2024 October 15/ 03:12: 40am

त्यसबखत ती संस्थाहरु बनेपामा खोल्नुपर्ने अनेक कारणहरु मध्ये ठोस कारण बनेपाका अति लोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा अघिदेखि कुटिकर उद्योगको केन्द्र, यातायातको सुविधा र पूर्वी पहाडको ढोकाजस्तो र बनेपाको औद्योगिक मनोवृत्ति थियो ।

मोतिराम तिमल्सिना
बनेपा

    संसद्ले गठन गरेको संसदीय समितिले नेपालमा सहकारीको इतिहास काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट शुरु भएको प्रतिवेदन संसद्लाई बुझाएको छ । संसद्लाई बुझाएको प्रतिवेदन सरकारले अपनत्व लिदै तत्काल कार्यान्वन गर्ने निर्णय गरेको छ । सोहि प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । 
    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ मा नेपालमा सहकारीको ऐतिहासिक विकास सम्बन्धी परिच्छेद ३ को ३.१ मा अवधारणा विकासको चरण (२०००–२००५) मा बनेपामा पहिलो सहकारी सरकारी स्तरबाट शुरुवात भएको उल्लेख छ । सोहि प्रतिवेदनका आधारमा सरकारले सहकारी इतिहासलाई बदल्नु पर्ने निश्कर्ष छ । सोहि निर्णयका लागि विभिन्न क्षेत्रबाट सरकारलाई सुझाव तथा दबाब दिन आवश्यक रहेको सहकारी क्षेत्रका विज्ञहरुले बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा सहकारीको इतिहास खोज गर्ने अभियानमा सक्रिय सहकारीकर्मी दिपक पौडेलले संसदीय समितिले पेश गरेको प्रतिवेदन अनुसार सहकारीको इतिहास लेखिनु पर्ने बताए । 
    संसद्ले सुर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ईश्वरीदेवी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल, दिलेन्द्रप्रसाद बडु, धु्रर्वबहादुर प्रधान र सरिता भुसाल सदस्य रहेको समितिले नेपालमा सहकारीको ऐतिहासिक विकास, विश्व सहकारी अभियान, नेपालमा सहकारी समस्याको अध्ययन र सिफारिस कार्यान्वयन, सहकारी विधिशास्त्र, सहकारी संकट समाधान र यसका सीमा, सहकारीमा वित्तीय सुशासनः निरन्तर अनुगमन, सुधार शून्य, सहकारी कसुरमा कारवाही, समस्यामा रहेका सहकारीका वित्तीय विश्लेषण र देखिएका समस्या, केहि सूचकमा हेर्दा राम्रा सहकारी र अनुकरणीय अभ्यास, नेटवर्किङ्ग ब्यवसायसँग जोडिएको सहकारी ठगी, सहकारीमा बचत दुरुपयोग, फैलिएका जरा, सहकारी संकट र राजनीतिक दल, संघीयतामा सहकारी नियमन, सहकारी संकट स्थलगत निरीक्षणको वस्तुस्थिति, सहकारी समस्याको समाधान, विहङ्गम विश्लेषण, निश्कर्ष, सुझाव तथा सिफारिस पेश गरेको छ । 
    बनेपामा स्थापना भएको सहकारी सम्बन्धी इतिहासका दस्तावेजमा लेखिएका विषयहरुलाई समेत समितिले दस्तावेजका रुपमा समावेश गरेको छ । ‘शतप्रतिशत जस्तै कृषक भएको नेपाल अधिराज्यमा कृषकलाई ऋणबाट मुक्त गरी कृषि उत्पादन बढाउनु र पुरानो घरेलु उद्योग पुनः सुरु र नयाँको स्थापना नै नेपालको छिटो आर्थिक विकास निर्भर हुने तथ्यबाहेक नेपाल सरकारको अगाडि त्यसबेला अर्काे कुनै विकल्प थिएन । उक्त सुझावमा यो काम सरकारले गर्न सक्दछ र त्यो काम सुरु पनि गरिहाल्नु पर्दछ भन्ने तथ्य समेतको सुझाव थियो ।’ तत्कालीन श्री ३ जुद्दशमशेरलाई लामो ब्याख्या गरेपछि हाल एक ठाउँमा चलाउनलाई पटके एक लाख रुपैयाँ र कर्मचारीको दरबन्दी पास गरिदिनु भन्ने आदेश भई सोही कुरालाई सरदार भूपध्वपज कार्कीले खड्ग निशाना लगाइदिएपछि २००० साल भदौ महिनामा लाएण्ड मोर्टगेज (साहुको ऋण चुक्तागरी हलुका ब्याज लिने गरी जमिन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र को–अपरेटिभ सोसाईटी (कृषि र घरेलु इलमीलाई आवश्यक बीज अथवा औद्योगिक कोरा जिनिस सुपथ मूल्यमा किन्ने र उनीहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रवन्ध मिलाइदिने) को स्थापना भएको थियो । त्यसबखत ती संस्थाहरु बनेपामा खोल्नुपर्ने अनेक कारणहरु मध्ये ठोस कारण बनेपाका अति लोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा अघिदेखि कुटिकर उद्योगको केन्द्र, यातायातको सुविधा र पूर्वी पहाडको ढोकाजस्तो र बनेपाको औद्योगिक मनोवृत्ति थियो । 
    नेपालको कूल ग्राहस्थ उत्पादनको लगभग चार प्रतिशत सहकारीको क्षेत्रको हिस्सा रहेको छ । समग्र आर्थिक क्षेत्रको २० प्रतिशत योगदान सहकारी क्षेत्रको रहेको छ । पछिल्लो तथ्यांक अनुसार ३१ हजार ४ सय ५० वटा सहकारी संस्था दर्ता भएका छन् । ९४ अर्ब १५ करोड शेयर पुँजी लगानी भएको छ । ४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन र ४ खर्ब २६ अर्ब ३५ करोड ऋण लगानी भएको छ । २००० सालमा बनेपामा पटके एक लाख रुपैयाँ र बार्षिक दश–बाह्र हजार रुपैयाँ खर्च गरी बनेपामा खुलेको लाएण्ड मोर्टगेज बंैक र को–अपरेटिभ सोसाइटी सफल सावित भएमा अधिराज्यब्यापी सो खोलिने कार्यक्रम थियो । तत्कालीन समयमा सबैभन्दा ठूलो आवश्यकता थियो ग्राम विकासको र सबभन्दा जटिल समस्या भनेकै गाउँलेको बढ्दो कृषि ऋण र सेलाउँदै गरेको कुटिर उद्योग । झण्डै ९८ प्रतिशत नेपाली जनता गाउँले हुँदा गाउँको विकास विना गाउँलेको क्रयशक्ति बढ्ने विकल्पै थिएन । त्यसैले २००० सालमा अधिराज्यब्यापी भू–बन्धक बैंक र को–अपरेटिभ सोसाईटी अविलम्ब खोल्ने योजना सुरु भएको देखिन्छ । त्यसबखतको राजनीतिक र आर्थिक पृष्ठभूमिको विचार गर्ने हो भने २००० सालमा गठित ती दुई संस्था २०१६ सालको भूमि सुधार ऐनभन्दा कुनै दृष्टिकोणबाट कम क्रान्तिकारी थिएनन भन्न सकिन्छ । त्यो जमानामा आजकल जस्तो कामको साथसाथै प्रचारप्रसार गर्ने निकाय र ब्यवस्था नहुँदा ती दुई निकायले पर्याप्त प्रचार र प्रसार पाएनन् । फलस्वरुप २००५ साल चैत्र १ गते दुवै निकाय खारेज भई त्यहाँका कर्मचारी राष्ट्रिय आर्थिक योजना समितिमा समाहित हुन पुगे । 
    नेपालको ईतिहासमा हालसम्म चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख छ । सरकारी तथ्यांकमा पहिलो पटक साहुहरुको ऋणबाट मुक्त हुन २ हजार सालमा पुर्व १ नम्वर बनेपामा बैंक र को–अपरेटिभ सोसाईटीका नाममा जनतालाई ऋण मुक्त गराउने अभियान सरकारले नै शुरु गरेको तथ्यहरु फेला परेका हुन् । ‘त्यस बखतको नेपाल पुस्तक’को भाग २ मा (१९८६–१९९७) साल भाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन सरकारले को–अपरेटिभ संस्था खोलेको उल्लेख छ । मे.ज. विजय र प्रो.भिमबहादुर भन्दा पनि उनी बढी इच्छुक थिए । ती संस्था बनेपामा चाँडो खोलाईन र चलाउन । नव गठित लाएण्ड भोर्गेज बैक (साहुको ऋण चुक्ता गरी हलुका ब्याज लिने गरी जमीन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र को–अपरेटिभ सोसाईटी भन्ने नयाँ अड्डाका हाकिममा गोविन्दप्रसाद गोर्खाली, उनको मातहतमा हरिबहादुर प्रधान, अजिरमान श्रेष्ठ, मुखियामा रामकृष्ण श्रेष्ठ, कारिन्दा हरिकृष्ण मल्ल र पालेहरु तुरुन्त नियुक्ति भएका थिए । वीरगञ्जका भक्तबहादुर श्रेष्ठ बनेपामा खुलेको बैंक र को–अपरेटिभ सोसाईटीका मेनेजेर थिए । बनेपामा २ हजार सालको भदौ महिनामा उक्त बैंक र सोसाईटी खुल्ने कुराले पुर्व नम्वर १ का गरीब जनता खुशी भएका थिए । उक्त बैंक र को–अपरेटिभ सोसाईटी २००५ चैत्र १ गते देखि बन्द गरिएको उल्लेख छ । उक्त बैंकमा काम गर्ने कर्मचारीहरु असिस्टेन्ट हरिबहादुर प्रधानके र इन्पेक्टर अंजीरमान सिं प्रधानकेलाई ५ सय ५० रुपैयाँ दिने गरी २००६ साल जेठ १० गते निर्णय भएको थियो । कम्याण्डरी किताब खाना दर्ता फाँट हाकिम कारिन्दाले पुर्जी हेरी लाएण्ड मोर्टगेज बैंकका तपसीलका जवानहरुलाई २००५ साल चैत्र १ गते देखि खारेज भएकोमा सो जवानलाई राष्ट्रिय आर्थिक योजना समितिको काममा लाई राख्नु भन्ने हुकुम थियो । नानी मे.ज.विजय शम्शेर जबराले उक्त पत्र लेखी पठाएका थिए । 
    सहकारीको इतिहास कायम गराउन अहोरात्र सक्रिय सहकारीकर्मी दिपक पौडेल हुन् । उनी समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका सदस्य (२०७४–२९७६) थिए । उनी जिल्ला र राष्ट्रिय स्तरमा निरन्तर यो अभियानमा लागिरहे तर उनको कुराको सुनुवाई हुँदै भएन । तत्कालिन समयमा काभ्रेपलाञ्चोक जिल्लाकै केशव बडाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष थिए । अहिले पनि उनि सहकारी अभियानमा सक्रिय छन् । बनेपामा सहकारी स्थापना र त्यसको शुरुवात तथा निरन्तरताका बारेमा साहित्यकार, इतिहासविद मोहन दुवाल ज्ञाता हुन् । उनीसँग सोहि सम्वन्धी तथ्यहरु पनि छन् । बनेपाको शिर मेमोरियल अस्पताल स्थापनामा पनि राजदास बादेको सक्रियता थियो । बनेपाको सहकारी स्थापना र त्यस पछिका अवस्थाका बारेमा पूर्व अध्यक्षहरु शुभ अधिकारी, रामहरी केसी, उदयराम कायस्थ, सांसद् कन्चनचन्द्र बादे श्रेष्ठ सक्रिय थिए । तर पनि अझै उक्त इतिहास पुर्नलेखन हुन सकेको थिएन र छैन । भर्खरै निर्वाचित जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटेले तत्काल सहकारीको इतिहासलाई कायम गराउन सरकारका निकायसँग माग गर्ने निर्णय गरेको बताए ।