धुलिखेल/हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, बनेपा–७ धनेश्वरले मही अभियान शुरु गरेको छ । शक्रबार धुलिखेलमा आयोजित एक कार्यक्रममा डेरीका प्रवन्ध निर्देशक तथा नेपाल डेरी एसोसियसनका केन्द्रीय सदस्य रबिन्द्र हुमागाईंले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई मोही हस्तान्तरण गर्दै अभियान शुरु गरेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई, प्रशासकीय अधिकृतहरु, विभिन्न कार्यालयका प्रमुखहरु, जिल्लाका सचारकर्मीहरु उक्त कार्यक्रममा सहभागि थिए । सहभागि सबैलाई मोही उपलब्ध गराउँदै हुमागाईका तर्फबाट बरिष्ठ संचारकर्मी मधुसुदन गुरागाईले मोही अभियानलाई संस्कारका रुपमा लैजान, दुधका परिकारहरुको अधिकतम प्रयोग गर्ने बानी बसाल्न अभियान उपयुक्त र महत्वपूर्ण रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपाली कृषकहरुले उत्पादन गरेको दुधका परिकारहरुको प्रयोगमा सहजिकरण गर्ने बताए । हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु उत्पादन गर्ने डेरी उद्योग हो । लामो समयदेखि पनौती–२ कुशादेवी सञ्चालित यो डेरी गत वर्षदेखि बनेपासहित काठमाडौं उपत्यकाका उपभोक्ताहरुलाई गुणस्तरीय दुध तथा दुग्ध पदार्थहरु उपलब्ध गराउने उद्देश्यले बनेपामा बिस्तारित रुपमा सञ्चालनमा आएको प्रवन्ध निर्देशक रविन्द्र हुमागाईले बताए ।
डेरीले टेबल बटर, नौनी, घिउ, पनिर, चिज, दही र दूध उत्पादन गर्दै आएको छ । दर्शन ब्राण्डमा पास्चुराइज्ड दूध र दही र राजादही उत्पादन गर्दै गत वर्षबाटै थप उत्पादनका रुपमा दर्शन ब्राण्डमा मही बजारमा ल्याइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएर दूध तथा दुग्ध पदार्थको उत्पादन प्रक्रिया थालनी भएको हो । हाल दैनिक १ हजार लिटर मही उत्पादन हुने गरेको छ । पार्टीलगायत ठुला समारोहका लागि दर्शन मही बल्क प्याकमा उपलब्ध हुने गरेको छ । उपभोक्ताले सोझै सेवन गर्न मिल्ने १ लिटर र ५०० मिलीको बोतलमा पनि मही उपलब्ध रहेको छ । १ लिटर र ५०० मिलीको बोतलको खुद्रा मुल्य ८० रुपैँया र ४० रुपैँया राखिएको छ । डेरीले मही प्रवद्र्धनका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक संघ संस्थाका समारोहहरुमा दर्शन मही उपलब्ध गराएर मही अभियानलाई सहयोग गर्दै आएको छ । दोस्रो राष्ट्रिय मही दिवस २०८२ चैत्र २८ गतेका दिन ‘महीको विश्वास, स्वास्थ्यको विकास ः घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने नाराले देशैभर मही दिवस मनाएको उनले बताए ।
मही ब्रान्ड बन्दै गरेको छ । नेपालमा पछिल्लो समय विभिन्न स्थानीय तहले महीलाई ब्रान्डिङ गर्न थालेका छन् । एसोसिएसनका केन्द्रीय सदस्य रबिन्द्र हुमागाईंका अनुसार महीप्रतिको मोह बढ्न थालेपछि धेरै डेरी उद्योगहरुले व्यावसायिक रूपमै मही उत्पादन सुरु गरेका छन् । महीमा १ प्रतिशत फ्याट राखिन्छ, ५ प्रतिशत एसएनएफ राखेर उत्पादन गरिन्छ । यसमा क्याल्सियम बढी हुन्छ । महीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्व हुन्छ । मही पिउनाले हड्डीको विकासमा गर्छ । मही गर्मी मौसमका लागि स्वास्थ्यवद्र्धक पेय पदार्थ हो । महीमा विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाई छ । पोषणविद्हरुका अनुसार मही रसायनरहित प्राकृतिक पेय पदार्थ हो । मही पिउँदा गर्मी छल्नुका साथै स्वास्थ्यका लागि विभिन्न पौष्टिक तत्व प्राप्त हुन्छ । मही प्राकृतिक पेय हो, यसमा कुनै केमिकल मिसाइएको हुँदैन, खाना खाएपछि पानीको सट्टा मही पिउन सकिन्छ । मही हाम्रो पाचन प्रणालीका लागि राम्रो हुन्छ ।
महीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ । एमिनो एसिड हुन्छ । बच्चादेखि वृद्धसम्मका लागि यो एकदमै राम्रो हुन्छ । बच्चाको लागि एकदम स्वास्थ्यवद्र्धक पेय पदार्थ हो । मही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । विशेष गरी ग्यास्ट्रिकको समस्या हुनेहरूले अमिलो मही पिउन नहुने भनिन्छ । नेपाल डेरी एसोसिएसनले एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी र कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मही प्रयोग गर्न आह्वान गरेको छ । ‘महीको उपभोग बढ्नु भनेको ग्रामीण किसानले उचित मूल्य पाउनु र आयातमा बाहिरिने अर्बौं रुपैयाँ जोगिनु हो,’ विज्ञप्तिमा भनिएको छ । एसोसिएसनले सरकारी बैठक, विद्यालयका क्यान्टिन र पारिवारिक उत्सवहरूमा अनिवार्य रूपमा मही प्रयोग गर्न सबैमा हार्दिक अपिल समेत गरेको छ ।
मही कुन बेला पिउने ?
मही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । मही बेलुकीभन्दा बिहान र दिउँसो पिउँदा प्रभावकारी मानिन्छ । आयुर्वेदमा खाना खाने बित्तिकै पानी पिउनु राम्रो मानिँदैन । तर मही पिउँदा स्वास्थ्यलाई हानी हुँदैन । स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिएको पेय पदार्थ महीलाई बजार ल्याउनुअघि यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने र यसमा चिनी लगायत अन्य विकार वस्तु नहालिकन शुद्ध रूपमा ल्याउनुमा जोड दइएको छ ।









