2026 January 17/ 03:16: 55pm

    बनेपा/परिवर्तनका आयामहरु जेन–जी विद्रोह २०८२ नामक पुस्तक सार्वजनिकीकरण गरिएको छ । लेखकद्वय डा.श्याम भट्टराई र गुमानसिं तामाङद्वारा लिखित पुस्तक क्रिस्ट इन्जिनियरिङ कन्सल्टेन्सी बनेपा–८ काभ्रेका प्रोपाईटर हुद्दराज तिमल्सिनाले प्रकाशन गरेका हुन् । 
    प्रकाशक हुद्दराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.डा.कुलप्रसाद कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । पुस्तक सार्वजनिकीकरण पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व उपकुलपति प्रा.डा.कुलप्रसाद कोईरालाले नेपालका राजनीतिक दल, दलका नेता तथा कार्यकर्ताहरुका कारण मुलुकमा जेनजी समुहले विद्रोह गरेको बताए । ‘दलहरुले नीति, सिद्दान्त र विचारलाई कुल्चँदै गए, देश र जनतालाई भन्दा ब्यक्ति र नातावादलाई प्राथमिकतामा राखे’–उनले भने–‘त्यसकारण मुलुकमा ब्याप्त असन्तुष्टी बढ्यो । नैराश्यतालाई जेनजी पुस्ताले विद्रोह ग¥यो ।’ विद्रोहको आक्रोश ब्यवस्थापन गर्न दलहरु फेरी पनि चुके भने मुलुक गम्भीर दुर्घटनामा पर्ने उनले चेतावनी दिए । 
    लेखकद्वय डा.श्याम भट्टराई र गुमानसिं तामाङले दुई खण्डमा परिवर्तनका आयामहरु समेट्नु भएको छ । पहिलो खण्डमा डा.श्याम भट्टराईले सदाचार र नैतिकता शिक्षा, विद्या र सदाचार, भयमुक्त शिक्षा, संविधानको भावना, विद्यायकको चेतना, सुशासनको चार तारा, प्रजातान्त्रिक समाजवाद, माटोको सुगन्ध चिन्ने पार्टी नै जनताको पार्टी, विचारको राजनीति, जेन–जी विद्रोह र आजको सन्दर्भमा विपि कोईरालाको सिद्धान्तका विषयमा लेख्नु भएको छ भने खण्ड ख मा गुमानसिं तामाङले मानवजाति, लोकतन्त्र र गठबन्धन, मानवजीवन र परिवर्तनका आयामहरुका विषयमा लेख्नु भएको छ । १ सय ६२ पृष्ठको पुस्तक आधुनिक, प्रविधि बुझ्ने युवाहरुको सोच अनुसारको छ । 
    पुस्तकका बारेमा प्राध्यापकद्वय चुडाप्रसाद चौलागाई र माधवप्रसाद तिमल्सिनाले टिप्पणी गरेका थिए । पुस्तकले दिन खोजेको सन्देश, मुलुकको पछिल्लो अवस्था र आगामी भविष्यका बारेमा सोच्नुपर्ने विषयमा समेत पुस्तकले समेट्न खोजेका विषयमा छलफल भएको थियो । लेखक गुमानसिं तामाङको संचालनमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक विचार समाज केन्द्रका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, निवर्तमान अध्यक्ष डा.केदारनरसिंह केसी, बरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, केन्द्रीय सदस्य तथा चैतन्य क्याम्पसका क्याम्पस प्रमुख राजभाई मानन्धर, केन्द्रीय सदस्य विरेन्द्र थपलिया, पार्वती क्याम्पसका अध्यक्ष विनोद तिमल्सिना, विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तित्वहरु, प्राध्यापकहरु, लेखकहरु, साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई लेखक डा.श्याम भट्टराईले स्वागत गर्नु भएको थियो ।