धुलिखेल/योमरी पुन्हीको अवसर पारी धुलिखेलको भगवती मन्दिरमा देवीको नयाँ मूर्ती प्रतिस्थापन गरिएको छ । रोट्रयाक्ट क्लव अफ शिखलापुर, इन्ट्रयाक्ट क्लव अफ शिखलापुरको ब्यवस्थापनमा नयाँ वर्ष तथा विजया दशमीमा संचालन हुँदै आएको धुलिखेल नानी भगवतीको लागि भगवती देवीको नयाँ मुर्ती प्रतिस्थापन गरिएको हो ।
प्रसिद्ध मुर्तिकार तथा सम्पदा अभियानकर्ता रवि शाक्यले उक्त मूर्तिको निर्माण गर्नु भएको हो । प्रतिस्थापन गरिएको मुर्तिको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको थियो । विधिवत् रुपमा गरिएको प्राण प्रतिष्ठा र प्रतिस्थापन कार्यक्रममा नगर प्रमुख ब्याञ्जु लगायत स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । बाजागाजा सहित नगर परिक्रमा गराई उक्त मुर्तिको प्राण प्रतिष्ठा गरिएको हो । धुलिखेलमा आमा भगवती र नानी छोरी भगवतीका रुपमा दुई परिवारले पुुजा गर्ने चलन छ । विजया दशमीको अवसरमा चुकेजु परिवारले नानी भगवतीलाई शिखलापुर आमा भगवतीलाई भेटाउने चलन छ । नानी भगवतीलाई बाजागाजा सहित चुकेजु परिवार भगवती गुठी परिवारले आमा भगवतीलाई भेटाउने चलनलाई निरन्तरता दिईएको छ । जात्रा ब्यवस्थापन, गुठी संचालनमा समस्या हुँदै गएको स्थानीय शनि चोच्छे श्रेष्ठले बताउनु भयो । स्थानीय किसन श्रेष्ठले उक्त जात्रा ब्यवस्थापनका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनु भयो । रोट्रयाक्ट अरविन माकजुले स्थानीयहरुको सक्रियता र स्थानीय सरकारको सहयोगमा भगवती मन्दिरमा लाग्ने पर्वहरुको ब्यवस्थापन तथा मूर्ति प्राण प्रतिस्थापन भएको बताउनु भयो । नगर प्रमुख ब्याञ्जुले जात्रा ब्यवस्थापन तथा पर्व संचालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनु भयो ।









