धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा पछिल्ला केहि घटनाहरुमा मानवता मेटाउँदै चिनजान र परिवारका सदस्यबाट निशंश, पासविक र जघन्य हत्याका घटना हुन थालेको पुष्टी भएको छ । अझै केहि घटनामा संलग्न ब्यक्तिको पहिचान हुन सकेको छैन ।
बाबुलाई खुर्पा र गलले हानेर मारी फरार भएका छोरालाई प्रहरीले १४ दिन पछि नियन्त्रणमा लिएको छ । २०८१ कार्तिक १० गते नमोबुद्द नगरपालिका ७ पुजारी टापु बस्ने ७४ बर्षिय बलबहादुर श्रेष्ठलाई उनकै जेठा छोरा ४५ बर्षिय रामलाल श्रेष्ठले हत्या गरी फरार भएका थिए । वडा अध्यक्ष धर्मसिं लामाका अनुसार बाबुको हत्या गरी फरार भएका रामलाल श्रेष्ठलाई प्रहरी र स्थानीयहरुले उनकै घर नजिकै जंगलबाट ढोडको थुप्रोमा लुकेर बसेको अवस्थाबाट नियन्त्रणमा लिएको हो । उनको खोजीमा जिल्ला प्रहरी कार्यालय कार्यालय काभ्रेले प्रहरी टोली परिचालन गरेको थियो । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी भकुण्डे लगायतबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । उत्कृष्ट अनुसन्धानकर्ता प्रहरी निरिक्षक कृष्ण गिरीको नेतृत्वको टोलीले रामलाल श्रेष्ठलाई सोहि स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
कार्तिक २३ गते साँझ उनलाई पक्राउ गरिएको वडा अध्यक्ष धर्मसिं लामाले बताए । हरेक दिन मादक पदार्थ सेवन गरी बाबु र श्रीमतीलाई समेत दुःख दिदै आएका रामलाललाई धेरै पटक प्रहरी चौकी लगेर माफि मगाउँदै छाड्दै गरिएको थियो । रामलालको घरमा बाबु र दिदी बस्दै आएका थिए । उनको श्रीमती र तीन बच्चा बनेपामा बस्दै आएका छन् । हरेक दिन श्रीमती र बच्चाहरुलाई समेत कुटने गरेका रामलालबाट बचाउन बनेपामा आफन्तको शरणमा राखिएको हो । माईलो भाई रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए भने माईलो भाई मकवानपुर बस्दै आएका थिए । कार्तिक १० गते दिउँसो रामलाल मापसे गरेर घर पुगेका थिए । घरमा बोल्न नसक्ने दिदी थिईन् । आफुले श्रीमती कुट्न नपाएको, श्रीमती र बच्चालाई सँगै बस्न नदिएको भन्दै बाबुलाई आक्रमण गरे । शुरुमा फलामको गलले हाने । गलले हान्दा उनि मरेनन् । मारु भनेर भन्दा पनि तर्साउन आक्रमण गरेको बताएका रामलालले सँगै रहेको खुर्पाले हानेर भागे । दुई पटक गल र खुर्पाले हाने पछि उनि त्यहि ढले । तर रामलाल जंगलमा भागे । बाबु मरे कि बाँचेका छन् भनेर राति फेरी हेर्न आए । मरिसकेको थाहा पाए पछि फेरी जंगलमा भागे । यता बाबुको हत्याको खबर गाउँभर फैलियो । बाहिर रहेका दुई भाईहरु आए । बाबुको पोस्टमार्टम पछि दाहसंस्कार गरे । परम्परा अनुसार काजकिरिया बसे । तर उनिहरु जंगलमा नै लुकेर बसिरहे ।
१४ दिनसम्म उनले जंगलमा रहेको कुवाबाट पानी र नजिकै रहेको सुन्तलाको बगैचाको सुन्तलाको दाना खाएर ढोडमा लुकेर बसिरहे । बाबुको हत्या पछि प्रायश्चित गरिरहे । आत्मसर्मपण गर्ने योजना पनि बनाएनन् । तर भागेर अन्यत्र जाने सोच बनाएको भए पनि स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उनि पक्राउ परे । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बुझाईएको छ । कार्तिक १६ गते मात्रै रोशी गाउँपालिका वडा नम्वर ३ मा छोराले आमाको हत्या गरेका थिए । उनि अहिले प्रहरी नियन्त्रणमा छन् । अघिल्लो महिना पैसाका लागि हनिट्रयापमा पारेर सम्बन्धमा राखेका ब्यक्तिको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक जिल्ला घर भएकी २१ बर्षिया युवती सहित अन्य संलग्नलाई पक्राउ ग¥यो । ६ महिना अघि महाभारत गाँउपालिका घर भएका दम्पतिको हत्यामा संलग्न सिन्धुपाल्चोककै एक युवालाई प्रहरीले पक्राउ ग¥यो । पाँचखालमा आगो लगाएर हत्या गरिएका ब्यक्तिको पहिचान हुन सकेको छैन । पलाञ्चोकमा अघिल्लो वर्ष दम्पतिको हत्या गर्ने ब्यक्तिको पहिचान हुन सकेको छैन । तेमालको कानपुरमा एक बृद्ध ब्यक्तिको हत्यामा संलग्नको पहिचान खुल्न सकेको छैन । नमोबुद्ध, रोशी तथा जिल्लाका विभिन्न स्थानमा भएका घटनामा केहि पक्राउ परेका छन् । केहि फरार छन् । केहिको पहिचान नै हुन सकेको छैन । आर्थिक वर्ष २०८०/०८१ मा कर्तब्य ज्यान सम्वन्धी १४ वटा घटना भए । जसमध्ये ८ वटा घटनामा संलग्नहरुलाई कैद सजायँ सुनाईएको छ भने ६ वटा घटनामा संलग्नहरु पुर्पक्षका लागि कारागारमा छन् । ज्यान मार्ने उद्योगमा १७ वटा घटना भए । जसमध्ये ९ वटा घटनाको मुद्दा टुगिंएको छ भने ८ वटा बाँकी छ ।
आत्महत्या दुरुत्साहनमा ४ वटा घटना दर्ता भएकोमा १ वटा फैसला भएको छ । ज्यान सम्वन्धी ३५ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् । चालु वर्षको चार महिनाको यो अवधीमा ४ जनाको हत्या गरिएको छ । झुण्डि र विष सेवनबाट भने २९ जनाको मृत्यु भएको छ । सबै घटना पैसा र सम्पत्तिका लागि भएको तथ्य र अनुसन्धानले देखाएको छ ।









