थोत्रा बस, कमजोर सडक र कमजोर अनुगमनका कारण विपी राजमार्ग दुर्घटनाले उठाएका गम्भीर प्रश्न हो ।
धुलिखेल/काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा भएको बस दुर्घटनाले नेपालको सार्वजनिक यातायात प्रणाली, ग्रामीण क्षेत्रमा सञ्चालन हुने पुराना सवारी साधनको अवस्था र सडक सुरक्षाको वास्तविक चित्र उजागर गरेको छ ।
बनेपाबाट रोशी गाउँपालिका–६ सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस विपी राजमार्गबाट तीन सय मिटर तल खस्दा आठ जनाको ज्यान गयो भने १६ जना घाइते भए । दुर्घटनाले आठ जनाको जीवन समाप्त गरेको छैन, यसले राज्यको नियमन क्षमता, यातायात व्यवसायीको जिम्मेवारी र ग्रामीण यात्रुको सुरक्षामाथि गम्भीर प्रश्न समेत खडा गरेको छ । उक्त बस पूर्व अरनिको यातायात समितिमा आबद्ध छ ।
प्रारम्भिक अनुसन्धानले दुर्घटनाको प्रमुख कारण बसको यान्त्रिक अवस्था रहेको संकेत गरेको छ । प्रहरी स्रोतका अनुसार विपरीत दिशाबाट आएको सवारी साधनलाई साँघुरो सडकमा साइड दिने क्रममा बस सडकको किनारतर्फ पुगेको थियो । त्यही बेला बसको स्टेरिङ नै खुस्किएको र चालकले नियन्त्रण गुमाएपछि बस भीरबाट तल खसेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । यदि यो तथ्य अन्तिम अनुसन्धानबाट पुष्टि भयो भने दुर्घटना केवल चालकको कमजोरी वा सडकको जोखिमका कारण नभई प्रत्यक्ष रूपमा सवारी साधनको जर्जर अवस्थाबाट भएको मान्नुपर्ने हुन्छ ।
ग्रामीण भेगमा किन पुग्छन् पुराना बस ?
नेपालका अधिकांश ग्रामीण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक बसहरू शहरी क्षेत्रमा प्रयोग गर्न अनुपयुक्त भइसकेका वा लामो समयदेखि सञ्चालनमा रहेका पुराना सवारी साधन हुने गरेका छन् । नयाँ र सुरक्षित बसहरू प्रायः लाभदायक र व्यस्त रुटमा केन्द्रित हुन्छन् भने दुर्गम तथा ग्रामीण मार्गमा यात्रुहरूको सुरक्षाभन्दा लागत कम गर्नु प्राथमिकतामा पर्ने गरेको छ ।
बुच्चाकोट दुर्घटनाले यही यथार्थलाई उजागर गरेको छ । राजधानी र प्रमुख राजमार्गमा कडाइका साथ परीक्षण हुने सवारी साधनहरू ग्रामीण मार्गमा पुग्दा त्यति धेरै निगरानी नहुने अवस्था देखिन्छ । यातायात व्यवस्था कार्यालयबाट नियमित प्राविधिक परीक्षण हुने व्यवस्था भए पनि व्यवहारमा कति प्रभावकारी छ भन्ने प्रश्न दुर्घटनाले उठाएको छ । स्टेरिङ जस्तो सवारीको सबैभन्दा महत्वपूर्ण सुरक्षा प्रणाली नै सञ्चालनका क्रममा खुस्किनु सामान्य प्राविधिक समस्या होइन । यसले नियमित मर्मत, निरीक्षण र प्राविधिक परीक्षणमा गम्भीर लापरबाही भएको संकेत गर्छ ।
एउटा दुर्घटना, अनेक परिवारमा पीडा
दुर्घटनाको सबैभन्दा मार्मिक पक्ष भनेको यसले निम्त्याएको मानवीय क्षति हो । बसमा सवार आठ जनाको नै घटनास्थलमै मृत्यु भयो भने १६ जना घाईते भए । प्रत्यक्षदर्शीका अनुसार बस खस्ने क्रममा एक आमाले आफ्नो बच्चालाई बचाउन झ्यालतर्फ फालेकी थिइन् । बालक बाँचे तर आमा सधैंका लागि बिदा भइन् । माइतीघर जाँदै गरेकी ती महिलाको मृत्युले केवल एउटा जीवन समाप्त गरेको छैन, यसले बालकलाई आमाविहीन बनाएको छ । दुर्घटनाको तथ्यांकमा यस्ता पीडाहरू प्रायः हराउने गर्छन् । तर प्रत्येक मृत्युको पछाडि एउटा परिवार, सपना र भविष्य जोडिएको हुन्छ ।
मृत्यु हुनेमध्ये अधिकांश रोशी गाउँपालिकाका स्थानीय थिए । दुर्घटनामा एकै वडाका ३ सहित रोशी गाउँपालिकाका ६ जनाका साथै नेपाली सेनाका अमलदार र सिन्धुलीको घ्याङलेख गाउँपालिकाका १ जनाले ज्यान गुमाएका छन् । रोशी गाउँपालिका वडा नम्वर ६ का अन्दाजी ७३ वर्षीय मेघ बहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्र बहादुर तामाङले सवारी दुर्घटना परी ज्यान गुमाएका छन् । सोही गाउँपालिकाको वडा नम्वर ७ बस्ने ३४ वर्षीया फुलमाया तामाङ, ६० वर्षीया माया लामा र वडा नम्वर ८ बस्ने ६० वर्षीया प्यारीमाया तामाङले पनि ज्यान गुमाएका छन् । दैलेख घर भई हाल नेपाली सेनामा अमल्दार पदमा कार्यरत ३० वर्षीय बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं ४ बस्ने २२ वर्षीया सुमी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कम यात्रु भएकाले जोगियो ठूलो क्षति
दुर्घटनाग्रस्त बसमा २४ जना मात्रै यात्रु सवार थिए । स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको विश्लेषण अनुसार बसमा सामान्य दिनजस्तै धेरै यात्रु भएको भए मृतक र घाइतेको संख्या अझ भयावह हुन सक्थ्यो । नेपालका ग्रामीण मार्गमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति सामान्यजस्तै बनेको छ । यस घटनामा यात्रुको संख्या कम हुनु संयोगवश राहतको विषय बन्यो । तर सार्वजनिक यातायात सुरक्षाको आधार संयोग होइन, प्रणालीगत सुरक्षा हुनुपर्छ ।
उद्धारमा राज्य र समुदायको समन्वय
दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण घटनास्थलमा पुगेका थिए । दुर्गम भौगोलिक अवस्थाका बाबजुद तत्काल उद्धार कार्य सुरु भएकाले थप मानवीय क्षति हुन नपाएको अधिकारीहरूको भनाइ छ । नेपालमा धेरै दुर्घटनामा ढिलो उद्धारका कारण मृत्यु संख्या बढ्ने गरेको छ । बुच्चाकोट घटनामा भने स्थानीय समुदायको सक्रियता, सुरक्षाकर्मीको तत्परता र स्वास्थ्य संस्थासम्मको पहुँचले केही यात्रुको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
विपी राजमार्गको चुनौती
विपी राजमार्ग नेपालकै रणनीतिक सडक सञ्जालमध्ये एक हो । तर पछिल्ला वर्षहरूमा यस राजमार्गले प्राकृतिक विपत्ति र भौतिक संरचनागत कमजोरीको दोहोरो मार खेप्दै आएको छ । २०८१ असोजमा परेको अविरल वर्षाका कारण काभ्रे खण्डको ५५ किलोमिटरमध्ये २६ किलोमिटर सडक प्रभावित भएको थियो भने ८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको तथ्यांक छ । रोशी क्षेत्रका विभिन्न स्थानहरूमा बारम्बार पहिरो, कटान र अवरोध हुने गरेका छन् । सडकको भौतिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम स्वतः बढ्छ । त्यसमाथि साँघुरा मोड, भीरालो भूगोल र पुराना सवारी साधनको सञ्चालनले जोखिमलाई अझ बढाएको देखिन्छ ।
दुर्घटना घट्दै होइन, स्वरूप फेरिँदै
काभ्रे जिल्लाको ट्राफिक तथ्यांकले दुर्घटना नियन्त्रण चुनौतीपूर्ण रहेको देखाउँछ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म १६ जनाको सवारी दुर्घटनामा मृत्यु भइसकेको छ । ६१ जना गम्भीर र १८३ जना सामान्य घाइते भएका छन् । बैशाख र जेठ महिनामा पनि दुर्घटनाको संख्या बढिरहेको छ ।
अघिल्ला आर्थिक वर्षहरूमा हेर्दा २०७९÷०८० मा ४३, २०८०÷०८१ मा ३२ र २०८१÷०८२ मा २५ जनाले ज्यान गुमाएका थिए । मृत्यु संख्या केही घट्दो देखिए पनि घाइतेको संख्या भने बढ्दो छ । यसले सडक सुरक्षा सुधार भए पनि पर्याप्त नभएको संकेत गर्छ । अर्कोतर्फ ट्राफिक कारबाहीबाट संकलन हुने राजस्व उल्लेखनीय भए पनि त्यसको प्रत्यक्ष प्रभाव सडक सुरक्षा र सवारी साधनको गुणस्तर सुधारमा कति परेको छ भन्ने प्रश्न यथावत् छ ।
छानबिन समिति गठन
दुर्घटनापछि प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले केवल दुर्घटनाको तत्काल कारण मात्र नभई बसको प्राविधिक परीक्षण अन्तिम पटक कहिले गरिएको थियो, स्टेरिङ प्रणालीमा पहिलेबाट समस्या थियो कि थिएन, सवारी साधन सञ्चालन अनुमति र फिटनेस परीक्षण प्रक्रिया कत्तिको प्रभावकारी थियो, चालकले कुनै समस्या सम्बन्धी जानकारी पहिले दिएका थिए कि थिएनन्, ग्रामीण मार्गमा सञ्चालन हुने सवारी साधनको अवस्थाबारे नियामक निकायको निगरानी कस्तो छ ? लगायतका विषयमा अनुसन्धान गर्न आवश्यक छ ।
बुच्चाकोटको बस दुर्घटना एउटा सामान्य सडक दुर्घटना होइन । नेपालको ग्रामीण यातायात प्रणालीभित्र लुकेका संरचनात्मक कमजोरीहरूको परिणाम हो । जर्जर बस, कमजोर सडक, अपर्याप्त निरीक्षण र जोखिमपूर्ण यात्राको सम्मिलित असरले आठ जनाको ज्यान लिएको छ । बालबालिकालाई टुहुरो बनाएको छ । दर्जनौं परिवार शोकमा डुबेका छन् । केवल दुर्घटना कसरी भयो भन्ने होइन, यस्ता दुर्घटना रोक्न राज्य, यातायात व्यवसायी र नियामक निकायले के गर्छन् भन्ने हो । यदि यो दुर्घटनाबाट पनि प्रणालीले पाठ सिकेन भने विपी राजमार्ग र देशका अन्य ग्रामीण सडकहरूमा शोकका घटना फेरि दोहोरिने निश्चित छ । केहि वर्ष अघि पनौती ढुंर्खक रुटमा रिजर्भ गएको बस पल्टँदा घटनास्थलामा १७ जनाको ज्यान गएको थियो ।









