2026 May 26/ 05:08: 45pm

संक्रमणकालीन अवस्थाको फाईदा उठाउँदै देशका विभिन्न जिल्लामा जस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता खरिद विक्री संचालन गर्ने गिरोहका सदस्यहरुलाई अनुसन्धान गरी कारवाही गर्न ढिलाई भएको छ । नागरिकता विक्री गर्ने अभियोगमा पक्राउ परेका दुई कर्मचारीलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । अर्का अधिकृत पक्राउ नै परेका छैनन् तर उनले जारी गरेका केहि थान नागरिकता रद्द भईसकेका छन् । स्वदेशी र विदेशी नागरिकलाई अलग अलग रुपैयाँ कारोवार गराउँदै नागरिकता जारी गर्ने, त्यहि नागरिकताका आधारमा राहदानी समेत विक्री गर्नेहरुका सन्दर्भमा गृह मन्त्रालयले गरेको अनुसन्धान एउटा ब्यक्तिका लागि थियो । त्यसबाहेक जिल्लाबाट ३ सय ५० भन्दा धेरै ब्यक्तिहरुको नागरिकता अनुसुची फेला नपरेको प्रतिवेदन छ । तर पनि गृह मन्त्रालय र मातहतका निकायहरुले उक्त प्रतिवेदन, प्रतिवेदन दिएका सुझाव र अनुसूची नभएका नागरिकता र राहदानीहरुका सन्दर्भमा छानविन गर्ने चासो देखाएका छैनन् । विदेशी नागरिक निमा तामाङका नाममा जारी भएको नागरिकता रद्द गरी उनलाई पुर्पक्ष राख्ने आदेश भए पनि अन्य राहदानी तथा नागरिकता र ब्यक्तिका बारेमा छानविनका आदेश हुन सकेको छैन । प्रहरीले पनि जिल्ला प्रशासन कार्यालय काभ्रेवाट रद्द गरेर पठाएका थप नागरिकता बारेमा अनुसन्धान अघि बढाउन सकेको छैन । 
    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा  ३२ बमोजिम नागरिकता र राहदानी सम्बन्धी कसुर जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको पत्र जाहेरीले नेपाल सरकार वादी भई काठमाडौ, काठमाडौं महानगरपालिका वडा नम्वर २६ कपुरधारामा बस्ने दावा क्षिरिङ नेपाली नाम निमा तामाङ, बारा जिल्ला निजगढ नगरपालिका वडा नम्वर १२ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ३२ बस्ने ४७ बर्षीय झपेन्द्रराज खरेल र गुल्मी घर भई ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्वर ५ बस्ने रामचन्द्र अर्याल विरुद्ध राहदानी र नागरिकता कसुर विरुद्ध जाहेरी जाहेरी दर्ता गरिएको थियो । अवैध सुन पैठारी तथा संगठित अपराध मुद्दाको अनुसन्धानको सिलसिलमा पक्राउ परेका बेल्जियम नागरिक तथा चिनियाँ नागरिकहरुले झुठ्ठा तथा कीर्ते कागजातहरु निर्माण गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नेपाली नागरिकताको प्रमाणपत्र बनाई सोही कीर्ते नागरिकताको आधारमा नेपाली राहदानी लिएको अनुसन्धानका क्रममा फेला परेको थियो । उनिहरुका नाममा जारी भएको राहदानी तथा नेपाली नागरिकताको सक्कल तथा नक्कलका आधारमा उनिहरुलाई कर्मचारीहरु समेतको गिरोहले नागरिकता र राहदानी उपलब्ध गराएका थिए । बेल्जियम नागरिक राहदानी नम्वर जिए ४५९७३६४ बाहक दावा छिरिङगको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट निमा तामाङको नामबाट नेपाली नागरिकता ३०–०१–७४–११८६८ नम्वरको २०७४ पुष २० गते लिएका थिए । 
    त्यसरी लिएका नागरिकताबाट विदेशीले कस्तो धन्दा चलाउँदा रहेछन भन्ने कुराको निमा उदाहरण मात्रै हुन् । स्वदेशी नागरिकले पनि नागरिकता किनेर चलाउने धन्दा राजु गुरुङ काफी छन् । उनिहरु स्वयम् नागरिकता खरिद गरेको बयान दिईरहेका छन् । गृह मन्त्रालय नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले गरेको अनुसन्धान, छानविन समितिका प्रतिवेदन तथा विभिन्न संचारमाध्यमको निरन्तर समाचार प्रकाशन पछि सुन पैठारीमा पुर्पक्षका लागि कारागार रहेका दावा सहित नागरिकता र राहदानी उपलब्ध गराउन भूमिका खेल्ने कर्मचारीहरु उपर कारवाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंजले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई २०८० भदौ ११ गते पत्र लेखेको थियो । सोहि पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले शुरु गरेको अनुसन्धान तथा दर्ता गरेको मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनछेक आदेश गरेको छ । प्रहरीले उक्त मुद्दाको अनुसन्धानका क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारी सहित अधिकृतहरु समेत गरी २९ जनासँग बयान लिएको छ । अधिकृत भुपेन्द्र पाण्डेयले विक्री गरेका नागरिकताको अनुसन्धान अझै शुरु भएको छैन । उनले जारी गरेका दर्जनौ नागरिकता नक्कली छन् ।