2026 August 06/ 07:56: 26pm

    धुलिखेल/सरकारले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै पालिकालाई संकटग्रस्त घोषणा गर्दै जिल्लाका अन्य संरचनामा पुगेको क्षतिलाई समेत द्रुत गतिमा निर्माण गर्नु पर्ने भए पनि बनेपा र धुलिखेललाई संकटग्रस्त घोषणा नगरेको भए पनि धुलिखेल क्षतिका हिसाबले संकटग्रस्त पालिका भन्दा धेरै क्षति भएको पालिकाका रुपमा देखिएको छ । प्रारम्भिक तथ्यांकका आधारमा पनि धुलिखेलका विभिन्न वडामा भएको क्षतिको मुल्यांकन अर्ब भन्दा धेरै रहेको नगरपालिकाले जानकारी दिएको छ । 
    ‘धुलिखेल नगरपालिकाको वडा नम्वर १, २, ३, ४, ५ र वडा नम्वर ८, ९, १०, ११, १२ नम्वर वडाका अधिकांश निजी आवास, सडक, खेतियोग्य जमिन, पशुपंक्षी तथा केहि वडाहरुमा मानवीय क्षति समेत भएकाले त्यसको प्रारम्भिक प्रतिवेदनका साथ सरकारलाई धुलिखेल नगरपालिका संकटग्रस्त पालिका घोषणा गर्न अनुरोध गर्ने कार्यपालिकाले निर्णय गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘हरेक वडामा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको छ ।’ क्षति भएका परिवारलाई सरकारले दिएको राहतमा नगरपालिका र वडा कार्यालय मार्फत समेत राहत उपलब्ध गराईएको छ । धुलिखेलमा २ नागरिकले ज्यान गुमाए भने एक जना अझै बेपत्ता छन् । पनौतीका एक युवाले पनि धुलिखेलमा ज्यान गुमाएका थिए । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिंगो काभ्रेपलाञ्चोक जिल्लालाई नै संकटग्रस्त घोषणा गर्ने निर्णय जिल्ला विपद् ब्यवस्थापन समितिले गरेको बताए । 
    धुलिखेल नगरपालिकाले तयार गरेको प्रारम्भिक तथ्यांक अनुसार ६४ घर पूर्ण रुपमा क्षति भएका छन् भने ५ सय ७२ घर आंशिक क्षति भएका छन् । धिताल खोला हुँदै बहने सिंचाईमा ५० लाख बराबरको क्षति पुगेको छ । साँढे ८ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा माटो सहितको १ सय १० किमी सडकमा क्षति पुगेको धुलिखेल नगरपालिकाले जानकारी दिएको छ । धुलिखेलमा गाई बाछी १२ वटा, भैसी, पाडी ४ वटा, बाख्रा ३४ वटा, बंगुर ६ वटा र कुखुरा ४ सय ५० वटा क्षति भएका छन् । १८ लाख रुपैयाँ बराबरको पशुधन क्षति भएको प्राविधिक हरिश्चन्द्र लामिछानेले बताए । 
    ११ वटा विद्यालयमा ५ करोड २५ लाख बराबरको क्षति भएको छ । धुलिखेलमा रहेको खानेपानीमा २ करोड ४ लाखको क्षति भएको छ । धुलिखेल खानेपानी उपभोक्ता समितिको पाईप तथा अन्य क्षति २ करोड भन्दा धेरैको भएको बताईएको छ । नगरपालिका आफ्नै फाईबर केबुल ५ हजार मिटर, टिफिन बक्स, क्यामेरा लगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ । १२ सय रोपनीको मकै, २५ सय रोपनीमा लगाएको धान, २ हजार रोपनीमा लगाएको तरकारी र १५ वटा टनेलमा क्षति पुगेको छ । नगरपालिकाले निज िआवास बाहेक ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ । विद्युतका पोल तथा ट्रान्सफरमर लगायतका सामाग्रीहरुमा समेत क्षति पुगेको छ । धुलिखेल नगरपालिका वडा नम्वर ५ मा रहेको ट्रिटमेन्ट प्लान्ट तथा अन्य पूर्वाधाहरुमा समेत क्षति पुगेको नगरपालिकाले जानकारी दिएको छ ।
    धुलिखेल नगरपालिका भित्र पर्ने नेपाली सेनाको काली जंग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याव, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनाहरुमा समेत क्षति पुगेको बताएको छ । यति धेरै क्षति हुँदा पनि सरकारले संकटग्रस्त पालिका घोषणा नगरेकोमा कार्यपालिका बैठकले उक्त निर्णय फेरबदल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
    नगरपालिकाले तत्काल नागरिकहरुको खोज, उद्धार र उपचारमा ध्यान दिएको थियो । अझै एक जना बेपत्ता भएकाले केहि दिन निरन्तर सुरक्षाकर्मीहरुको सहयोगमा खोजतलास गरिएको थियो । मृतकका आफन्तलाई राहत वितरण तथा पीडितहरुलाई तत्काल आवश्यक पर्ने राहत सामाग्री उपलब्ध गराईएको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए । खाद्यान्न, लत्तकपडा, त्रिपाल, जाली, खानेपानीका पाईप तथा अन्य सामाग्रीहरु वडा कार्यालय मार्फत र सिधै नगरपालिका मार्फत समेत उपलब्ध गराईएको थियो । 
    धुलिखेलमा तत्काल खानेपानीको अभाव भए पछि नगरपालिकाले विभिन्न संघ संस्था तथा स्थानीय र वडाहरु मार्फत टोल टोलमा ट्याकंर मार्फत खानेपानी उपलब्ध गराउन शुरु गरेको वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक गणेश आचार्यले बताए । दशैं अगावै रोकिएका सबै सडकहरु सफा गरेर संचालनमा ल्याईसकेको धुलिखेल नगरपालिका अब पुनर्निर्माणको योजनामा जुटेको छ । धुलिखेल खानेपानी र एकीकृत खानेपानीमा क्षति पुगे पछि धुलिखेलमा खानेपानीको हाहाकार हुन थालेको छ । एकीकृत खानेपानीमा मात्रै १० करोड भन्दा धेरैको क्षति हुन पुगेको छ । पनौती १२ मा पुनर्निर्माणका लागि धुलिखेल नगरपालिका र खानेपानी उपभोक्ता समितिका तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने यस अघि नै निर्णय भईसकेको छ । उक्त रकम तत्कालै उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।