दैनिक मोटरसाईकल चोरी हुन थाले पछि प्रहरीले काभ्रेका विभिन्न पालिकाहरुमा सर्च अभियानलाई तिब्र बनाएको छ । नियमित चेकजाँचका क्रममा मोटरसाईकल चोरी गर्ने मध्येका केहिलाई नियन्त्रणमा लिन सफल भए पनि प्रहरी गिरोहसम्म पुग्न सकेको छैन । जिल्लाका विकट पालिकाका ग्रामीण क्षेत्रहरु तथा छिमेकी जिल्लाका विकट क्षेत्रमा चोरीका सवारी साधन पु¥याउने र त्यसको नम्वर तथा अन्य संरचनाहरु परिवर्तन गरी चलाउने गरेको खुलासा भएको छ । तर स्थानीय प्रहरीले स्थानीयहरुलाई चेकजाँच गर्दा कागजात नदेखाउने, देखाए पनि नक्कली देखाउने, सकेसम्म प्रहरीको आँखामा छारो हाल्ने, प्रहरीको जनशक्ति पनि कम हुने कारण ग्रामिण भेगमा पुगेका चोरीका सवारी साधन नियन्त्रणमा लिन सकिएको छैन । प्रहरीले त्यसलाई फरक ढंगबाट अनुसन्धानको योजना बनाए पनि कार्यान्वयन हुन नसक्दा चोरी अभियोगमा संलग्नहरुको मनोबल बढ्न थालेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारीक नगर बनेपाबाट अत्याधिक मोटरसाईकल तथा स्कुटर चोरी हुन थालेका छन् । श्रृंखलाबद्ध चोरी हुन थाले पनि प्रहरीले गिरोह पत्ता लगाउन सकेको छैन । फाट्टफुट्ट फेला पर्ने चोर तथा गिरोहका सदस्यहरुको मुख्य जरोसम्म पुग्न नसकेको प्रहरीका सामु मोटरसाईकल चोरी नियन्त्रण चुनौती बन्दै गएको छ । ईलाका प्रहरी कार्यालय बनेपाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको २०८० भदौ देखि २०८१ जेठ ८ गतेसम्म बनेपा क्षेत्रबाट मात्रै ६९ वटा मोटरसाईकल तथा स्कुटर हराएका छन् । जसमध्ये १६ वटा फेला परेका छन् । जेठ महिनामा पनि धमाधम मोटरसाईकल चोरी हुने, चोर सहित बरामद हुने क्रम बढेको छ । जिल्लाको तथ्याङ्कमा करिब १ सयभन्दा धेरै मोटरसाईकल यो अवधिमा हराएका छन् । प्रहरीले मोटरसाईकल ग्यारेजका संचालक, कवाडी पसल तथा मोटरसाईकल पार्टपुर्जा विक्री गर्ने पसलका ब्यवसायीहरुलाई समेत आवश्यक सोधपुक्ष गरेको थियो । मोटरसाईकल चोरी गर्ने गिरोहले सिधै मोटरसाईकल नम्वर प्लेट परिवर्तन गरी विक्री गर्ने, पार्टपुर्जाहरु अलग अलग पारी विक्री गर्ने तथा ग्रामीण भेगमा पठाउने गरिएको खुलासा भए पनि प्रहरीले हालसम्म गिरोह पत्ता लगाउन र चोरी नियन्त्रण गर्न सकिरहेको छैन । ईलाका प्रहरी कार्यालय बनेपा मात्रै होईन जिल्ला प्रहरी कार्यालय र मातहतका निकायहरु पनि चोरी नियन्त्रण गर्न असफल जस्तै देखिएका छन् । प्रहरीले भोगिरहेको मुख्य चुनौती नै त्यहि छ । जिल्लाबाट हराएका वा अन्यत्रबाट हराएका मोटरसाईकल तथा स्कुटर चोरी गर्ने अलग अलग ब्यक्ति छन् कि ? गिरोह नै छ ? गिरोह छैन भने किन पक्राउ परेका ब्यक्तिहरु जुन मोटरसाईकल सहित पक्राउ परेका छन् अरुका बारेमा खुलाउन चाँहदैनन् वा गिरोहका बारेमा भन्न चाँहदैनन् ? प्रहरीले गिरोहसम्म पुग्ने गरी अनुसन्धान गर्न सक्दैन् ? वा गर्न चाहेको छैन । एकै रात वा दिउँसै पनि विभिन्न स्थानबाट चारवटा समेत मोटरसाईकल चोरी हुने गरेका छन् । चोरी भएका सवारी साधन तत्काल कसरी अन्य स्थानमा सहि सलामत पु¥याईन्छन् ? एकै दिन फरक फरक समयमा चोरी भएका मोटरसाईकल एउटा ब्यक्तिले लैजान सक्ने सम्भावना हुन सक्छ ? प्रहरीले पक्राउ गरेका ब्यक्तिहरुबाट थप अनुसन्धान गरिरहेको भए पनि तथ्य र चुरोमा पुग्न भने कठिन छ ।
भर्खर १८/१९ वर्षका युवाहरु चोरीमा किन संलग्न भईरहेका छन् ? बेरोजगार मात्रै प्रमुख समस्या हो वा समाजले दिएको शिक्षा र सँस्कार ? हामी कस्तो समाज निर्माण गर्दै छौं ? विकास भनेको पूर्वाधार मात्रै हो ? युवाहरु गलत बाटोमा किन हिड्न बाध्य भईरहेका छन् वा बाध्य पारिएका छन् ? राज्यका निकायहरुले सोच्नु पर्ने गम्भीर विषय छन् ।





