धुलिखेल/विपी राजमार्गमा रहेका क्रसरको दादागिरीको कारण बन्द रहेको राजमार्ग पूर्ण रुपमा संचालनमा आए पनि दुई तर्फी हुन सकेको छैन । विपद्को समयमा जिल्लास्थित राजनीतिक दल, तिनका भातृ संगठन र केहि स्थानीय सरकार मौन रहे ।
विपद्का बेला स्थानीय सरकार जति सक्रिय हुनुपर्ने हो त्यति हुन सकेनन् । राजमार्ग अन्र्तगत जिल्लाको रोशी गाउँपालिका ११ काल्ढुंगा र माम्तिमा रहेको खोला सडकमै पसेपछि तीन दिनसम्म सवारी पूर्ण रुपमा चल्न सकेका थिएनन् । गत शुक्रबार विहान रोशीको मंगलटारमा खहरे खोलाले पुरेको वा १६ च ३५४९ नम्वरको चन्दन श्रेष्ठको निजी कार प्रहरीको टोलीले शनिबार दिउँसो निकालेको थियो । राजमार्ग अन्र्तगत नमोबुद्ध नगरपालिका वडा नम्वर ४ मा रहेको पशुपति रोडा ढुंङ्गा उद्योग, वडा नम्वर ५ मा रहेको लास्कोट स्थित पशुपति रोडा ढुंङ्गा उद्योग र मनकामना एग्रिगेटले उत्पादन गरेको डस्ट बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द हुन पुग्यो । त्यस्तै सोहि राजमार्गको रोशी गाउँपालिका वडा नम्वर ८ खार्पाचोकमा रहेको नाङ्गशाल रोडा ढुङ्गा उद्योग, सोहि वडाको नार्केमा रहेको गौरीशंकर क्रसर उद्योगले पनि सडकलाई पूर्ण रुपमा क्षति गराए ।
मनकामना एग्रिगेट र पशुपति रोडा ढुङ्गा उद्योगको डस्टका कारण लास्कोटका टेकनसिं तामाङ, कर्म सिं तामाङ, बुद्ध सिं तामाङ, माईलाकाजी तामाङ, भिमबहादुर तामाङ, छोईसाङ्ग तामाङ र कालदास तामाङको खेत पुरिएको छ । असार १० र असार १८ गते रोपाई गरिएको खेत पुरिएपछि टेकनसिं पुर्परोमा हात राख्दै क्षतिपूर्ति र कारवाहीको माग गर्दै प्रशासनको ध्यानाकर्षण गराएको बताए । झण्डै ३ सय मुरी फल्ने खेत पुरिए पछि स्थानीयहरुले क्रसरका मालिक द्धारिका ढुंगानालाई फोन गरेर जानकारी गराएका थिए । ‘तपाईहरु झगडा पनि नगर्नुस्, उजुरी पनि नगर्नुस् हामी क्षतिपूर्ति दिन्छौ भनेका छन्’–द्धारिकाको भनाई उदृत गर्दै कृषक टेकनसिंले भने । द्धारिकाले जे नहुनु भएपछि क्षतिपूर्ति दिनुको विकल्प नभएको बताए । नमोबुद्ध नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष समेत रहेका बुद्धसिं तामाङले समेत क्रसरलाई पटक पटक नगरपालिकामा बोलाएर ब्यवस्थित गर्न अनुरोध गरेका थिए । क्रसरकै कारण रातभर सुत्न नसकिएको स्थानीय माया तामाङले बताए । ‘रातभर क्रसरबाट बगेको लेदोले सडक पुरियो, हामी सुतिरहेको घर पनि पुरिने डरले सुत्न नसकेका हौं’–मायाले भनिन् ।
खार्पाचोकमा रहेको नाङ्गशाल रोडा ढुंगा उद्योगले खोलाकै छेउमा थुपारेको डस्टले सडक मात्रै जोखिममा परेको छैन डस्टका कारण गएको पहिरोले राजमार्ग अवरुद्ध बनाएको छ । पूर्व सभासद् तिर्थ लामाको लगानी रहेको उक्त क्रसरलाई पटक पटक मापदण्ड पूरा गर्न पत्र काटे पनि कारवाही हुन सकेको छैन । खोला, राजमार्ग र बस्तिको छेउमै रहेका क्रसर र खानीका कारण जुनसुकै बेला अप्रिय घटना हुन सक्ने चेतावनी प्रशासनले दिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे, रोशी गाउँपालिकाले शनिबार विहानै सडक खुलाउन पहल गरे पनि नमोबुद्ध नगरपालिकाले वेवास्ता ग¥यो । सडक खुलाउन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रहरी प्रमुख एसपी जयराज खड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख डिएस्पी सरोज निरौला, कोटेश्वर सुर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास आयोजनाका प्रमुख सुर्यबहादुर भाट, सशस्त्र प्रहरी बल काभ्रेका प्रहरी निरीक्षक शुभ रानाको टोली राजमार्गमा खटिएको थियो । आयोजना र प्रशासन मार्फत खोजिएका खानी र अन्य क्षेत्रका झण्डै दर्जन स्काभेटरले एकतर्फि सडक खुलाईएको थियो । क्रसरको दादागिरीका कारण पटक पटक विपी राजमार्ग जोखिममा पर्दै आएको भए पनि कुनै निकायले कारवाहीको लागि पहल गरेका छैनन ।
रोशी गाउँपालिका प्रमुख डिबी लामाले माथिको दबाब नआउने हो भने सबै क्रसरलाई कारवाही गर्ने बताए । ‘मैले पहिला पनि कारवाही शुरु गरेको हुँ तर दबाबकै कारण सकिन’–लामाले भने । वर्षातका कारण कालढुंगा र माम्तिको खोला ठुलो भएकाले दुई दिन देखि राजमार्गमै यात्रुहरु विचल्लीमा परेका छन् । केहिले मोटरसाईकल स्काभेटरमा राखेर पार गराएका थिए भने यात्रुहरु ट्रिपर चढेर खोला पार गरेका थिए । क्रसर तथा खानी उद्योग ब्यवसायी संघ काभ्रेका अध्यक्ष भरत घिमिरेले सरकारले २०७० भदौ १७ गते नयाँ मापदण्ड लागु गरी देशभरका खानी तथा क्रसर नविकरण नगरेको बताए । ‘नविकरण नभई संचालन गरेका मापदण्डले पु¥याएको क्षति ब्यहोर्न तयार छौं’–अध्यक्ष घिमिरेले भने ।
टहरा पुरिँदा महिलाको मृत्यु
भुकम्प प्रतिरोधात्मक स्कुलको पर्खाल भत्कँदा टहरामा सुतिरहेकी ६५ बर्षिया कृष्णदेवी रायमाझीको निधन भएको प्रहरीले बताएको छ ।
रोशी गाउँपालिका वडा नम्वर ११ माम्तीमा रहेको भिमेश्वर माविको पर्खाल बगेर कृष्णदेवी रायमाझी सुतिरहेको टहरा पुरिएको थियो । भुकम्प गएपछि सुरक्षित हुन्छ भन्ने उद्देश्यले टहरा बनाईएको थियो । भुकम्प पछिको पुनर्निर्माणको घरको दोश्रो किस्ताका लागि आवेदन दिएकाले पूर्ण रुपमा घर बनिसकेको छैन । पुरानो घर टहरा भन्दा ५ सय मिटर पर रहेको छ । परिवारका अन्य सदस्य त्यहि टहरामा सुत्ने गरेका थिए । श्रीमान् र छोरा अलग्गै घरमा बस्ने भएकाले उनिहरुले शनिबार विहान मात्रै घटनाका बारेमा थाहा पाए । विद्यालयले भुकम्प पछिको पुनर्निर्माणमा भवन सँगै पर्खाल पनि लगाएको थियो । ग्याविङ्ग भरेर लगाईएको पर्खाल बगाउँदा टहरा पुरिएको प्रहरीले जानकारी दिएको छ ।
‘कोक्रा’ ले बचायो बालिका
हजुरआमा र दिदीले ऐया भन्न पाएनन
विहिबार साँझबाट परेको अविरल वर्षाका कारण बनेपा नगरपालिका वडा नम्वर ३ साविक उग्रचण्डी गाविस ७ चुनातालमा बारी बगाउँदा घर भित्र रहेका दुई जनाको निधन भएको छ भने दुई जनालाई स्थानीयले जिवितै उद्धार गरेका छन् ।
‘हामी रोटी पकाउने तयारीमा थियौं, एक्कासी गल्र्याम गरेको आवाज सुनियो, हतार हतार बाहिर निस्किएर हेर्दा आफ्नै जेठानी गोमा दंगालको घर पछाडी रहेको काल्लो बारी बगाएर घर पुरिएछ’–देउरानी रिता दंगालले भनिन् –‘घर लडेको देख्ने वितिक्कै छिमेकीहरुसँग गुहार माग्यौं, तत्कालै सबै जम्मा हुनुभयो र उद्धारमा लाग्यौं ।’ घटना भएको ४/५ मिनेट पनि नहुँदै पुगेको रिताले बताईन् । ‘हतार हतार हामीले पुरिएका मान्छेहरु निकाल्ने प्रयत्न ग¥यौं, जेठानी गोमा माख्लो तल्लामा ओछ्यानमा हुनुुहँदो रहेछ, ब्लान्केट ओढेर सुतेकाले होला, ब्लान्केटमै गुटुमुटु हुनुहुँदो रहेछ । आधा टाउको बाहिर र जिउ भित्र भएकाले बाँचेकै भन्ने सोच्यौं तर उहाँ वितिसक्नु भएछ’–रिताले घटना सुनाउँदै भनिन् –‘घर भित्रको चुल्हो र मुल ढोकाको याद रहेकाले गोमाको बुहारी सुशिला दंगाल खोज्न लाग्यौं । उनी मुल ढोकामा च्यापिएको अवस्थामा आधा शरिर बाहिर र आधा भित्र भएको अवस्थामा फेला परिन् । ७ बर्षीया सुशिलाको छोरी सुहावी भित्रबाट बाहिर आउनै लाग्या पुरिईछन् भने कोक्रामा रहेकी ३ महिने छोरी जिउँदै अवस्थामा पछाडिको झ्यालबाट उद्धार भयो ।’ घर भित्र रहेका चार जना मध्ये हजुरआमा गोमा दंगाल र नातिनी सुहावीले ऐया भन्न पनि पाएनन् । बाँचेकी बुहारी सुशिलाले बचाउ बचाउ भन्दै चिच्याएकी थिईन् । उनले घर भित्र सासु र दुई छोरी मात्रै रहेको बताए पछि उद्धारमा सहज भएको थियो । त्यति भने लगत्तै उनी बेहोस भएकी थिईन् । बनेपाको शिर मेमोरियल अस्पतालमा सुशिलाको उपचार भईरहेको छ भने ३ महिने छोरी अनुस्का दाहालको उपचार सकिए पछि घर फर्काईएको छ । विहान १०.४० बजेको समयमा सुशिला खाना पकाउँदै थिईन् । सासु गोमा पानी परिरहेकाले ओछ्यानमा सुतिरहेकी थिईन् । जेठी छोरी सुहावी आमासँगै चुल्होमा थिईन् भने कान्छी काखकी ३ महिने छोरी अनुस्का कोक्रोमा थिईन् । घरलाई पहिरोले थिच्दा सुशिला छोरी लिएर बाहिर निस्कन लाग्दा ढोकामै थिचिएको बताईएको छ । गोमाका श्रीमान् रामप्रसाद दंगाल दुध लिएर बनेपामा विक्री गर्न गएका थिए भने उनका छोरा अर्थात सुशिलाका श्रीमान हरिशरण दंगाल बैदेशिक रोजगारको सिलसिलामा दुबईमा थिए । अर्का छोरा र बुहारी बनेपामा बस्दै आएका छन् । भुकम्पले घर चर्किएपछि केहि समय टहरामा बस्दै आएका रामप्रसाद दंगालको परिवार गत वर्ष देखि त्यहि चर्किएको घरमा बस्दै आएका थिए । भुकम्प पछिको पुनर्निर्माणका लागि उपलब्ध अनुदान रकमले बनेपामा घर बनाउँदै भए पनि सम्पन्न नभएकाले बस्न थालेका थिएनन् । घर पुरिएपछि अन्नपात केहि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निकालेका थिए । उक्त घर पुरिए पछि छिमेकी इन्द्र दाहालको घर पनि जोखिममा परेको छ । छिमेकी इन्द्र दाहालले जोखिमका कारण अन्यत्र बस्न थालेको बताए ।
प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई विपद्बाट सतर्क रहन नागरिकहरुलाई जानकारी गराउन र तयारी गर्न अनुरोध गरेको बताए । सुरक्षा निकाय सबै परिचालन गरि घटनास्थलमा परिचालन गरिएको प्रजिअ रानाले बताए । विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्का, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, सशस्त्र प्रहरी प्रमुख एसपी बेनु पाठक, अनुसन्धान प्रमुख सरोज निरौला आफै उद्धारमा खटिएका थिए ।
बनेपा नगरपालिकाको सहयोग
बनेपा नगरपालिकाले बनेपाको नालामा भएको दुःख घटनामा परी घाईते भएकाको उपचारमा नगरपालिकाले पूर्ण सहयोग गर्ने भएको छ भने तत्कालका लागि मृतकको अन्त्येष्टी गर्न जनही २०/२० हजार राहत स्वरुप उपलब्ध गराउने नगर प्रमुख लक्ष्मी नरसिं बादेले जानकारी दिए । विपद् पछिको उद्धारका लागि तत्काल २० हजार दिन सकिने निर्णय गरेकाले सबै नागरिक जोखिममा पर्दा त्यति रकम उपलब्ध गराउँदै आएको नगर प्रमुख बादेले बताए । उपचारका लागि नगरपालिकाले आवश्यक रगत पनि निःशुल्क उपलब्ध गराएको थियो । नगरपालिकाले प्रदान गरिने रकम पीडित परिवारलाई घरमै पुगि उक्त रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरणमा उपप्रमुख रेखा सापकोटा दाहाल, ३ नं. वडाका वडाध्यक्ष केपी दाहाल, ४ नं. वडाका वडा अध्यक्ष श्यासुन्दर श्रेष्ठ, वडा सदस्यहरु तथा स्थानीय समाजसेवी तुलप्रसाद दाहाल, रामशरण दाहाल, रामगोपाल खत्री, गोविन्दप्रसाद दाहाल, रामगोपाल कर्माचार्य, रामप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।
सहयोग हस्तान्तरणमा मृतकका श्रीमान रामप्रसाद दंगालले सरकार महसुस भएको बताउँदै तत्काल नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु अस्पतालमै पुगेर रगत उपलब्ध गराउँदै निःशुल्क उपचार गराइदिनुभएकोमा धन्यवाद दिएका थिए ।
परिवारलाई घरमै राहत
गृह मन्त्रालयले वितरण गर्ने विपद्मा परी ज्यान गुमाउनेका आफन्तहरुको परिवारलाई उपलब्ध गराईने राहत जिल्ला प्रशासन कार्यालय काभ्रेले मृतकका घरमै पुगेर उपलब्ध गराएको छ ।
शुक्रबार अविरल परेको वर्षातका कारण बनेपा नगरपालिका नाला चुनातालमा पहिरोले घर पुरिँदा ६० बर्षीया गोमा दंगाल र उनकै नातिनी ७ बर्षिया सुहावी दंगालको मृत्यु भएको थियो । शनिबार राति रोशी गाउँपालिका ११ भिमखोरीमा ६५ बर्षीया कृष्णदेवी रायमाझीको सुतिरहेको अवस्थामा विद्यालयको पर्खाल भत्किँदा निधन भएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले मृतक गोमा दंगालका पति रामप्रसाद दंगाललाई नगद जनही १ लाखका दरले २ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । रायमाझीको परिवारलाई पनि नगद १ लाख हस्तान्तरण गरिएको छ । प्रजिअ रानाले पहिरोले पुरिएको घरको अवलोकन गर्दै मृतकका आफन्तहरुलाई नआत्तिन र राज्यले आवश्यक सहयोग गर्ने बचन दिए । मृतक गोमाका छोराहरु आफन्त रमेश दंगालको घरमा किरिया बसेका छन् । ‘घर पहिरोले पुरिएको छ, भाई देवीप्रसादको घर पनि पहिरोको जोखिममा प¥यो’–पीडित रामप्रसाद दंगालले भने –‘घाईते बुहारी र ३ महिने नातिनीको उपचारमा राज्यले सहयोग गरोस् ।’ घर पुरिँदा गोमाको बुहारी सुशिला दंगाल र उनकी ३ महिने छोरी अनुस्का घाईते भएका थिए । सुशिलाको ७ बर्षिया छोरी सुहावी पुरिएकी थिईन् । घाईतेहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याईएको थियो । बनेपाको शिर मेमोरियल अस्पतालमा सुशिलाको आईसियुमा उपचार भईरहेको छ भने बच्चालाई डिस्चार्ज गरिएको छ । घाईतेहरुको उपचार बनेपा नगरपालिकाले निशुल्क गर्न अस्पताललाई पत्र पठाएको नगर प्रमुख लक्ष्मी नरसिं बादेले बताए । ‘घाईतेको अवस्था खतरामुक्त छ’–अस्पतालले भन्यो–‘धुलोले निमोनिया र शरीरको तल्लो भाग फ्याक्चर भएकाले आईसियुमा राखेर उपचार गरिएको छ ।’ दंगाल परिवारलाई नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखा, जिल्ला प्रकोप ब्यवस्थापन समिति लगायतको तर्फबाट आवश्यक सामाग्री उपलब्ध गराईएको छ । राहत वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, विष्णु दल गणका गणपति सुबास खड्का, राष्ट्रिय अनुसन्धानका डिएस्पी सरोज निरौला, रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधान लगायत घटनास्थल पुगेका थिए ।
विदेश रहेका गोमाका जेठा छोरा हरिशरण दंगाल आईतबार नेपाल फर्किएर आमाको किरियामा छन् । प्रजिअको टोलीले अस्पताल पुगेर घाईतेको अवस्थाका बारेमा जानकारी लिएको थियो ।
पहिरोको उच्च जोखिम
जिल्लाभर पहिरोको उच्च जोखिम बढेको छ । ग्रामिण भेग जाने सडक मात्रै नभई विपी राजमार्ग समेत पानीकै कारण अवरुद्ध भयो । ग्रामिण भेगका धेरै सडकहरु अवरुद्ध भए सँगै पहाडी क्षेत्रका घरहरु जोखिमा छन् । पहिरोले केहि घरका मान्छेहरुलाई अन्यत्र पठाई सकिएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए । बेथान्चोक, कोशिपारी र डाँडापारी क्षेत्र बर्षातका कारण प्रभावित भएको छ ।





