धुलिखेल, पातलेखेत/धुलिखेल नगरपालिका–११, पातलेखेतस्थित हनुमान माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ आफ्नो ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक अवस्था, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराए । उनले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विद्यालयले पछिल्लो समय गरेका विभिन्न प्रयास, नवीन अभ्यास र सुधारका कार्यक्रमबारे विस्तृत रूपमा प्रकाश पारे ।
प्रमुख अतिथि जंगमले धुलिखेल नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले नगरपालिकाले विद्यालयको भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण प्रणाली, दक्ष जनशक्ति व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे । कार्यक्रममा धुलिखेल–११ का वडा अध्यक्ष नारायण बडाल, नगरपालिकाका शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, पूर्व वडा अध्यक्ष विष्णु धिताल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विभिन्न पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने नृत्य तथा गीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सोहि अवसरमा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । साथै विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने संघ–संस्था तथा व्यक्तित्वहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिनासहित विभिन्न व्यक्तित्वहरू सम्मानित भएका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरीले धुलिखेल नगरपालिकाले नगरभित्र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दीर्घकालीन योजना अघि बढाएको जानकारी दिए । उनले नगर क्षेत्रभित्र चार वटा ‘बिग विद्यालय’ स्थापना गर्ने तयारी भइरहेको बताउँदै त्यसका लागि आवश्यक गृहकार्य तीव्र रूपमा अगाडि बढाइएको उल्लेख गरे । उनका अनुसार ती विद्यालयहरूलाई आधुनिक पूर्वाधार, दक्ष शिक्षक, प्रविधिमैत्री शिक्षण प्रणाली तथा गुणस्तरीय शैक्षिक वातावरणसहित नमुना विद्यालयका रूपमा विकास गरिने लक्ष्य रहेको छ ।
विद्यालयले ६४ वर्षको यात्रामा हासिल गरेका उपलब्धिलाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । वार्षिकोत्सवले विद्यालय, अभिभावक, स्थानीय समुदाय तथा सरोकारवाला निकायबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए ।









