बनेपा/पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाको १९ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष मधुसूदन पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।
प्रमुख अतिथि उपप्रमुख सापकोटाले नगर क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूले नागरिकको आयआर्जन र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको भए पनि केही सहकारीका कारण सबै सहकारी बदनाम हुनुपरेको बताइन् । धेरै सहकारीले सदस्यहरूको बचत फिर्ता नगरेका कारण दैनिकजसो नगरपालिकामा उजुरी आउने गरेको उनले जानकारी दिइन् । उनले सदस्यकेन्द्रित कारोबार गर्दै सदस्यहरूको सेवामा समर्पित रहन पञ्चकुमारी बहुउद्देश्यीय सहकारीलाई शुभकामना व्यक्त गरिन् ।
संस्थाका अध्यक्ष मधुसूदन पन्तले सदस्यहरूको हितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार मुटु, मिर्गाैला, क्यान्सरलगायतका रोगबाट पीडित सदस्यलाई राहत, सुत्केरी राहत तथा अन्य सदस्यहितका कार्यक्रममा एक वर्षको अवधिमा १ लाख ९७ हजार रुपैयाँ खर्च गरिएको छ । संस्थाले जेहेन्दार विद्यार्थी सम्मान, बाल बचत प्रोत्साहन, सुत्केरी सदस्य भेटघाट, ज्येष्ठ सदस्य सम्मान, ज्येष्ठ पुरुष तथा महिला सदस्य सम्मान, उत्कृष्ट कर्जा सदस्य सम्मान र शेयर सदस्यको मृत्युमा काजकिरिया खर्चलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पन्तले बताए ।
सभामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्वअध्यक्ष मोतीराम तिमल्सिनाले सदस्यहरूको हितमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । सभामा उपाध्यक्ष आनन्द दाहाल, सचिव यादवप्रसाद सिटौला, कोषाध्यक्ष नवराज तिमल्सिना तथा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिचन्द्र भण्डारीलगायतले प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएका थिए । सभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन तथा आर्थिक वर्ष २०८३८४ का लागि प्रस्तावित योजना र कार्यक्रमहरू पनि पारित गरेको छ ।
सभामा संस्थाका सल्लाहकार कृष्णप्रसाद दाहाल, सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो । संस्थामा हाल १ हजार ३१२ जना सदस्य रहेका छन्, जसमध्ये ४१४ जना बाल सदस्य छन् । संस्थाकी व्यवस्थापक गंगा दाहालका अनुसार सहकारीले सदस्यहरूका लागि रासायनिक मल वितरण तथा सीपमूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको शेयर पुँजी १३ करोड ६१ लाख ५० हजार रुपैयाँ, कुल निक्षेप ९ करोड २२ लाख ९ हजार रुपैयाँ र कर्जा लगानी ६ करोड ४९ लाख ८७ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल वासलात १२ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । साधारण सभाका अवसरमा संस्थाले जेहेन्दार विद्यार्थी, कर्मचारी, ज्येष्ठ सदस्य खगेन्द्रकुमारी पन्त र बालकृष्ण श्रेष्ठलगायत उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान गरेको थियो । संस्थागत र सामुदायिक विद्यालयका दुई–दुई जना गरी चार जना जेहेन्दार विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।









