पाँचखाल÷पाँचखाल नगरपालिका वडा नम्बर ६ काफ्लेडी स्थित कोल्ड स्टोरमा राखिएको आलु ब्यवस्थापनको लार्पवाहीका कारण कुहिएको निश्कर्ष निकालिएको छ । कोल्ड स्टोरमा राखिएको आलुका बारेमा अनुगमन गर्न जिल्लाको टोली सोमबार पाँचखाल गएको हो ।
उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काभ्रेका नकुल गिरी, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक पुर्णप्रसाद पौड्याल, पाँचखाल नगरपालिका उपप्रमुख सुर्य माया दनुवार, उद्योग तथा वाणिज्य कार्यालय लेखा अधिकृत रुपक हुमागाई, उद्योग वाणिज्य कार्यालयका रविन्द्रप्रसाद चौंलागाँई, पाँचखाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलाल, सञ्चारकर्मी लगायतको टोली कोल्ड स्टोरेजको अनुगमनमा पुगेको थियो ।
पाँचखालमा आलु रोप्ने सिजन धमाधम भैइरहेको अबस्थामा आफुले राखेको आलु कोल्ड स्टोरेजमा लिन जादाँ कुहिएको कृषक डम्बर बहादुर श्रेष्ठले बताए । आफुले १८ बोरा आलु राखेकोमा सबै कुहिएको उनले बताए । त्यस्तै अन्य कृषकहरुको समेत आलु कुहिएको उनले बताए । कोल्ड स्टोरेजका प्रमुख नवराज थापाले आफुले कृषकलाई आलु लान चाहे आलु र आलुको सट्टा पैसा लान चाहे पैसा दिने गरेको बताए । के कारणले आलु कुहिएको हो अनुसन्धान भई रहेको उनले बताए । उक्त कोल्ड स्टोरेज सञ्चालन गरेको ८ वर्ष भयो तर अहिलेसम्म यस्तो नभएकाले पहिलो पटक यस्तो घटना भएकाले आफै अनुसन्धानमा रहेको थापाले बताए । कोल्ड स्टोरमा रहेको आलु २० प्रतिशत मात्रै कुहिएको हो, थापाले भने, सगैको बोरा कुहिएको छ अर्काे बोरा कुहिएकै छैन के कारणले हो प्राविधिक ल्याएर अनुसन्धान गर्न बाँकी रहेको उनले बताए ।
स्टोरेजको क्षमता ४ हजार टन भएको तर आलु २ हजार टन मात्रै राखिएको थापाले बताए । ७÷८ करोड लगानी रहेको भए पनि राज्यबाट कुनै सहयोग नपाएको उनले बताए । कोल्डस्टोरेजमा राखिएको आलुको पनि विमा गर्न सबै निकायमा आफु धाएको तर विमा नगर्नाका कारण, राज्यको असहयोगका कारण पेशाबाट नै पलाएन हुनुको विकल्प नरहेको उनले बताए । आफुले २०८१ मंसीर सम्ममा कृषकको आलु वा पैसा दुबै फिर्ता गर्न पाँचखाल नगरपालिकाका, वडा कार्यालय सँग सहमती गरिसकेको थापाले बताए । अनुगमनमा उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरेले थापालाई पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिकाका लगाएतका उक्त स्टोरेजमा राखिएका कृषको गुनासो पछि हामी अनुगमनमा गएको र उक्त स्टोरेजका सञ्चालक नवराज थापालाई ३ दिन भित्र जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिएको बताए ।
जिल्ला प्रशासनमा जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सुवाष पौड्यालको अध्यक्षतमा स्टोरेजका सञ्चालक, उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरे, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार लगायतको टोली बसी कृषकहरुका समस्यालाई कसरी समाधान गर्न छलफल गर्ने बताईएको छ ।









