
धुलिखेल/१९८० साल देखिका अभिलेख जिल्ला अदालत काभ्रेपलाञ्चोकले सुरिक्षत गरेको छ । एक सय वर्ष पुराना अभिलेख ब्यवस्थित र सुरक्षित राखेर अदालतले नागरिकहरुको न्यायको विश्वासलाई अझै फराकिलो बनाउने प्रयत्न गरेको छ ।
एक सय वर्ष अघि दर्ता भएका मुद्दा तथा त्यससँग आवश्यक पर्ने कागजातको अभिलेख सुरक्षित गरिएको हो । जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार कर्णबहादुर राईले ४८ हजार ६७ वटा मिसिल अभिलेखमा रहेको बताए । ‘काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विक्रम सम्वत १९८० साल देखिको अभिलेख शुरु भएको छ । पौष मसान्तसम्म ४८ हजार ६७ थान मिसिल अभिलेख सुरक्षित गरिएको छ’–श्रेस्तेदार उप सचिव कर्णबहादुर राईले भने–‘गतवर्षको मसान्तसम्म ४६ हजार ६ सय ६ थान मिसिल रहेकोमा चालु वर्षको ६ महिनामा १ हजार ४ सय ६१ मिसिल सुरक्षित गरिएको छ ।’ ११ सय ८४ थान मिसिल स्याक्यन गरेर सफटवेयरमा इन्ट्रि गरिएको छ । ३७ सय ५५ थान मिसिल स्क्यान गर्न बाँकी छ । ४३ हजार ८ सय ७५ वटा मिसिल दराजमा राखिएको छ भने ४ सय ३७ वटा दराज बाहिर छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले अन्य जिल्लामा जस्तै बालबालिकाहरुको मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ । अघिल्लो वर्ष बाँकी रहेका १९ वटा र चालु वर्षको ६ महिनामा १९ वटा गरी ३८ वटा मुद्दा रहेकोमा २० वटा फछर्याैट भएका छन् । जिल्ला अदालतको पाँच आर्थिक वर्षको तुलनात्मक विवरण अन्र्तगत २०७७/०७८ मा लक्ष्यको तुलनामा ५५.१३ प्रतिशत, २०७८/०७९ मा ८३.६१ प्रतिशत, २०७९/०८० मा १००.०४ प्रतिशत, २०८०/०८१ मा ९६.७१ प्रतिशत र २०८१/०८२ को ६ महिनामा ३५.३९ प्रतिशत फछर्याैट भएको छ । चालु वर्षको अन्त्यमा लक्ष्य भेट्टाउन सकिने श्रेस्तेदार राईले बताए ।