2026 April 20/ 03:56: 36pm

          सहकारीलाई मोहरा बनाएर ठगी गर्न पल्किएका गिरोहलाई कारवाही नहुँदा एक पछि अर्काे सहकारी संकटमा परेका छन् । सहकारीलाई ब्यक्तिगत कम्पनी बनाउँदै ठग्नेहरु खुलेआम हिडिरहेका कारण आम नागरिकहरुलाई सहकारी भनेका सबै उस्तै हुन् कि ? भन्ने भ्रम पर्न थालेको छ । अझ सहकारीको नेतृत्वमा रहेका छाता संगठनका अगुवाहरुले सहकारीमा गर्ने किर्ते कागजात, अबैद्य ऋण र बचतको कारोवारका कारण पछिल्लो समय सहकारी प्रति हेर्ने दृष्टिकोण बदलिन थालेको छ । यस्तो अवस्था आउनुमा राज्य र तिनका निकाय जिम्मेवार छन् । 
              सहकारीका कारण बैंक तथा अन्य वित्तिय क्षेत्र धरासयी हुँदै गएको अवस्थामा बचतकर्ताबाट करोडौं रकम जम्मा गरेर फरार भएका छन् । न राज्यका कुनै निकायले उनिहरुलाई कारवाही गर्छ न उनिहरुले नागरिकबाट उठाएको रकम फिर्ता गर्छन् । केहि निर्धक्क छाति फुलाएर हिडिरहेका छन् । केहि गुमनाम छन् । केहि भागिरहेका छन् । केहिले रकम फिर्ता गर्छु भन्दै दोब्बर मुल्यमा जग्गा भिडाई रहेका छन् । सहकारीप्रति देखिएको नागरिकहरुको अविश्वास, निराशा र ब्यक्तिको चरम समस्यामा राज्य गम्भिर बन्न सकेको छैन । जिल्लामा तीन तहका सरकार संचालनमा आए सँगै नागरिकहरुबाट रकम उठाएर फरार हुने सहकारीमा विनायक र अखण्ड पहिलो हुन् । दुबै सहकारीको ठेक्का रामसुन्दर कार्कीले लिएका थिए । तामझाम र बैंकको भन्दा धेरै राजश्री ठाँटका साथ संचालन भएका सहकारी केहि वर्षमै नागरिकको बचत रकम फिर्ता दिन नसकेर भाग्यो । अहिले कार्की राजधानी उपत्यकामा अर्काे सहकारी संचालन गरेर बसेको सूचना भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने कुनै पहल भएको छैन । प्रहरी कार्यालयमा दर्ता भएको उजुरी बर्षाै हुँदा पनि कार्यान्वयनमा आएको छैन । बचतकर्ताहरुले बर्षाै वितिसक्दा समेत रकम पाउन सकेका छैनन् । 
         जिल्ला अदालत काभ्रेपलाञ्चोकमा अघिल्लो आर्थिक वर्ष ६७ वटा सहकारीका मुद्दा दर्ता भएका थिए । यो वर्ष ९७ पुगेको छ । एक आर्थिक वर्षमा कर्जा असुली (लेनदेन) अभियोगमा ५७ थान मुद्दा दर्ता भएका छन् भने चेक अनादरमा १० वटा मुद्दा दर्ता भएका छन् । कर्जा असुलीमा बादी ५४ जना र प्रतिवादी ३ जना छन् भने चेक अनादारमा ७ जना बादी र ३ जना प्रतिवादी छन् । दैनिक सहकारीले रकम फिर्ता नगरी संचालकहरु फरार भएका उजुरी प्रहरीकोमा पुग्न थालेका छन् । बनेपाका संस्थागत बाहेक ब्यक्तिगत सहकारीमा पछिल्लो समय समस्या देखिन थालेको छ । बनेपाको चारदोबाटो वडा नम्वर ७ मा भब्य डेकोरेसन सहित कार्यालय राखिएको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ बर्षिय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर एक वर्ष देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहिन छन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानिआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुबै संस्थाको लेखापालका रुपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाई प्रदिप गौतम ऋण संयोजक छन् । भाई बुहारी गंगा श्रेष्ठ गौतम र भाई उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोहि सहकारीको रकमबाट अष्ट्रेलिया पठाईएको छ । द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ । पारिवारीक कम्पनी बनाईएका सहकारीका कारण भएका समस्या समाधानमा किन तीन तहकै सरकार उदासिन छन् । अनि बचतकर्ताहरुले बचतको सुरक्षा र फिर्ता कसरी पाउन सक्छन ? प्रश्न गम्भिर र जटिल छ ।