२०८२ भदौ २४ गतेको विध्वंसमा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेबाट ४२ जनालाई पक्राउ गरेको छ । पीडितहरुले एक सय भन्दा धेरै विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । अभियोग दर्ता पछि पक्राउ परेका अधिकांश धरौटीमा छुटेका छन् । केहि फरार छन् ।
धुलिखेल/२०८२ भाद्र २४ गते काभ्रेपलान्चोक जिल्लाका विभिन्न सरकारी तथा निजी संरचना भवन र सम्पत्ति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको अनुसन्धान रोकिएको छ । घटनामा संलग्नहरुको तथ्य र प्रमाण सहित किटानी जाहेरी दिएको भए पनि मुलुक निर्वाचनतर्फ केन्द्रित भएकाले तत्कालका लागि अनुसन्धान रोक्न गृह मन्त्रालयले गरेको परिपत्र अनुसार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थाति राख्दै निर्वाचन केन्द्रित सुरक्षामा खटिएको बताएको छ ।
जिल्लाको बनेपामा बनेपा नगरपालिका, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी युनिट तथा बिटहरु, युलेन्स स्कुल लगायतमा आगजनी गरिएको थियो । पनौतीमा शिवप्रसाद हुमागाई, रामशरण भण्डारी, गिता बञ्जारा, गोपी थापा, रामेश्वर थापा, पुरुषोतम अधिकारी, भिम न्यौपाने, दिपक न्यौपाने र विमल न्यौपानको घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो । पनौती प्रहरी चौकी, प्रहरी विट र नगरपालिकामा पनि क्षति भएको छ । धुलिखेलमा अशोक ब्याञ्जुको घरमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । प्रहरी विटमा आगजनी गरिएको थियो । भदौ २५ गते कारागार कार्यालयमा कैदीहरुले आगजनी गरेका थिए । पाँचखाल, मण्डनदेउपुरको हिगुवापाटीमा रहेको प्रहरी चौकी र सवारी साधनमा आगजनी गरिएको थियो । पीडितहरुको तर्फबाट घटनामा संलग्न एक सय भन्दा धेरै विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । प्रहरीले केहि जाहेरीमा मात्रै अनुसन्धान गरेको छ ।
प्रहरीले शुरुमा बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल र ३६ राउण्ड गोली सहित २०८२ भाद्र २८ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको भए पनि अभद्रमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै बनेपा ९ नयाँबस्तिबाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते प्रहरीले ७३० राउण्ड गोली फेला परेको थियो । २०८२ भदौं २४ गते इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको गोली भएको पक्राउ परेकाहरुले बयान दिएका थिए । तर पनि प्रहरीले सबैलाई अभद्रमा मात्रै मुद्दा दर्ता गरेको थियो । प्रहरी आफै संकटग्रस्त अवस्थामा रहँदा रहँदै पनि प्रहरीले नागरिकको सुरक्षामा ध्यान केन्द्रित ग¥यो । निरन्तर ध्वंसात्मक आन्दोलनमा सक्रियहरुको खोजी गरी अनुसन्धान गरिरहेको प्रहरीले निर्वाचन लक्षित भन्दै गृहले जेनजी आन्दोलनमा संलग्न कसैलाई पनि तत्काल पक्राउ नगर्न र गरेको भए पनि छाड्न निर्देशन दिए पछि प्रहरी निश्क्रिय बनेको हो ।
क्षति पुगेका अधिकांश प्रहरी कार्यालय स्थानीयको सक्रियतामा पुर्ननिर्माण गरिएका छन् । ब्यक्तिका घरहरु पनि स्थानीयहरुको सहयोगमा पुर्नर्निमाण शुरु गरिएको छ । राज्यका तर्फबाट कुनै सहयोग र क्षतिको राहत उपलब्ध गराएको छैन । अझै अधिकांश पीडितहरु आफन्तको साहरामा बसिरहेका छन् ।
६ वटा मुद्दा दर्ता पछि अनुसन्धान
मुद्दा नम्वर १
२०८२ भाद्र २८ गते प्रहरीले हतियार सहित पक्राउ गरेको थियो । गोलिगठ्ठा सहित पक्राउ परेकाहरुलाई अभद्र ब्यवहारमा मुद्दा दर्ता गरिएको थियो । निम्न ब्यक्तिहरु पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता गरिएको मुद्दा
१) सिराहा जिल्ला भगवानपुर गाउँपालिका २ का नरेशकुमार यादव (१० हजार धरौटीमा)
२) ओखलुढुंगा कटुन्जे ४ का पासाङ तामाङ (१० हजार धरौटीमा)
३) संखुवासभा मकालु गाउँपालिकाका विकास राई (१० हजार धरौटीमा)
जिल्ला अदालत मार्फत
१) शुशान्त लो, मकवानपुर बकैया गाउँपालिका ६ (१० हजार धरौटीपुनः पक्राउ )
२) अच्युत खड्का, बनेपा ९ (१० हजार धरौटीपुनः पक्राउ)
३) सिजन सुवाल, बनेपा ९ (१० हजार धरौटीपुनः पक्राउ )
४) तिमोथी तामाङ, तेमाल २ (१० हजार धरौटीपुनः पक्राउ )
५) सन्तोष श्रेष्ठ (१० हजार धरौटी)
६) प्रविण कार्की रामेछाप उमाकुण्ड गाउँपालिका (१० हजार धरौटी, पुनः पक्राउ )
७) महेशकुमार मुखिया, बारा बनौली सखुवा ८ (१० हजार धरौटी,पुनः पक्राउ )
८) सुबास गौतम, बनेपा ९ (१५ हजार धरौटी, पुनः पक्राउ)
मुद्दा नम्वर २
अभियोग : आपारधिक उपद्रव । इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा र भवन भन्दा बाहिर राखिएका सवारी साधनहरु जलेर नष्ट भएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीको सडक खण्डमा भएको प्रहरी विट, बनेपा चार दोवाटोमा रहेको प्रहरी विट, धुलिखेल बसपार्कमा रहेको प्रहरी विट तथा प्रहरीका संरचनामा क्षति पु-याई हातहतियार लुटेको, लत्ताकपडा चोरी गरी आगजनी गरेको, प्रहरीको भण्डारकक्ष प्रवेश गरी भण्डारण कक्षको हातहतियारमा प्रयोग हुने गोली समेत लुटपाट गरिएको अभियोग छ । ५ करोड ४२ लाख ७६ हजार ४ सय ६८ रुपैया क्षति भएको उल्लेख छ । २०८२ मसिंर ८ गते अदालतमा उक्त अभियोग दर्ता गरिएको हो ।
पक्राउ पछि रिहा (धरौटीमा)
१) साकार केसी, बनेपा, (९० हजार धरौटी)
२) अनिश सापकोटा, पनौती (६० हजार धरौटी)
३) रविन्द्र परियार, पनौती (६० हजार धरौटी)
४) अजय तामाङ (२० हजार धरौटी)
५) समिर तामाङ (३० हजार धरौटी)
६) सुबास तामाङ (३० हजार धरौटी)
७) सुमन केसी (३० हजार धरौटी)
८) ङेमा साँ मुक्तान (३० हजार धरौटी)
९) रमेश तिमल्सिना (३० हजार धरौटी)
१०) अभि शुद्धाकार (३० हजार धरौटी)
११) भिम तामाङ (३० हजार धरौटी)
१२) विशाल भ्लोन (३० हजार धरौटी)
मुद्दा नम्वर ३
पनौती नगरपालिका वडा नम्बर २ स्थित गोपी थापाले आफ्नै घरको कम्पाउण्डमा राखेको सिम्रिक एयरको हेलिकप्टर हानी नोक्सानी तथा क्षति पु¥याउने दुषित मनसायका साथ जेनजी समुहका नाममा हुलहुज्जत गरी प्रतिवादीहरु रवि धुसा समेतले धारिलो हातहतियार खुकुरी, बन्चरो, लाठी तथा प्रेट्रोल, वम, ग्याँस सिलिण्डर र अति प्रज्वलनशील पदार्थहरु समेत बोकि घरको मुल ढोका फोडेर घरभित्र पसी घरमा भएका दराज लकरहरु समेत फोडी नगद पैसा, गरगहना, लत्ताकपडा, ल्यावटप लगायतका सामाग्रीहरु डकैती गरी लगे । लैजान नसकेका सामानहरु त्यहि राखेर टिभी, दराज, खाट तथा अन्य महत्वपूर्ण सामानहरु, अन्नपात समेत भित्र नै राखेर प्रेट्रोल बम तथा सिलिण्डर बम समेत प्रयोग गरी विस्फोट गराई आगजनी गरी घर, घर नजिक राखिएको सिम्रिक एयरको हेलिकप्टर पुर्ण रुपमा जलाई नष्ट गरेको अभियोगमा उल्लेख छ । ज्यान जोगाउन छिमेकीको शहरणमा बसेका गोपी थापाले ९ करोड ४१ लाख रुपैया क्षति भएकाले क्षतिपुर्ति सहित घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका थिए । संलग्नहरुलाई आपरिाधिक उपद्रव सम्वन्धी कसुरमा प्रहरीले अनुसन्धान गरे पनि अदालतले उक्त घटनाका सबैलाई धरौटीमा छाडेको छ । २०८२ साल मसिंर २२ गते जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला अदालतमा उक्त मुद्दा दर्ता गरेको थियो ।
पक्राउ पछि रिहा (धरौटी जनही १० हजार)
१) रवि धुसा, २१ वर्ष, पनौती ७
२) लोकेश श्रेष्ठ, १८ वर्ष, मकवानपुर, हाल पनौती
३) अभिषेक नेपाली २७ वर्ष, पनौती २
४) श्याम तिमल्सिना, ३१ वर्ष, पनौती २
५) अजय खत्री, ३१ वर्ष, पनौती ८
६) केदार बस्नेत, ४२ वर्ष, पनौती ७
७) कोकिल थापा, ४३ वर्ष, पनौती ८
८) आईत देउला, ४३ वर्ष, पनौती ७
९) राम सापकोटा, ३१ वर्ष, पनौती ७
१०) दिपक खत्री, ४० वर्ष, पनौती १
११) विकास श्रेष्ठ, २१ वर्ष, पनौती ४
फरार
१) सुमनदेव चापागाई, ५४ वर्ष, भोजपुर हाल पनौती
२) गुणनिधी सापकोटा, ४५ वर्ष, पनौती २
३) गोपी हुमागाई, २५ वर्ष, पनौती १२
४) राजेन्द्र घिमिरे, २७ वर्ष, पनौती २
मुद्दा नम्वर ४
अभियोग ः आपराधिक उपद्रव । पाँचखाल प्रहरी चौकी भवनमा लुटपाट गरी आगजनी गरेको । प्रहरी प्रयोग गर्ने लत्ताकपडामा समेत आगजनी गरी हानिनोक्साी पु¥याएको । ५० लाख १८ हजार क्षति भएको । संलग्न ब्यक्तिहरु पक्राउ गरी मुद्दा दायर गरिएको छ ।
१) पाँचखाल ४ घर भएका १९ बर्षिय एलिज श्रेष्ठ (धरौटीमा)
२) पर्सा पोखरिया नगरपालिका ९ का १९ बर्षिय अब्दुल कलाम मिँया तेली (धरौटीमा)
३) पाँचखाल १ का २४ बर्षिय अजय घिसिङ (फरार)
मुद्दा नम्वर ५
भक्तपुर प्रहरी समक्ष आफै आत्मसमर्पण गर्नेहरु (सबै धरौटीमा)
१) भुम्लु–३ का ३४ वर्षीय रामशरण परियार
२) बनेपा–४ घर भई हाल भक्तपुर हनुमानघाट बस्ने ३२ वर्षीय रुपक परियार
३) नमोबुद्ध–१ घर भई हाल बम्हायणी बस्ने २२ वर्षीय अमृत सुनुवार
४) नमोबुद्ध–६ घर भई हाल भातेढिकुरमा बस्ने २२ वर्षीय विकास तामाङ
मुद्दा नम्वर ६
प्रहरीको हत्यामा संलग्न अभियोगमा पक्राउ परेका
१) युवराज क्याप्छ्याकी मगर, रोशी (पुर्पक्षका लागि थुनामा)





