सरकारको अदूरदर्शी निर्णय र नीतिका कारण नेपालमा पशुपालन ब्यवसाय संकटमा पर्न थालेको छ । युवाहरु विदेश पलायन हुन थालेका छन् । सरकारले पशुपालन ब्यवसायलाई संरक्षण र प्रर्वद्धन गर्न सकेन भने नेपालमा आत्मनिर्भर हुन थालेको पशुपालन क्षेत्र थप संकटमा जानेछ । महिनौ कृषकहरुले उत्पादन गरेको दुधको भुक्तानी नगरेको सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई दिएको अनुदान पनि पारदर्शी छैन । पहुँचवालाहरुले अनुदानलाई दुरुपयोग गरेका छन् । अनुदान प्राप्त गर्ने उद्देश्यले मात्रै पशुपालन गरेकाहरुले राज्यका नीति परिवर्तन गर्ने हैसियत राख्छन् । थोरै लगानीमा ऋण गरेर पशुपालन गर्न स्वदेश फर्केका युवाहरु भने राज्यको अनुदार नीति, अंरक्षित ब्यवहारका कारण पलायन हुन बाध्य छन् ।
मासुमा आत्मनिर्भर, दुध तथा दुधजन्य उत्पादनमा समेत आत्मनिर्भर भएको काभ्रेपलाञ्चोक जिल्ला विस्तारै परनिर्भर हुने अवस्थामा पुग्न थालेको छ । नेपालमै पहिलो पटक डेरी संचालन गरी कृषकहरुलाई ब्यवसायिक पशुपालनतर्फ उन्मुख गराउने औपचारिक शुरुवात गरेको काभ्रेपलाञ्चोक जिल्लाका कृषक तथा दुग्ध ब्यवसायी पलायन तर्फ उन्मुख भएका छन् । काभ्रेपलान्चोक जिल्लामा दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो पटक २००९ सालमा नै शुरु भएको थियो । सरकारले दुग्ध खरिद मात्रै रोकेको छैन, खरीद गरेको दुग्धको भुक्तानी समेत गरेको छैन । पटक–पटक सरकारको ध्यानाकर्षण गरेको भए पनि भाका सारेको सा¥यै छ । काभ्रेपलाञ्चोक जिल्लाका कृषकहरुले उत्पादन गरेर विक्री गरेको दुग्धको माघ मसान्तसम्म मात्रै करिब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । फागुन महिनाको जोड्दा थप केहि करोड भुक्तानी हुन्छ । उपभोक्ताहरुले दुग्ध खरीद गरेर मुल्य तिरेकै छन् । सरकारको कम्पनीले खरिद गरेको दुधको भुक्तानी नहुँदा निजी क्षेत्र समेत हच्किएको छ । कृषकहरुले कृषि मन्त्रीको राजीनामा मात्रै मागेका छैनन् । सरकारले निर्वाध खुल्ला सिमा मार्फत आयात गरेको दुध बन्द गर्न माग गरेका छन् । कृषि ब्यवसायमा संलग्न कृषकहरु पलायन हुनुको विकल्प छैन । दुध बिक्री हुँदैन । भएको दुधको भुक्तानी छैन । पशुपालनका लागि आवश्यक पर्ने खाद्य सामाग्रीको मुल्य आकाशिएको छ । लम्पी स्किनबाट अरबौको क्षती भएको छ । विमा गरिएका पशुहरुको भुक्तानी हुँदैन । कृषकहरुले अर्काे पशु किन्न सकेको छैन । पशु आहारको मुल्य आकाशिएको छ । विदेशबाट केहि गर्छु भन्ने उद्देश्य लिएर स्वदेश फर्किएको युवा पुनः विदेश जान बाध्य छ ।
२०६७ सालमा दुधमा आत्मनिर्भर घोषणा भैसकेको काभ्रेपलाञ्चोक जिल्लामा उत्पादित दुग्ध विगत एक वर्ष देखि विक्री हुन सकिरहेको छैन । दुग्ध विकास संस्थान तथा निजी डेरीहरुले २ देखि ४ महिनाको दुग्ध विक्री गरेको भुक्तानी रकम दिएका छैनन् । दुध विक्रीबाट प्राप्त हुने भुक्तानी रकम नपाउँदा कृषकहरुलाई पशु आहारा घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सृजना भएको उनले बताए । बैंक तथा वित्तिय संस्थाहरुबाट पशुपालनमा लिएको कर्जाको साँवा व्याज किस्ता समेत रोकिएको छ । तत्काल सकारले कृषि मैत्री नीति र कार्यक्रम, आगामी वर्षको बजेटमा सहुलियत अनुदान, ब्याज तथा कृषक मैत्री कार्यक्रम ल्याउन सकेन भने मुलुकमा पशुपालन ब्यवसाय विस्थापति हुन पुग्छ । समयमै कृषकहरुका जायज माग र नीतिहरुका बारेमा सम्बोधन गरौ ।









