2026 May 01/ 01:00: 14pm

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले स्थापनाको २३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष एवं विद्यालयका संचालक सदस्य सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवन्ध संचालक प्रताप बैद्य, संचालक आत्मराम थापाले विद्यालयको स्थापना, शैक्षिक कार्यक्रम र आगामी योजनाका बारेमा धारणा राखेका थिए । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुरकृष्ण बैद्यले जिल्लामा नीजि क्षेत्रबाट संचालन गरिएको प्ले ग्रुप अर्थात किन्डर गार्टेन देखि मास्टर डिग्री तहसम्मका कक्षाहरु संचालन गरी राजधानी जानु पर्ने बाध्यतालाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरिएको बताए । कार्यक्रममा बोल्दै प्रवन्ध संचालक प्रताप बैद्यले नविनतम सोच र जीवन्त एवं ब्यवहारीक पक्षको ज्ञान प्रदान गर्दै बहुप्रतिभाशाली सक्षम नागरिक उत्पादन गर्न ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सक्रिय रहेको बताए । संचालक आत्मराम थापाले विद्यालयको हितका खातिर अभिभावक र विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा विद्यालयले कुनै कसुर बाँकी नराख्ने बताए । कार्यक्रममा प्याब्सनका उप महासचिव भिमसेन केसी, जिल्ला अध्यक्ष श्याम भुजेल लगायतका पदाधिकारीहरु, नगर प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट लगायतका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । सोहि कार्यक्रममा विद्यालयले गर्दै आएको शैक्षिक क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले सोहि अवसरमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।