2026 April 18/ 08:55: 29pm

    सहकारीलाई सर्वसाधारण लुट्ने माध्यम बनाउन संचालकहरु विरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत भएसँगै पक्राउ परेकाहरुले राजनीतिक नेतृत्व गुहार्न थालेका छन् । संरक्षणका लागि हारगुहार गरेका संचालकहरुले बचतकर्ताहरुको रकम फिर्ता गर्ने योजना भने बनाएका छैनन् । प्रहरीले बचतकर्ताहरुको रकम फिर्ताका लागि निवेदन दिन आब्हान गरेको छ । बचतकर्ताहरु रकम फिर्ता पाउन दैनिक प्रहरीकोमा धाउने क्रम बढेको छ । गरुड जस्तै अन्य केहि सहकारीहरुले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेका छैनन् । तिनीहरुलाई कानूनी दायरामा ल्याउँदै बचतकर्ताहरुको रकम फिर्ता गर्न स्थानीय, प्रदेश र संघ सरकार तत्पर हुनुपर्छ ।
    ३७ करोड १८ लाख ३३ हजार ८ सय १४ रुपैयाँ निक्षेप दायित्व रहेको गरुड सहकारीका अध्यक्ष वासुदेव खड्काले एकल निर्णय गरी संस्थाको रकम हिनामिना गरेका हुन् । कानूनले संचालक र कर्मचारी समेतलाई दोषि देखाएको छ । बनेपा १० जनागालमा रहेको गरुड सहकारीका निक्षेपकर्ताहरुको बचत रकम फिर्ता गर्ने कार्य अनिश्चित बनेको छ । संचालक समितिका अध्यक्ष लगायतलाई तत्काल देखिएको प्रमाणका आधारमा दोषि ठहर गरी जेल चलान गर्ने आदेशसँगै बचतकर्ताहरुमा उत्साह र निराशा दुबै छाएको छ । प्रहरीले गरुड सहकारीबाट भएको अनियमितताका बारेमा अनुसन्धान गरिरहेको छ । पीडितहरुले आफुले प्राप्त गर्नु पर्ने रकम प्रमाण सहित प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरेको छ । बचतकर्ताहरुले संचालक नभेट्ने तथा कार्यालय पनि नभएको अवस्थामा आफ्नो बचत रकम फिर्ता पाउन सकस भएको छ । बचतकर्ताहरुको रकमका सन्र्दभमा संचालकहरुको चल अचल सम्पति तथा अन्य माध्यमबाट रकम फिर्ताका लागि पहल हुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रका आधारमा धुलिखेल नगरपालिका वडा नम्वर ४ घर भएका श्यामकृष्ण सुवाल सहितका ८१ जना बचतकर्ताहरुले १२ करोड ५६ लाख १५ हजार ७ सय १२ रुपैयाँ फिर्ता नदिएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले गरुड सहकारीका अध्यक्ष बासुदेव खड्का सहित १३ जनालाई सहकारी ठगीमा मुद्दा दर्ता गरेको थियो ।
    २०७४ मंसिर १६ गते देखि अध्यक्ष रहेका खड्काले डेढ वर्ष अघि देखि आफैले तलब खान श्रीमती प्रतिमा आचार्यको नाममा मासिक १ लाख रुपैयाँ लिने गरेका थिए । २०८० बैशाख ७ गतेसम्म उक्त सहकारीमा ३७ करोड १८ लाख ३३ हजार ८ सय १४ रुपैयाँ निक्षेप दायित्व छ । ४७ करोड २६ लाख ६९ हजार ८ सय ९२ ऋण लगानी छ । आफ्नै नाममा ६ करोड ४९ लाख ८५ हजार रुपैयाँ ऋण लिएका छन् । सोहि रकमबाट बनेपा १० मा श्रीमती प्रतिमा आचार्यका नाममा तथा विभिन्न स्थानमा जग्गा खरिद गरिएको, अबैध सुनमा लगानी गरेको, शेयर कारोवारमा लगानी गरेका थिए । बचतकर्ताहरुको रकमका मोज गरेका खड्काले आफ्नो अनियमिततामा संचालक र अन्य कर्मचारीलाई पनि फसाएका छन् । जेल भित्र रहेर पनि बचतकर्ताको रकम फिर्ता गरे पनि कानूनले पनि उनलाई सहजता प्रदान गर्नेछ । जेल बसेर निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न आलटाल गरेको अवस्थामा फेरी पनि उनी र उनका आफन्तको जायजेथाबाट समेत रकम असुल्न प्रहरीले थप कारवाही अघि बढाउने छ ।