सहकारीको २४ औं साधारणसभा
रवि/देशकै उत्कृष्टका रुपमा सम्मान भैईसकेको धुलिखेल २ रविमा रहेको सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी ब्याञ्जुले उक्त संस्था नगरको मात्रै नभई देशकै नमुना भएकाले कृषकहरुले वास्तविक प्रत्यक्ष लाभ लिन सकेको बताए । नगरपालिकाले पनि गत वर्ष उक्त संस्थालाई सम्मान गरेको बताउदै कृषकका क्षेत्रमा काम गर्दा नगरपालिकाले साझेदारीमा गर्ने बताए । दुधबाट उत्पादित सामाग्रीहरु आफ्नै संस्थामा उत्पादन गर्ने हो भने नगरपालिकाबाट कस्तो सहयोग गर्नुपर्ने नगरपालिकाले गर्न तयार रहेको ब्याञ्जुले बताए । संस्थाले आफ्नै गाई फर्म, दाना उद्योग सञ्चालन गरी कृषकहरुलाई समेत राहत मिलेकाले नगरभरीलाई पुग्ने गरी दाना उत्पादन गर्नुपर्ने ब्याञ्जुले बताए ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विदुर कोईरालाले संस्थाले दुग्ध विकास संस्थानले ५ महिनाको ६ करोड रकम दिन बाँकी हुँदा संस्थालाई धेरै असर परेको बताए । किसानलाई अन्य संस्थाबाट ऋण लिएर भए पनि भुक्तानी गरेकाले संस्थालाई असर परेको हुँदा त्यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको बताए । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ मा १५ करोड ३८ लाख ५८ हजार ६ सय बचत, कुल आम्दानी २५ करोड ६५ लाख ३२ हजार रहेको छ भने खर्च २५ करोड ३४ लाख २६ हजार रहेको कोईरालाले बताए । संस्थाले गाई फार्म सञ्चालन गरी उक्त फार्मबाट १ करोड ११ लख २८ हजार आम्दानी गरेको बताईएको थियो । वागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको बिउँ पुजी अनुदान २१ लाख ९६ हजार ८ सय र संस्थाको रु २२ लाख ४८ हजार गरी ४४ लाख ४४ हजार ९ सय बाट नमुना दाना उत्पादन शुरु गरिएको संस्थाका अध्यक्ष विदुर कोईरालाले बताए ।
अनुदान २१ लाख ९६ हजार ८ सय र संस्थाको रु २२ लाख ४८ हजार गरी ४४ लाख ४४ हजार ९ सय बाट नमुना दाना उत्पादन शुरु गरिएको संस्थाका अध्यक्ष विदुर कोईरालाले बताए ।
संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षा प्रदान गर्ने, आपतकालीन सापटी, विरामी उपचार खर्च, काजकिरिया खर्च, सदस्य दुर्घटना विमा सेवा प्रदान गर्दै आएको कोईरालाले बताए । त्यसैगरी स्वच्छ दुध संकलन तथा विक्रीका लागि बिहान र बेलुका दुध संकलनलाई निरन्तरता दिने, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रासायनिक मल उपलब्ध गराउँदै आएको, उत्कृष्ट किसान, विद्यार्थी, जेष्ठ नागरिक सम्मान, सहकारी शिक्षा शिविर, पशु खोप र कृत्रिम गर्भाधारणलाई निरन्तरता, कृषक तालिम, उन्नत नश्लका गाईहरु उत्पादन गरी गाई तथा बाछीहरु किसानलाई उपलब्ध गराउने संस्थाका प्रबन्धक हरिहर अधिकारीले बताए ।
कार्यक्रममा काभ्रे जिल्ला दुध उत्पादक सहकारी संघ लि.का अध्यक्ष तथा धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नारायण बडाल, वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, जिल्ला सहकारी संघ लि.का कोषाध्यक्ष अर्जुन सापकोटा, संस्थाका प्रमुख सल्लाहकार चर्तुभुज तिमल्सिना, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सालिकराम न्यौपाने, देउराली दुध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष बलराम कोईराला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष बसन्त प्रसाद चौलागाईले राखेका थिए भने लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक कृष्ण बहादुर ढुंगानाले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सचिव दामोदर कोईरालाले राखेका थिए ।









