2026 April 20/ 04:09: 39pm

काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता खरिद विक्री गर्ने समूहका केहि ब्यक्तिहरु जेल गएका छन् । विदेशीलाई नागरिकता विक्री गरेको अभियोगमा प्रहरीले संगठित अपराधमा अनुसन्धान जारी राखेको भए पनि स्वदेशी नागरिकलाई नागरिकता विक्री गरेको अभियोगमा अझै पूर्ण अनुसन्धान हुन सकेको छैन । केहि नागरिकहरुले दिएको बयानका आधारमा संगठित अपराधमा पक्राउ परेका अधिकृतहरु पुर्पक्षका लागि जेल गए पनि ३ सय ५० भन्दा धेरै ब्यक्तिहरुलाई नागरिकता विक्री गरेको अभियोगमा अझै अनुसन्धान हुन सकेको छैन । प्रहरीले पक्राउ परेकाहरुबाट लिएको बयानले पनि नागरिकता खरिद विक्रीमा कर्मचारीहरुको समुह सहित गिरोह नै सक्रिय रहेको पुष्टि भएको छ । नागरिकता खरिद विक्री गर्ने शंसयका बीच जिल्लामा कानून बाधक देखाउँदै सात महिना देखि बास्तविक नागरिकहरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । 
    नागरिकता सम्बन्धी सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ । कानुनतः प्रमुख जिल्ला अधिकारीले दिएको अधिकार प्रयोग गरेर नागरिकताका लागि अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी लगायतले निर्णय गर्न सक्छन् । कानून अभाव देखाउँदै निर्णय गर्न पनि अधिकार नदिने अनि आफुले पनि निर्णय नगरेका कारण काभ्रेमा १ सय ५० भन्दा धेरै नागरिकले नागरिकताका लागि दिएको आवेदनमा निर्णय हुन सकेको छैन । अधिकांशलाई प्रहरी प्रतिवेदन, स्थानीय सर्जिमिन मुचुल्का र आवश्यक कागजात मागिएको छ । नागरिकहरुले त्यसमा पनि दुःख गरेर नै कागजात तयार गरेर बुझाउँदा पनि नागरिकता पाउन नसकेको गुनासो सुनिन थालेको छ । गुनासो बोकेर गृह मन्त्रालय समेत पुगेका नागरिकहरुले तत्काल निर्णय गर्न अपिल गरेका छन् । नागरिकतामा निर्णय हुने आशै आशमा केहि नागरिकले ज्यान गुमाएका छन् । केहिले आत्महत्याको प्रयास गरेका छन् । प्रमुख जिल्ला अधिकारीले कानून, कागजी प्रकृया देखाउँदै सात महिना देखि निर्णय गर्न नसकेका जटिलताहरु हटाउन नसक्दा नागरिकहरु असन्तुष्ट बन्न थालेका छन् । नागरिकहरुका समस्यामा जिल्लाका राजनीतिक दलहरु समेत मौन देखिएका छन् । 
    नागरिकता प्राप्त गर्न नसकेका जिल्लाबासीहरु कि नेपाली नागरिक हैन भन्नु प¥यो, नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता दिने निर्णय नहुँदा भोग्नु परेका कयन पीडा कसलाई सुनाउँ भन्दै जिल्ला प्रशासन कार्यालय परिसरमै डाँको छाडेर रुन थालेका छन् । महिनाको चार पटक जति पुगें, कहिलेकाँहि भेट हुँनै सकेन । दगुर्दा दगुर्दा थकित भई सक्यौं । बाबुको नाम खुलेको छ तर बाबु देखेकै छैन, आमाको नामबाट नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयले माग गरेका सबै कागजातहरु तयार गरी बुझाएको छु । अझै नागरिकता प्राप्त गर्न नसकेको भन्दै नागरिकहरुले गुनासो सुनाउन थालेका छन् । नागरिकता नहुँदा एउटा नागरिकले रोजगार स्वदेशमा नपाउने त छँदै छ विदेश जान पनि नसकेको, लाईसेन्स बनाउन नपाएको, अध्ययन गर्न नपाएको जस्ता समस्या झेल्दै आएका छन् । आमाको नागरिकता, सात जनाले गरेको साक्षी मुचुल्का, प्रहरी प्रतिवेदन, लालपुर्जा नभए पनि बार्षिक तिरो तिरेको मामा घरको रसिद, मामा र माईजु अनि मामाघरको हजुरबुबाको नागरिकताको फोटो कपि लगायतका कागजताले पनि नागरिकता प्राप्ती हुन सकेको छैन । नागरिकहरुले प्रश्न गर्न थालेका छन् अब कुन कागज र कानूनले बन्छ नागरिकता ? 
    नागरिकता पाउँ भन्दै अदालत पुगेकाहरुलाई पनि दिन तोकेरै नागरिकता सम्बन्धी जवाफ दिन आदेश हुन थालेको छ । थुप्रै ब्यक्तिका समस्यामा प्रशासनले कानूनमा भएका आधारहरु लिएर निर्णय गर्न नसकेको कि कानून मै त्रुटी देखिएको ? कानूनको अभाव कि निर्णय ? नागरिकहरुले प्रश्न गर्न थालेका छन् । नागरिकतामा देखिएका जटिलताको समयमै निकास दिने कि ?