2026 June 26/ 12:22: 26am

    बनेपा/बनेपा नगरपालिकाको १८ औँ नगर अधिवेशको पहिलो बैठक सम्पन्न भएको छ । अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १ अर्ब २१ करोडको बजेट प्रस्तुत गरेको छ । 
    नगरको समग्र विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार निर्माण, वातावरण संरक्षण तथा रोजगार प्रबद्र्धनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाले विगतका वर्षहरूमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षलाई विकास र समृद्धिको वर्षका रूपमा अगाडि बढाइने बताए । नगरवासीको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखी बजेट तथा कार्यक्रम निर्माण गरिएको शाक्यले बताए । शाक्यले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोगमार्फत नगरलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक रूपमा थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे । नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिक कृषि प्रवद्र्धन, युवा उद्यमशीलता विकास, महिला सशक्तीकरण तथा स्वरोजगार कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । कृषकलाई उत्पादनमा प्रोत्साहन, हाट दबजारलाई अझै बृहत विस्तार गरी कृषि प्रविधिको विस्तार मार्फत आयआर्जन बृद्धि गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी नगरभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारका रूपमा विकास गर्ने योजना रहेको शाक्यले बताए । शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण प्रणाली, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ । स्वास्थ्यतर्फ नगरवासीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आधारभूत स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण, निःशुल्क स्वास्थ्य परीक्षण तथा जनस्वास्थ्य कार्यक्रम विस्तार गरिने नीति लिइएको छ ।
    पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, ढल तथा नाला व्यवस्थापन, खानेपानी विस्तार, सार्वजनिक भवन निर्माण तथा स्मार्ट सिटी अवधारणा अनुसार नगर विकासका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । नगरलाई व्यवस्थित, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ हरित विकास, फोहोरमैला व्यवस्थापन, वृक्षारोपण तथा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ ।
    नगर उप प्रमुख विमला सापकोटाले आगामी २०८३/०८४को बजेट प्रत्ुत गरेकी थिईन् ।  बजेटले नगरभित्रका अधुरा योजनालाई सम्पन्न गर्ने, नयाँ विकास आयोजनाको सुरुवात गर्ने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको सापकोटाले बताईन् । सापकोटाले नीति, कार्यक्रम तथा बजेटले बनेपा नगरपालिकालाई आधुनिक, व्यवस्थित, समृद्ध र आत्मनिर्भर नगरका रूपमा स्थापित गर्ने बताईन् ।