करिब दुई महिना संसद अवरुद्ध गरेको नेपाली काँग्रेसले केहि सहकारीका नाममा मात्रै छानविन गर्न संसदीय समिति गठनको माग ग¥यो । नेपालमा आर्थिक मन्दिका कारण केहि थान नभई सयौं सहकारी यतिबेला संकटमा छन् । ति सहकारीमा ब्याज आउने लोभमा फसेका सर्वसाधारणका बचत रकम जोखिममा पुगेको छ । नेताहरुले सत्ता र शक्तिका आडमा सर्वसाधारणको रकम सस्तो ब्याजमा लिने तर ग्रैह् क्षेत्रमा लगानी गर्ने प्रकरणका कारण देशभरका सहकारीहरु जोखिममा पुगेका हुन् । सहकारीमा भएका हिनामिना छानविन समितिका नाममा केहि सहकारीको मात्रै गरेर सम्भव पनि हुँदैन र त्यसले देशभरीका समस्या समाधान गर्न पनि सक्दैन । समग्र मुलुकमा भएका सहकारीहरुलाई ब्यवस्थित गर्न, सहकारीमा भएको बचत सुरक्षित रहन दिन, त्यसको प्रत्याभुति राज्यले गराउन र लगानी गरेका ऋणहरु असुली गर्न ढिलाई भईसकेको छ । राज्यले संसदिय छानविन समिति बनाएर फेस सेभिङ्ग गरेको भए पनि सर्वसाधारण त्यसबाट सन्तुष्ट छैनन् ।
यतिखेर केहि सहकारीका संचालकहरु पक्राउ परेका छन् । कान्तिपुर सेभिङ एन्ड क्रेडिट को– अपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका हुन् । उनी नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं २०७४ सालको निर्वाचनमा प्रदेश सभाका उम्मेदवार थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी नेपाली काँग्रेस काभ्रेका महासमिति सदस्य समेत छन् । उनी पशुपति सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष समेत हुन् । कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो । कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयर पूँजी करिब ४९ करोड छ । सहकारीले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएका छन् । भागेर विदेश जाने क्रममा उनलाई पक्राउ गरिएको छ ।
सहकारीका नाममा अबैद्य धन्दा संचालन गर्नेहरुलाई धमाधम पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गराउने वातावरण राज्यले बनाउनु आवश्यक छ । ऋण लग्नेहरुले पनि समयमा तिर्ने, तिर्न आनाकानी गरे कानूनी कारवाहीको प्रकृया अघि बढाउने र उसलाई लिएको ऋण सहज रुपमा तिर्न अनुरोध गर्नु जरुरी छ । काभ्रेपलाञ्चोक जिल्लामा सहकारी, सुन तथा अन्य प्रकरणमा नेताहरु धमाधम पक्राउ परेका छन् । कान्तिपुर सहकारीका सिवी लामा, काँग्रेसका जिल्ला सदस्य थर्कमान लामा पनि पक्राउ परेका छन् । विकास लामा मलद्वार सुन प्रकरणमा फरार छन् । अन्य केहि नेता पक्राउ परेका छन् । विभिन्न अपराधमा राजनीतिक दल, राजनीतिक दलका जिम्मेवार नेताहरु संलग्न हुने गरेका घटनाले आम नागरिकहरुलाई राजनीति र राजनीति गर्ने नेताहरु प्रति कस्तो दृष्टिकोण रहला ? सोचनीय विषयमा किन राजनीतिक दल र तिनका कार्यकर्ताहरुको चेत आउँदैन ?





