एमालेजनहरु यतिबेला अधिबेशनको तयारीमा जुटेका छन् । समयमा पार्टी अधिबेशन गरेर सांगठनिक कामलाई चुस्त, दुरुस्त बनाउँदै संगठनका भरमा जनताको मन जित्ने पार्टीका रुपमा चिनिएको एमालेले अधिबेशनबाट नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वसामु पार्टी सुदृढिकरण, शुद्धिकरण र सशक्तिकरणको चुनौती त छ नै एमालेले विगत देखि शुरु गरेको समृद्ध काभ्रे, सुखी काभ्रेलीको सपना पुरा गर्ने अभिभारा छ । सँगै आगामी २०८४ मा हुने तीन तहकै निर्वाचनमा एमाले नेतृत्वका उम्मेदवारलाई विजयी बनाउन पार्टीका नीति, सिद्धान्त, कार्यक्रम र विचारलाई सशक्त रुपमा नागरिकका तहसम्म पु¥याउनु छ । संसदीय निर्वाचनमा कुनैबेला एकछत्र राज गरेको एमाले काभ्रे खुम्चँदै खुम्चँदै झिनो सिटहरुमा सन्तुष्ट मान्न बाध्य छ । एमाले विरुद्ध बनेको मोर्चाबन्दीका बाबजुत पनि प्राप्त जनमतका हिसाबले एमाले पहिलो पार्टी हो । तर पनि नेतृत्वदायी भूमिकामा रहँदा र नरहँदा एमालेले मात्रै होईन आम काभ्रेलीहरुले त्यसको असर ब्यहोरेका छन् । एमाले नेतृत्वले शुरु गरेका विकास अधुरा छन् । अलपत्र परेका छन् । नागरिकहरुको सुख दुःखको सारथी बन्ने सशक्त पार्टी एमाले प्रति जिल्लाबासीहरुको आशा र भरोसा छ । त्यहि उत्साहजनक आशा र भरोसालाई पार्टी नेतृत्वले सम्पत्तिका रुपमा लिदै अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नु पर्ने चुनौती छ ।
कुनैबेला कम्युनिष्ट पार्टी अनि त्यो पार्टीका नेता तथा कार्यकर्ता भने पछि नागरिकहरु सम्झन्थे विचारमा छुरा झै कडा हुन्छन् । संगठनमा प्रतिबद्ध हुन्छन । संगठक कार्यकर्ताले बचाएको पार्टी नेकपा एमाले भनेर विश्लेषण पनि हुन्छ । तर विस्तारै एमालेको संगठन भित्र धमिरा लाग्न थालेको महसुस कार्यकर्ताले गर्न थालेका छन् । नेताहरु पनि विचारमा धार मरेको खुकुरी जस्तै भुत्ते हुन थालेका छन् । घण्टौ भाषण गरेर नथाक्ने नेताहरु १० मिनेट बोल्न नसक्ने गरी विचारमा कमजोर बन्न थालेका छन् । पार्टीको मुल सिद्धान्त जनताको बहुदलिय जनबाद भन्ने तर त्यहि विचार र सिद्धान्तले गरेको ब्यवस्थालाई ब्यक्तिगत तुष्टिका रुपमा लिन थालेका छन् । पद, शक्ति र आशक्तिलाई महत्व दिन थालेका छन् । ब्यक्तिगत मपाईत्वमा रमाउन थालेका छन् । आफुले पाए सबै ठिक, पार्टी राम्रो । त्यहि पद र जिम्मेवारी वा अवसर दोश्रो ब्यक्तिले पाउने वितिक्कै सबै खत्तम भन्ने परिपाटी विकास हुन थालेको छ । जीवनभर पार्टीले दिएका लाभका पदमा बस्नेहरु नै पार्टीलाई सत्तोसराप गरेर अन्यत्र मोडिन थालेका छन् । कतिसम्म भने अधिबेशनको संख्या एमालेकै जस्तो, विचार एमालेले लिएको जबज नै, दिवस तथा कम्युनिष्ट पार्टीका दर्शनहरु पनि एउटै तर पार्टी अलग अलग । एमालेबाट टुक्रिएको अर्काे कम्युनिष्ट पार्टीका नामका नेताहरुको अवसरवाद जस्तै यो अधिबेशनले कतै त्यस्तै नेतृत्व र नेताहरुको चयन त गर्दै छैन ? छनौट हुने प्रतिनिधीहरुले चयन गर्नुपर्ने नेतृत्वका बारेमा मनन गर्नु वान्छनीय हुनेछ ।
२०८१ जेठ २८–३० सम्म धुलिखेलमा हुने ११ आंै जिल्ला अधिबेशनका धेरै चुनौती छन् । जिल्ला अधिबेशन पार्टी जीवनको नियमित कार्यको अलावा पार्टीले अघी सारेको नमुना काभ्रे, सम्बृद्ध काभ्रेलीको परिकल्पनालाई साकार पार्न थप योजना निर्माण गर्नु पर्नेछ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, गरिबी निवारण तथा मुलुकले लिएको दिगो विकास लक्ष्यका योजनाहरु कार्यान्वन गर्न नेतृत्वदायी भूमिका खेल्न सक्ने मुल नेतृत्व चयन गर्नु पर्नेछ । त्यसका लागि आम जनता र कार्यकर्ता परिचालन गर्न सक्ने, कार्यकर्ता र जनतालाई विचारले सुसुचित गर्न सक्ने नेतृत्व आवश्यक छ । न कि कसैले भनेकै आधारमा, कसैलाई खुशी बनाएकै आधारमा चयन हुने नेतृत्वले यि कार्यभार पूरा गर्न सक्छ ? सक्छ त केवल भट्टिमा खारिएको इट्टा झै विचार, सिद्धान्त र संगठनका हिसाबले भरिलो, जोसिलो र शशक्त नेतृत्वले मात्रै सक्छ । एमाले काभ्रेको अधिबेशनले त्यस्तै नेतृत्व चयन गर्न सकोस । शुभकामना ।





