2018 November 19/ 08:23: 12am

पूजा बानियाँ 
मिडिया पर्सन

१) दैनिकी कत्तिको ब्यस्त छ ?
व्यस्त नै छु । अधिकतम् समय मेरो पत्रकारितामा नै बित्छ । समाचार लेख्ने देखि अन्तर्वार्ता लिनमा नै म व्यस्त हुन्छु प्राय त । दिनानुदिन सामाजिक इज्जत र प्रतिष्ठान पाइसकेका व्यक्तिहरुसँगको भेटमा केहि नयाँ कुरा सिक्ने मौका पाइरहेको छु ।


२) पत्रकारिता क्षेत्रमा किन लाग्नु भयो ?
मेरो रुचि पत्रकारिता थिएन । एकदिन ग्रेस एफ.एम १०७.६ मेगाहर्जमा उद्घोषण तालिम भइरहेको सुने । एस.एल.सी दिएपछिको फुर्सदको समयमा मैले उद्घोषण तालिम लिएँ । यो २०६८ सालको कुरा हो । त्यसपछि मैले ग्रेस एफ.एम.मा नै कार्यक्रम चलाउन थाले । यसरी नै मैले मेरो पत्रकारिताको यात्रा सुरु गरेकी थिएँ । हाल म ग्रेस एफ.एम.मा कार्यक्रम प्रस्तोता सँगसँगै पिएनपि खबर डटकम नामक एक अनलाइन न्युज पोर्टलमा कार्यरत छु । समाजमा रहेका गलत प्रवृति, गलत कार्यको आवाज उठाउने स्थानीय स्तरमा नागरिकहरुलाई सचेत तुल्याउँदै आवाज विहिनहरुको आवाज बन्न म पत्रकारीतामा लागेको हुँ ।
३) अबको लक्ष्य के हो ? पुरा कसरी गर्नुहुन्छ ?
अबको मेरो लक्ष्य भनेको पत्रकारितामा नै लागेर समाज अनि राष्ट्रलाई केहि योगदान दिन सकौ भन्ने हो । लेखेर अनि बोलेर नै राष्ट्रका नकारात्मक पक्ष केहि हदसम्म सुधार्न म प्रयासरत रहने छु । हेरौ कहाँ सम्म सफलताले साथ दिन्छ ।


४) पत्रकारिताबाट समाज परिवर्तन कसरि सम्भव छ ?
पत्रकारिता समाजको ऐना हो । यसले समाजमा भएका राम्रा र नराम्रा, सत्य र असत्य घटनाको चित्रण गर्छ । परिवर्तनशील समाजलाई सहि दिशामा लैजान पत्रकारिताले अतुलनीय सहयोग पु¥याएको छ ।


५) समाजमा बलात्कार जस्ता जघन्य अपराध बढ्दो छ यस्लाई कसरी रोक्न सकिएला ?
यस्ता घटना न्यूनीकरण गर्न नागरिक, प्रहरी प्रशासन, राजनीतिकर्मी तथा शिक्षासेवीको कस्तो भूमिका हुनुपर्ने हो भन्ने विषय सञ्चार माध्यमले कडा रुपमा उठायो भने केहि हदसम्म यस्ता घटना कम हुन सक्छ । यसको लागि अभिभावक स्वयं पनि सचेत हुन जरुरी छ ।


६) राजनीतिप्रति युवाको वितृष्णा किन होला ? युवाको राजनीतिमा प्रवेश किन जरुरी छ ?
क्षमतावान, प्रतिभावान र कर्मठ युवा नेताहरुको संख्या नेपाली राजनीतिमा धेरै मात्रामा छ तर उनीहरुको क्षमता र प्रतिभालाई दबाएर राखिएको अवस्था छ । कुनै युवा नेता चर्चित हुँदा प्रोत्साहन गर्नुको सट्टा प्रतिस्पर्धीको रुपमा लिएर दवाएर राख्ने संस्कृति नेपालको राजनीतिमा विद्यमान छ । यस्तो संस्कृतिले युवा नेताहरुको राजनीति प्रतिको आकर्षणलाई झन् कमजोर बनाई राखेको छ । साथै नयाँ पिँढी जो वर्तमान पिँढी भन्दा हरेक क्षेत्रमा अब्बल छ त्यस्ता पिँढीहरुलाई राजनीति प्रति वित्रिष्णा जगाई राखेको छ ।जहाँसम्म युवाको प्रवेश राजनीतिमा जरुरी छ ? भन्ने प्रश्न छ मलाई लाग्छ जरुरी छ किनभने युवा हरेक परिर्वतनका संवाहक हुन, परिवर्तनका नाममा भएका क्रन्तिहरुमा युवाको महत्वपूर्ण भूमिका रहेको कुरा इतिहासले दर्शाउछ । नेपालको राजनीतिक इतिहासलाई केलाएर हेर्दा २००७, २०४६ र २०६२÷६३ सालका जनआन्दोलनमा युवाहरुको भूमिका अतुलनीय रहेको पाईन्छ ।


७) यो देश साँच्चै नेताले नचाहेर नै नबनेको हो त ?
हाम्रो पछौटेपन र अविकासका लागि ठ्याक्कै मिल्नेगरी हामी कसैलाई दोषारोपण गर्न सक्तैनौँ । हाम्रा नेताहरू समस्याबारे पुरै अनभिज्ञ थिए भन्न मिल्दैन । नेताहरूले नचाहेर र कामै गर्न नखोजेर विकास नभएको पनि होइन होला सायद । किनकी कुनै पनि देश र जनतालाई विपन्नता चाहनाका विषय हुन सक्तैन । साथै नेतृत्वमा संकल्प र इच्छाशक्ति हुने हो भने विगतका गल्ती, कमजोरीहरूलाई सच्याउँदै देशलाई सुखद् दिशातिर डो¥याउन सकिने सम्भावना छ ।


८) देश बिकासमा युवाको भुमिका के रहन सक्ला ?
इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, कृषक, लेखक, कलाकार, खेलाडी, कर्मचारी, पत्रकार, सैनिक, प्रहरी आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम व्यक्तिको प्रवेश युवा अवस्थामा नै हुन्छ । ती सेवामा प्रवेश गर्नेले आ–आफ्नो युवा जोस् राष्ट्रसेवामा लगाएमा विकासको हरियाली लहलहाउँछन् अनि सम्पन्नताका भकारीहरू भरिन्छन् । समष्टिमा भन्नुपर्दा देश विकासमा युवावर्गको महत्वपुर्ण भूमिका हुन्छ ।


९) कसैसँग गहिरो प्रेममा पर्नु भएको छ ? प्रेममा सेक्स किन सामान्य भएको होला ?
गहिरो मात्र होइन मलाई त म प्रेममा चुर्लुम्मै डुबेको छु जस्तो लाग्छ । तर कसैसँग चाही होइन सबैसँग । म सबैलाई गहिरो माया गर्छु । आखिर संसार मायामा नै त अडेको छ । अनि प्रेममा सेक्स सामान्य भए जस्तो मलाई लाग्दैन । मन मिल्दैमा तन मिल्छ भन्ने छैन अनि तन मिल्दैमा मन ।


१०) र अन्त्यमा............
अन्त्यमा विशेष धन्यवाद चेष्टा साप्ताहिकलाई । साथै चेष्टा साप्ताहिकले आगामी दिनहरुमा सफलता प्राप्त गर्न सकोस् शुभकामना दिन चाहन्छु ।