2024 April 26/ 01:35: 13pm

उमेश घिनांजू श्रेष्ठ
अध्यक्ष
दिपाञ्जली बचत तथा ऋण सहकारी संस्था लि.
धुलिखेल

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
    आजभोलि म व्यापार व्यवसायसँगै सामाजिक कार्यमा र हामीजस्ता युवाहरुलाई कसरी आफ्नो जीवन निर्वाह गर्न सकिन्छ भन्ने योजनाका साथ अघि बढिरहेको छु ।
व्यापारको अलावा अन्य संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ ? 
    म धुलिखेलमा रहेको दिपाञ्जली साकोसको अध्यक्ष, लियो क्लब धुलिखेलको अध्यक्ष र धुलिखेल जेसीजको कार्यकारीणी उपाध्यक्ष पदमा समेत रहेको छु ।
आजभोलि घरैपिच्छे सहकारी छन् ? यसले कस्तो असर पार्ला ?
    घरैपिच्छे सहकारी हुनुमा यसले असर पार्ला जस्तो मलाई लाग्दैन । सहकारी संस्थाले न्यून आय भएका, केही ऋण लिएर व्यवसाय संचालन गर्छु भन्नेहरुको पहुँच बैंक सम्म पुग्न सक्दैन । तसर्थ सहकारीले त्यस्ता व्यक्तिहरुका लागि सहकार्य गर्दछ । सहकारीको माध्यमबाट धेरैजनाले आफ्नो व्यवसाय र जीविकोपार्जन गरिरहेका उदाहरणहरु धेरै छन् । जहाँसम्म असर पार्ने कुरा छ मान्छे आफैंमा कालो हुँदैन त्यसको ठाउँमा गोरो मान्छे उभाएपछि मात्र उ कालो भन्ने ठहरिन्छ ।
सहकारी क्षेत्रमा कसरी लाग्नुभयो ?
    मेरो बाल्यकाल दुःख र गरिबीमा बित्यो । म सानैदेखि केहि रकम जम्मा गरुँ भन्ने खालको मान्छे हुँ । मैले ९ कक्षा पढ्दैखेरी नै साथीभाई सँग सरसल्लाह गरेर भविष्यमा सानो एउटा सहकारी खोल्ने योजना बनाएँ । फलस्वरुप तिनै साथीभाईको साथ र सहयोगले गर्दा आज धुलिखेलमा दिपाञ्जली साकोसको दर्ता गरें । 
जीवनलाई कसरी बुझ्नुहुन्छ ? 
    जीवन एउटा संघर्षमय पाटो हो । जति आफ्नो जीवनलाई अघि बढायो उति नै उर्जा र शान्ति मिल्दै जान्छ । त्यसैकारण जीवन एउटा संघर्ष हो । 
राशिफलमा कत्तिको विश्वास गर्नुहुन्छ ? 
    हुन त कर्म विना खान पनि पाउँदैन । कर्म आफ्नो ठाउँमा छ विश्वास आफ्नो ठाउँमा छ । तैपनि राशिफलप्रति रुची छ ।
नेपालमा विदेशिने युवा बढिरहेका छन् नि ? यसलाई रोक्न के गर्नुपर्ला ? 
    यसमा पक्कै पनि युवाहरुको गल्ती छैन । किनभने नेपालमा केहि गर्नको लागि पूँजी आवश्यक छ जुन कुरा युवाहरुसँग छैन । तसर्थ पूँजीको लागि पनि युवाहरु विदेशमा आफ्नो पसिना बगाउन बाध्य छन् । नेपालमा केहि गरुँ भने बैंकले ऋण दिँदेन । सीप र जाँगर मात्र भएर पनि के गर्ने मुख्य कुरा लगानी नभएपनि बाध्य भएर विदेशिनु परेको छ । यसको लागि सरकारले युवा स्वरोजगार जस्ता कार्यक्रम ल्याउन सके युवाहरु पलायन हुनबाट रोक्न सकिन्थ्यो । 
अहिलेसम्म चाहेर पनि पूरा गर्न नसकेको कुनै कुरा ?
    मेरो देशमा भएका नागरिकहरु कुनै अत्यन्तै धनी र कुनै अति गरिब छन् । गरिबीको कारण आफ्नो आधारभूत आवश्यकता पूरा गर्न नपाएको, भोकभोकै मर्नुपरेको खबर सुन्दा मन खिन्न भएर आउँछ । उनीहरुको लागि हामीले केही गर्नु पर्छ भन्ने सोच लिएर केहि आवाजहरु पनि उठाउँदै छु । यसतर्फ सरकारले पनि केहि सोच्नु आवश्यक छ । 
राजनीति प्रति कत्तिको रुची राख्नुहुन्छ ? 
    राजनीतिप्रति मेरो आस्था र रुची छ । राजनीति सहि ढंगबाट गरिनुपर्छ । असल र निश्वार्थ ढंगबाट गरेको राजनीतिले देश विकासमा ठूलो प्रभाव पार्दछ । 
अन्त्यमा......
    म युवाहरुलाई के भन्छु भने जीवनमा कहिल्यै हार खानु हुन्न । जीवनमा धेरै उतारचढाव आउन सक्छ । विभिन्न किसिमका संघर्षलाई छिचोल्दै अगाडि बढ्न सकेमा सफलता प्राप्त गर्न सकिन्छ । सकारात्मक सोचका साथ अघि बढौं । केहि गरौं केहि गर्ने उत्साह दिऔं ।