2024 April 27/ 05:54: 05am

सुनिता थापा
अध्यक्ष–समर्थ रियल स्टेट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.बनेपा
साविक अनेरास्ववियु जिल्ला कमिटी सहसचिव


१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
आजभोलि म आफ्नै व्यवसायतिर ध्यान दिईरहेको छु ।
२) सानै उमेरमा ब्यवसायमा संलग्न हुनुहुन्छ नेपालमा ब्यवसाय गर्न कत्तिको सहज छ ?
आत्मनिर्भर बन्नका लागि केही न केही पेसा व्यवसाय गर्न जरुरी छ । मैले पनि व्यवसायमा धेरै चुनौतीको सामना गर्नुपरेको छु । कानुनी जटिलता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा व्यवसाय निकै नै चुनौतीपूर्ण छ ।
३) निर्माणसँग सम्बन्धित ब्यवसायमा कमाई र झन्झट दुवै हुन्छ भन्छन् नि ?
ठिक हो । निर्माण सम्बन्धि व्यवसायमा कमाई राम्रो छ । तर जोखिम पनि उत्तिकै छ । काम गर्दा सुरुमा आफ्नै लगानी पर्छ, पैसा कहिले हातमा पर्छ ग्यारेन्टी हुदैन ।
४) नेपालमा ब्यवसाय गर्दा आइपर्ने समस्या के हो ? सरकारले कसरी नेपाली ब्यवसायलाई प्रबद्र्धन गर्नुपर्ला ?
हाल नेपालमा व्यवसाय गर्न निकै नै चुनौतीपूर्ण छ । कर वृद्धि, स्पष्ट कानुन नहुनु, अस्वस्थ प्रतिस्पर्धा, योजनाको भुक्तानी झन्झटिलो लगायतका समस्या छन । यसका लागि सरकारले व्यवसायीमैत्री कानुनी निर्माण, लगानीको लागि कर्जाको सहजरूपमा उपलब्धता, मालवाहक सवारी साधनको सहज आवत–जावतको व्यवस्था लगायतका कुरामा ध्यान दिन जरुरी छ ।
५) युवाहरु ब्यवसायी बन्नभन्दा पनि बिदेशिन रुचाउँछन् किन होला ?
नेपालको शिक्षा प्रणालीको कारणले गर्दा नै शैक्षिक बेरोजगारको अवस्था आइरहेको छ । निश्चित तहको अध्ययन पछि सर्टिफिकेट त आउँछ तर व्यवहारिक शिक्षाको अभाव नेपालमा छ । युवाहरुलाई सीपमूलक र प्राविधिक शिक्षा प्रदान गर्ने हो भने युवा पलायन हुनबाट रोक्न सकिन्छ ।
६) नेपालमा राजनीतिमा किन कम रुची राख्छन् ? राजनीतिलाई सम्मानित कसरी बनाउन सकिन्छ?
विभिन्न राजनीतिक व्यवस्थाहरुलाई परिवर्तन गर्दै आजको अवस्थामा आईपुगेका छौ । राजनीतिमा रुची झन बढिरहेको छ जस्तो लाग्छ मलाई । राजनीतीमा केही अराजनीतिक तत्वको प्रभावले गर्दा सम्मानित बनाउन नदिने प्रयास भएको छ । देश र जनताका लागि निस्वार्थ र इमानदारीसाथ गरिने राजनीति सधैं सम्मानित छ ।
७) राजनीति किन गर्ने ? राजनीति पेशा बनाए भन्ने आरोप छ नि !
सबै जनताको समान अस्तित्वको लागि राजनीति आवश्यक छ । राजनीति पेशा होइन सेवा हो । जनताको आवाज बोल्ने, जनताको आवश्यकता पूरा गर्ने, जनताको हकहितमा लाग्ने कामलाई पेशा भन्न सुहाउँदैन । यो एउटा सेवामूलक कार्य हो ।
८) नेपालको आमूल परिवर्तनको सम्भावना कत्तिको देख्नु भएको छ ?
अवश्य देखेको छु । जुन अहिलेको सरकारको भिजन छ त्यसमा सबैले साथ र सहयोग गरेमा आमूल परिवर्तन छोटोे समयमै सम्भव छ ।
९) प्रणय दिवसप्रतिको तपाईको धारणा कस्तो छ ?
प्रणय दिवस पश्चिमी संस्कृति हो । यसलाई किन प्रोत्साहन गर्ने ? नेपाली संस्कृति अनुसार आमाबुवा, दाजुभाइ, दिदिबहिनी, साथीभाई सबैलाई माया ममता, आदर संस्कार गर्ने परम्परा चलिरहेकै छ त ।
१०) अन्त्यमा......
विश्व बजारमा जुनसुकै कार्यमा आम नेपाली युवावर्गको रगत, पसिना र मेहनत छ । त्यसलाई नेपालमै राख्न र राष्ट्र निर्माणका लागि युवावर्गलाई उचित अवसरको वातावरण बनाउनु पर्छ । यसबाट मात्रै सुखी नेपाली सम्मृद्ध नेपाल निर्माण सम्भव छ ।