धुलिखेल/काठमाडौं विश्वविद्यालय (केयू) ले ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) आगामी असार १९ गते शुक्रबार धुलिखेलस्थित केन्द्रीय परिसरमा आयोजना गर्ने भएको छ । समारोहमा विभिन्न सातवटा स्कुल अन्तर्गत अध्ययन पूरा गरेका १ हजार ५२७ विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ । विश्वविद्यालयको १०२ औँ सभाले दीक्षान्त समारोह सम्बन्धी प्रस्ताव अनुमोदन गरेपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. हृषीकेश वाग्ले, रजिस्ट्रार प्रा.डा. राजीव श्रेष्ठ र प्रवक्ता डा. उद्धवप्रसाद प्याकुरेलले समारोहको तयारी तथा विशेषताबारे जानकारी दिएका हुन् ।
उपकुलपति प्रा.डा. हृषीकेश वाग्लेले काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षालाई थप सुदृढ बनाउँदै अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षामा निरन्तर जोड दिइरहेको बताए । यसपटकको दीक्षान्त समारोह विश्वविद्यालयका लागि विशेष रहेको उल्लेख गर्दै उनले विश्वविद्यालयको इतिहासमै पहिलोपटक केही नयाँ शैक्षिक कार्यक्रमका विद्यार्थीले पनि उपाधि प्राप्त गर्न लागेको जानकारी दिए । उनले मेडिकल साइन्सेजअन्तर्गत नयाँ शिक्षण अस्पताल निर्माण प्रक्रिया अघि बढेको र त्यसका लागि एसियन डेभलपमेन्ट बैंक (ब्म्द्य) ले ४ अर्ब रुपैयाँ लगानी गर्ने सहमति भएको जानकारीसमेत दिए । उनका अनुसार २ अर्ब रुपैयाँ अनुदान र २ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुने उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढिसकेको छ । रजिस्ट्रार प्रा.डा. राजीव श्रेष्ठले दीक्षान्त समारोह बिहान १० बजेदेखि विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजना हुने जानकारी दिए । उनका अनुसार भारतस्थित डेक्कन कलेज पोस्ट–ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा.डा. भूषण पटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्नेछन्। समारोहको अध्यक्षता शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नेछन् । प्रवक्ता डा. उद्धवप्रसाद प्याकुरेलले यसपटक १ हजार ५२७ विद्यार्थी दीक्षित हुने जानकारी दिए । उनका अनुसार स्कुल अफ मेडिकल साइन्सेजका ५०४, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ साइन्सका २०७, स्कुल अफ आट्र्सका १६१, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ एजुकेशनका ११२ तथा स्कुल अफ लका ४२ विद्यार्थी दीक्षित हुनेछन् ।
दीक्षित हुनेमध्ये २१ जना विद्यावारिधि, ९३ जना अनुसन्धानमुखी स्नातकोत्तर, २७९ जना स्नातकोत्तर, दुई जना स्नातकोत्तर डिप्लोमा र १ हजार १३२ जना स्नातक तहका विद्यार्थी रहेका छन्। ८०० जना पुरुष र ७२७ जना महिला विद्यार्थी दीक्षित हुनेछन् भने अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलङ्का, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ विदेशी विद्यार्थीले पनि उपाधि प्राप्त गर्नेछन्। यो संख्या कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत रहेको र अघिल्लो दीक्षान्तको तुलनामा करिब ५० प्रतिशतले बढी भएको विश्वविद्यालयले जनाएको छ । डा. प्याकुरेलका अनुसार यसपटक विश्वविद्यालयको इतिहासमै पहिलोपटक ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स, डक्टर अफ मेडिसिन इन नियोनेटोलोजी तथा मास्टर अफ साइन्स इन मेडिकल बायोकेमिस्ट्री एन्ड मोलिकुलर बायोलोजी कार्यक्रमका विद्यार्थीलाई पनि उपाधि प्रदान गरिनेछ । दीक्षान्त समारोहसँगै काठमाडौं विश्वविद्यालयबाट हालसम्म स्नातक हुने विद्यार्थीको संख्या ५१ हजार ५६७ पुग्नेछ। तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन विश्वविद्यालयबाट हालसम्म स्नातक भएका कुल विद्यार्थीको करिब १२ प्रतिशत हो ।
समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई स्वर्ण पदक पनि प्रदान गरिनेछ । स्नातक तहमा सर्वाधिक सीजीपीए प्राप्त गर्ने रिश्ता श्रेष्ठ उपकुलपति स्वर्ण पदकबाट सम्मानित हुनेछन् भने स्कुल अफ एजुकेशन अन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सर्वाधिक सीजीपीए हासिल गर्ने अन्जु कुमारी महेशनाथ पराजुली स्वर्णपदकबाट सम्मानित हुने विश्वविद्यालयले जनाएको छ ।









