पनौती/पनौती नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ।आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ ।
पनौती नगरपालिकाका १२ वटै वडामा रहेका १४ वटा स्वास्थ्य संस्थाले नागरिकलाई आधारभूत तहको स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। नगरपालिकाले खोपासीमा आधारभूत अस्पतालसमेत सञ्चालन गरिरहेको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा विन्दुका रूपमा नगर अस्पताल तथा स्वास्थ्य संस्थालाई समेत तोकेपछि पनौतीका दुईवटा स्वास्थ्य संस्थाबाट नागरिकले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेका छन् । तर, रिफरल सेवा मात्रै उपलब्ध गराउँदा नागरिकले झन्झट व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभित्र प्रदान भइरहेको स्वास्थ्य सेवाबाट नागरिक सन्तुष्ट हुने गरी काम गर्न स्वास्थ्य संस्थाका प्रमुखहरूलाई निर्देशन दिइएको छ । ‘नागरिकलाई सहज, सरल र झन्झटरहित सेवा प्रदान गर्न ध्यान दिनुस्’–नगर प्रमुख भण्डारीले भने – ‘बालमैत्री, पोषणमैत्री, महिला तथा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्नुस् ।’ नगर प्रमुख भण्डारीले पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगको महामारी फैलिँदै गएको भन्दै यसको सचेतना र रोकथाममा विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नगर उपप्रमुख गीता बञ्जाराले सरकारले उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको, दीर्घरोगको उपचारमा असहजता रहेको तथा नसर्ने रोगको महामारीका कारण नागरिक आक्रान्त बनेको बताइन् । मानसिक स्वास्थ्य गम्भीर समस्याका रूपमा देखापरेको भन्दै उपप्रमुख बञ्जाराले नगरपालिकाले २०७५ सालदेखि यसको न्यूनीकरणका लागि गर्दै आएको प्रयास सकारात्मक भए पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या थप जटिल बन्दै गएको बताइन् । सुगर, प्रेसर, क्यान्सर, मानसिक स्वास्थ्यलगायतका रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा स्थानीय सरकारले स्वास्थ्यका सूचकांक पूरा गर्नुपर्ने बताए ।
‘स्वास्थ्यका सूचकांक कहाँ छन ? तीन वर्षमा नगरपालिकाको स्वास्थ्य अवस्था कहाँ पुग्यो ? भन्दै उनले त्यसको समीक्षा गर्न आग्रह गरे । आगामी योजनामा पनौती नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निर्वाह गरिरहेको भूमिकाका विषयमा समेत गम्भीर छलफल गर्नुपर्ने उनले बताए । श्रेष्ठले सर्ने तथा नसर्ने रोग, विपद्पछिको अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने रोग, स्वास्थ्य जनशक्तिको अवस्था तथा व्यवस्थापन, तालिमलगायतका विषयलाई आगामी योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली, स्वास्थ्य शाखा प्रमुख जनक केसी, विभिन्न शाखाका प्रमुख तथा स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा पनौती नगर क्षेत्रमा स्वास्थ्य क्षेत्रमा भएका गतिविधि, त्यसले पारेको प्रभाव तथा आगामी योजनाका विषयमा छलफल गरिनेछ । स्वास्थ्य शाखा प्रमुख जनक केसीले पनौती नगर क्षेत्रको स्वास्थ्य अवस्थालाई थप सुदृढ बनाउने गरी समीक्षा गर्दै आगामी योजना निर्माण गरिने बताए ।









