, विश्वविद्यालय तथा शैक्षिक क्षेत्र लगायतका विभिन्न क्षेत्रमा योजना सहितको कार्यान्वन गर्ने निर्णय सकारात्मक हो । काभ्रे उपत्यकाका रुपमा बनेपा, धुलिखेल र पनौतीलाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रुपमा विकास गर्ने, जिल्लामा आगामी पाँच वर्ष भित्र एक हजार किमी सडक कालोपत्रे गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, बनेपा, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाब्य करीडोर क्षेत्रमा ब्यवस्थित पूर्वाधार सहितको बस्ति व्यवस्थापन गर्ने, डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पूर्वाधारको विकास गर्ने, जिल्लामा पाँच हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने, एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने लगायतका योजनाबाट जिल्लाको समृद्धिको आधार तय गर्छ । 
    जिल्लाका १३ वटा पालिकाकाका आ–आफ्ना विशेषताहरु छन् । पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवसायीक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोबुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन, कृषि र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भूम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन साँस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाई जडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक श्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गरुयोजना तर्जुमा गर्ने महत्काँक्षी तर गर्न सकिने योजनाले स्पष्ट नीति, विचार र संगठन हुँदा नागरिकहरुको मन जित्ने र कार्यान्वन गर्न सहज हुनेछ ।