2019 May 23/ 06:49: 24am

प्रकाश राज अधिकारी
विद्यार्थी
ICHM कलेज हस्पिटालिटी म्यानेजमेन्ट

१) आजभोलिको दैनिकि कसरी बित्दैछ ?
विद्यार्थी जीवन रमाइलो नै छ । बिहानको समय इन्टरनेसनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आइ सि यच एम) मा पढाइको सिलसिलामा बित्दैछ । अनि दिउँसो सेफ हाउस रिसोर्टमा अकाउन्टेनको रुपमा कार्यरत छु ।
२) होटल म्यानेजमेन्ट बिषय किन छान्नुभयो ?
होटेल मेनेजमेन्ट बिषय होटेलसँग मात्र सम्बन्धित नभइ पर्यटक हरुको सेवा र सत्कार, विभिन्न ट्राभल एजेन्सी लगाएत विभिन्न क्षेत्रहरुसँग जोडिएको छ । जब देखि मैले होटेलको बारेमा बुझे त्यहि दिनबाट यो क्षेत्रमा भबिष्य बनाउछु भनी सोचको साथ हाल सम्म यहि बिषयमा अध्यनरत छु ।
३) होटल म्यानेजमेन्टका विद्यार्थीहरुका लागि के कस्ता अवसर छन ?
काठमाडौ उपत्यकामा सुबिधा सम्पन्न अनि पाँच तारे होटेलहरुको संख्या बढ्दै छ । त्यसैगरी यो बिषय अध्यन गर्ने विद्यार्थीहरु पनि धेरै नै छ्न । पेशा भन्ने कुरा दक्षता, पढाइको क्षमता र आफ्नो रुचि अनुसार  गर्ने हो । हामी हस्पिटालिटी इन्डस्ट्रीका बिद्यार्थी हातमा सीप अनि आफ्नो पढाइको तह पूरा गरे पछि  बेरोजगार बस्नु पर्दैन । त्यसैले गर्दा पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रहरूमा एकपछि अर्को अबसर आइ नै रहन्छ । आफू सक्रिय भएर बसे पछि जागीर पाइ नै हालिन्छ ।
४) बैदेशिक रोजगारीका लागि बढी केन्द्रित हो यो बिषय ?
दुबई, कतार  ओमन लगाएत अन्य मुलुकमा होटेल फिल्डमा राम्रो माग आइरहेको छ । यो बिषय वैदेशिक रोजगारको लागि बढि केन्द्रित हुन्छ भन्ने कुरा मानिसको आ–आफ्नो सोचमा फरक पर्दछ । जब कि कलेजमा आठ दस लाख खर्च गरेर पढे पछि नेपालमा मासिक १५–२० हजार तलबले काम गर्न कोहि चाहदैनन र बिदेश पलायन भएर आफ्नो क्षमता र पढाइको तह अनुसार राम्रो कमाइ र उच्च तहमा पुग्छ्न् ।
५) होटल म्यानेजमेन्टका विद्यार्थीले सर्भिस फोकस हुन चाहन्छन किन ? नेपालमै ब्यवसायको सम्भावना छैन र ?
होटेल लाइन भनेको आफ्नो लागि आफैले दुःख गर्ने क्षेत्र हो । जति संघर्ष अनि मिहेनत गरिन्छ त्यहि अनुसारको कमाई हुने गर्दछ । त्यसैले सर्भिस डिपार्टमेन्टमा मानिसहरु बढी प्राथमिकता दिने गर्दछ्न् । नेपाल जस्तो जलस्रोतमा बिश्वकै दोस्रो धनी देश अनि प्राकृतिक सम्पदाले भरिपूर्ण ठाउँमा ब्यबसायको सम्भाबना नहुने त कुरै भएन मात्र विद्यार्थीको मानसिकतामा अरुको काम गर्ने र उच्च तहमा पुग्ने सोचले गर्दा ब्यबसाय गर्नेमा कमैको सोच हुन्छ ।
६) फुर्सदको समयमा के गर्न मन पराउनुहुन्छ ?
फुर्सदको समयको सदुपयोग गर्न साथीभाइहरु सँग भेटघाट गर्ने नयाँ कुराको खोज अनुसन्धान गर्ने सामाजिक सञ्जालमा कुरा गर्ने लगायत नयाँ ठाउँमा घुम्न मन पराउछु ।
७) आफ्नो जीवनको लक्ष्य के लिनुभएको छ ? किन ?
म होटेल ब्यबसायको बिद्यार्थी भएको कारणले यहि क्षेत्रमा केही गर्न चाहान्छु । आफ्नो अध्ययन पश्चात किताबी ज्ञानलाई ब्यबहारमा उतार्ने उद्देश्यले आफ्नै ठाउँमा ब्यबसाय गरेर धेरैलाई रोजगारी दिने  सोच बनाएको छु । बिदेशी भुमिमा गरिने मिहेनत आफ्नै ठाउँमा हामी जस्ता युबाहरुले गर्ने हो भने समृद्ध नेपाल हाम्रै पालामा सम्भव छ ।
८) देशमा युवाहरु निराश देखिन्छन किन होला ? के देशमा कुनै सम्भावनानै छैन ?
देशको वर्तमान परिवेश देखेर युवाहरु निराश भैसके । जति नै पढे पनि आफ्नो पढाइको स्तर र क्षमता अनुसारको रोजगारी छैन फलस्वरूप दैनिक सयौं को संख्यामा बिदेश पलाएन भैरहेका छन् । देशमा सम्भावना त छ तर त्यसलाई परिचालन गर्ने पुजि अनि उपयुक्त यन्त्र उपकरणको अभावले गर्दा बिदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउन बाध्य छन् ।
९) माया प्रेममा पर्नु भएको छ ? युवाहरु प्रेममा किन बिश्वास कम गर्छन ?
यो उमेर भनेको माया प्रेम, मनोरञ्जन, र भबिस्य निर्माणको समय हो । माया प्रेम त भै नै हाल्छ तर भबिष्यको लागि भनेर त्यति समय दिएको छैन । महिलाको तुलनामा पुरुषहरु प्रेममा कम नै बिश्वास गर्छन् किनभने प्रकृतिले नै पुरुषहरुलाइ कुनै कुरामा गहिरिएर नसोच्ने अनि मनमा जति नै पीडा भए नि बाहिरी रुपमा मुस्कानका साथ आफ्नो मनलाई कठोर बनाउदै दैनिक कार्य सम्पादन गरेका छन् ।
१०) अन्त्यमा
अन्त्यमा नेपाल जस्तो स्वर्गको टुक्रामा जन्मेर पनि हामी रगत र पसिना बगाउन अस्ट्रेलिया, अमेरिका जापान, दुबै, कतार लगायत विभिन्न देश भन्दै भौतारी रहेका छौ । नेपालको जल जमिन र जनसंख्यालाई उच्चतम् रुपमा प्रयोग गर्र्ने हो भने रोजगारीको लागि कोहि पनि बिदेशिनु पर्दैन । त्यसगरी होटल ब्यबसायको लागि पनि बिदेशी पर्यटकको अहम् भुमिका रहेको छ ।