
शोबिता रिसाल
सामुदायिक सुचना नेटवर्क (सीआइएन)
- दैनिकी कत्तिको ब्यस्त छ ?
व्यस्त नै छ भनौ । काम नै व्यस्त प्रकृतीको भएर पनि हुन सक्छ ।
- दशै र सञ्चारकर्मलाई कसरी सम्झनु हुन्छ ?
दशै हामी हिन्दुनेपालीहरुको मुख्य चाड । परिवारसँगको भेटघाट, घुमघाम अनि आत्मियता साट्ने अवसर पनि हो । तर, सञ्चारकर्ममा लागेका हामी जस्ता व्यक्तिहरुको लागि दशैं त्यति मात्रै हुदैन रैछ । अरु समय भन्दा दशैमा सञ्चारकर्मीको भूमिका झन् महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ । सबै जना फेष्टिभ मुडमा भएको समयमा रेडियोबाट बिभिन्न जानकारी मुलक कार्यक्रम र समाचार सुनाउन पाउनुपनि एउटा अवसर हो जस्तो लाग्छ । एकातिर चाड र अर्कोतिर कामको जिम्मेवारी ।
- पत्रकारितामा कसरी लाग्नु भयो ? महिलाका लागि यो क्षेत्रमा कत्तिको चुनौति छ ?
पत्रकारितामा लाग्नु मेरो संयोग मात्रै होईन । सानै देखिको रहर जोडिएको छ । सानै देखि रेडियो असाध्यै सुन्थे । रेडियोमा बोल्ने मेरो रहर थियो । पछि एस एल सी पछि पनि पत्रकारिता नै पढे । अझ पछि रेडियो पत्रकारिता बिषय नै पढे । जसको माध्यमबाट मलाई पत्रकारिता तर्फ आउन थप सहज भयो । जहाँ सम्म महिलाका लागि लागि यो क्षेत्रको कुरा छ, चुनौति पनि छ, चुनौति संगै थुप्रै अवसरहरु पनि छ जस्तो मलाई लाग्छ । नेपालमा महिलाहरु हरेक क्षेत्रमा पछाडी भएजस्तै मूलधारको पत्रकारितामा पनि सन्तोषजनक उपस्थिति छैन । तर बिस्तारै सुधार हुदै गएको छ । पत्रकारितामा लाग्न चाहने महिलाहरु पढेर, बुझेर, आएका छन् । त्यसले पनि सहज त बनाएको छ । तर पत्रकारितामा महिलाहरुले अझै सोचे जति प्रगती गर्न सकेका छैनन् ।
- दशै लगायतका चाडपर्व बिस्तारै भड्किलो हुँदै गएको छ नि किन होला ?
यो चाही समयक्रम अनुसार परिवर्तन भएको होला । नयाँ पुस्तामा चाडबाडलाई बुुझ्ने तरिका फरक भएको पो हो कि ? दशै भनेको मान्यजनबाट आर्सिवाद लिने, परिवार भेट्ने, आतिमयता साट्ने पर्व हो । गच्छ्य अनुसारले यो पर्व मनाउनुपर्छ ।
- तपाई आफै चाहि दशैं कसरी मनाउनु हुन्छ
पत्रकारिता पेशमा आउनुभन्दा अघि पनि म परिवारसंग भेटघाट, मान्यजनसंगको आर्सिवाद लिएर दशै मनाउने । घर (गोरखा) जान्थे । पछिल्लो ६, ७ बर्ष यता देखि भने म काठमाण्डौमा नै दशै मनाउछु । परिवार नै यतै भएकाले पनि हामी दशै यतै मनाउछौ । त्यसैले पनि हरेक दशैमा मेरो ड्युटि अफिसमा नै हुन्छ । रेडियोमा समाचार, कार्यक्रम उत्पादन गर्ने, दशैका नयाँ जानकारी अरु नयाँ बिषयहरु श्रोताहरुलाई सुनाउने, नयाँ, नयाँ पुस्तकहरु पढेर मेरो दशै बित्ने गरेको छ ।
- मिडियामा रहरमा आउने र बिस्तारै पलायन हुने क्रम रोक्न कसरी सकिएला ?
हो, त्यस्तो पनि छ । हामी सबैलाई थाहा भएकै बिषय हो कि पत्रकारितामा अन्य पेशामा जस्तो आकर्षक तलव सुबिधा छैन । यो एक किसिमको सामाजिक सेवा भावकै पेशा हो भन्छु म त । सायद उमेर बढ्दै गएपछि, पारिवारिक, सामाजिक जिम्मेवारी थपिदै गएपछि आर्थिक कमिले पनि कति जना पेशाबाट पलाएन भएको होला । रहरमा यत्तिकै आउने हो भने त पक्कै पेशालाई न्याय गर्न सकिदैन । केही न केही लगाब त पक्कै हुनुपर्छ ।
- भविष्यमा के बन्ने ? किन ?
मेरो भविश्य भनेकै पत्रकारिता हो । अहिले पनि म सामुदायिक सुचना नेटवर्क सीआईएनमा कार्यरत छु । त्यो संगै एउटा कलेजमा आमसञ्चार तथा पत्रकारिता पढाउछु पनि । मैले माथी नै भने मेरो अध्ययनको बिषय पनि यहि हो ।
- युवा शक्ति बिदेशिने क्रम बढ्दो छ यस्लाइ रोक्न राज्यले के गर्नुपर्ला ?
हो, दैनिक सरदर १५ सय भनदा धेरै नेपाली रोजगारीको लागि विदेश जाने गरेको तथ्यांक हामीलाई कण्ठै छ । उच्च शिक्षाको लागि विदेश जानेहरु पनि उत्तिकै छन् । मलाई लाग्छ, यसको मुख्य कारण भनेको बेरोजगारी नै हो । सरकारले देशमा उचित शिक्षा र शिक्षा अनुसारको रोजगारीको व्यवस्थ ागर्न सके विदेश पलाएन हुने क्रम रोकिने छ । देश बिकासको चरणमा छ । गाँउ, गाँउमा स्थानीय सरकार छन् । सरकारले विकास । र समृद्धीको नारा लिएको छ । अब राज्यले यो नारा व्यवहारमा कार्यान्वयन गराउनुपर्छ ।
- इन्टरनेट र सामाजिक संजाल बिना कति समय रहन सकिएला ?
अहिलको अवस्थामा ईन्टरनेट विका रहने बिषय असंभव जस्तै हो । सुचना, जानकारी, नयाा, नौलो बिषय हरेक कुरा हामी ईन्टरनेटबाट पाउछौ । अहिले त कति बिषयमा विद्यार्थीहरुलाई होमवर्क पनि ईन्टरनेटमा खोजेर गरेर आउ भनेको देखेको छु । त्यसैले ईन्टरनेट सामाजिक सञ्चाल आवश्यक छ । झन् हामी पत्रकारहरुको लागि त ईन्टरनेट अति आवश्यक बिषय जस्तै बनेको छ ।
- अन्त्यमा............
अन्त्यमा चेटा साप्ताहिकलाई धन्यवाद । अनि सबै नेपाली दाजु, भाई, दिदी बहिनी, आमा, वुवालाई वडा दशैको हार्दिक मंगलमय शुभकामना । यहाँहरुको दशै रमाईलो होस् ।