2026 February 25/ 04:28: 13am

    धुलिखेल/प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा गरेको अध्ययन तथा प्राप्त विवरणका आधारमा कार्यसम्पादन मुल्यांकनमा धुलिखेल नगरपालिकामा जिल्लाका १३ पालिका मध्ये पहिलो भएको छ । धुलिखेलले ७५.९८ नम्वर प्राप्त गरेको छ । देशभरका स्थानीय तहमा धुलिखेल १९ औं स्थानमा परेको छ । 
    प्रदेश तहमा ११ वटा सूचकका आधारमासुदूरपश्चिम सरकार पहिलो र कोशी दोस्रो नम्बरमा पर्न सफल भएका छन् । सुदूरपश्चिमले ४५ दशमलब ७० नम्बर पाएर पहिलो हुँदा कोशीले ४४ दशमलब २९ प्रतिशत नम्बर पाएको छ । त्यस्तै तेस्रो नम्बरमा बागमतीले ४२ दशमलब २६ अंक पाएको छ । गण्डकीले ३७ दशमलब ९१, लुम्बिनीले ३४ दशमबल ७१, कर्णालीले ३२ दशमलब २६ र मधेशले २७ दशमलब २८ अंक पाएका छन् ।आयोगका अध्यक्ष जुद्ध गुरुङका अनुसार लेखापरीक्षणले औंल्याएको बेरुजु, सशर्त अनुदान, कर बाँडफाँट, राजश्व परिचालनलगायत विभिन्न ११ वटा सूचकका आधारमा कार्य सम्पादन अंक प्रदान गरिएको हो ।
    त्यस्तै देशभरका स्थानीय तहको कार्य सम्पादन मुल्यांकन पनि सार्वजनिक भएको छ । जसमा काभ्रेका १३ वटा पालिका मध्ये धुलिखेल पहिलो भएको छ भने बेथान्चोकले सबै भन्दा कम नम्वर प्राप्त गरेको छ । विपत्तिका कारण सबै कागजात बगाएर कार्यालय विहिन भएको बेथान्चोकले ४४.९२ नम्वर प्राप्त गरेको छ । जिल्लामा पनौती नगरपालिका ७३.९१ नम्वर प्राप्त गरी दोश्रो भएको छ । महाभारत ७१.२६ नम्वर सहित तेश्रो भएको छ । बनेपा ६९ं३७ प्रतिशत, मण्डनदेउपुर ६६.४८ प्रतिशत, चौरी ६५.४८, भुम्लु ६५, पाँचखाल ६४.६५, नमोबुद्ध ६०.०३, रोशी ५७.१६,तेमाल ५४.२६ र खानीखोलाले ४५.९० नम्वर प्राप्त गरेका छन् । धुलिखेल स्वस्थ शहर तथा दीगो विकास लक्ष्यका चारवटा सुचक उपलब्ध नमुना पालिका हो । जुन पालिकाका नगर प्रमुख अशोक ब्याञ्जु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ बाट फागुन २१ गतेको निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हबाट उम्मेदवार छन् ।
    आ.व. २०८२/०८३ को राजस्व–व्यय अनुमान २०८२ असार १० भित्र सभा, नगरसभामा पेश, आ.व.२०८२/०८३ को राजस्व–व्यय अनुमान २०८२ असार मसान्तभित्र सभा÷नगरसभाबाट पारित, आ.व. २०८१/०८२ मा उठेको घरजग्गा रजिष्ट्रेशन शुल्क/मनोरञ्जन/विज्ञापन करको ४०% मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा, आ.व. २०८३/०८४ को आय–व्यय प्रक्षेपण विवरण २०८२ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश, आ.व.२०८१/०८२ बजेट कार्यान्वयनको वार्षिक समीक्षा विवरण २०८२ कार्तिक मसान्तभित्र सार्वजनिक, स्थानीय तहको अधिकार क्षेत्रभित्र राजस्व परिचालनको अवस्था, गत आ.व. विनियोजित बजेट अनुसार खर्च भएको अवस्था, आ.व. २०८०/०८१ लेखापरीक्षणबाट औंल्याएको बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)प्रयोग, आवधिक योजना तर्जुमा गरेको/नगरेको, शैक्षिक सत्र २०८२ मा कक्षा १–८ (५–१२ वर्ष) खुद भर्ना दर, शैक्षिक सत्र २०८१ मा कक्षा ८ को तुलनामा कक्षा ९ टिकाउ दर, शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयका कक्षा १० परीक्षार्थीमध्ये जिपिए १.६ वा माथि ल्याउने प्रतिशत, आ.व. २०८१/०८२ मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, आ.व. २०८१/०८२ मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आ.व. २०८१/०८२ मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात र आयोगको अनलाइन पोर्टलमा तोकिएको अवधिभित्र कार्यसम्पादन सूचक विवरण प्रविष्टि सम्वन्धी सुचकका आधारमा नम्वर उपलब्ध गराईनेछ ।