2020 January 18/ 02:39: 51pm

सुशान्त सिग्देल
सिइओ 
हाइजेनिक मिट सेन्टर, 
ड्रीम सर्च एन्ड इन्टरनेशनल कन्सल्टेन्सी काठमाडौं


१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
दैनिकी ब्यस्तताका बिच नै चल्दैछ भन्न सकिन्छ । कन्सल्टेन्सी र हाइजेनिक मासुको पसल सञ्चालनमा छु ।
२) कस्तो हो यो हाइजेनिक मासु बिक्री ? के बजारमा पाइने मासु हाइजेनिक छैन र ?
हाइजेनिक मासु भन्नाले अन्र्तराष्ट्रिय गुणस्तर र मापदण्ड अनुसार प्रोसेसिङ र विक्री वितरण गर्ने अभ्यासलाई बुझ्न सकिन्छ । बजारमा सबै बितरकले हाईजेनिक हिसाबले बितरण गरेको पाइदैन । हामी मात्र त हैन तर औसत मासु बितरण प्रक्रिया हाईजेनिक छैन ।
३) आम उपभोक्तामा यो कुराको ज्ञान छ त ? किन सचेत हुनुपर्छ मासु खाने उपभोक्ता ?
आम उपभोक्तामा मासुमा गुणस्तर र हाइजेनिक हुन्छ भन्ने कुराको ज्ञान लगभग छैन । तरपनि वितरकले ध्यान दिने र हाइजेनिक र गुणस्तरीय मासु बेच्न थालेपछि यसको ज्ञान बढ्दै जानेमा विश्वास गर्न सकिन्छ । हामीले खाने हरेक खानेकुरामा आम उपभोक्ता सचेत हुन जरुरी छ । उपभोग्य बस्तु स्वास्थ सँग जोडिने कुरा हो ।
४) विभिन्न ब्यवसायमा आबद्ध हुनुहुन्छ समय कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
ब्यवसायलाई ब्यवस्थित बनाउन सके मल्टिपल बिजनेस सामान्य कुरा हो । आजको समय डिजिटल समय हो त्यसको प्रयोगले पनि ब्यवसायलाई सहज बनाउछ भने अर्कोतर्फ ब्यवसाय भनेको टिमवर्क पनि हो । यी सबै कुराको सहज प्रयोगले ब्यवसायलाई ब्यवस्थापन गर्न समस्या छैन ।
५) नेपाली विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनमा किन विदेश रोजाइ हो ?
पहिलो कुरा त नेपालको शैक्षिक नीति हो,  भने दोश्रो भविश्यप्रतिको चिन्ता र तेश्रो चलेको चलन । यिनै तीन कुराले मानिस उच्च शिक्षाका लागि बिदेश जान आतुर रहन्छ ।
६) तपाईको कन्सल्टेन्सिले दिने सेवा के कस्ता हुन् ? कस्ता विद्यार्थीहरुको रोजाइमा तपाईको कम्सल्टेन्सी पर्छ ?
हाम्रो कन्सल्टेन्सीले दिने सुबिधा भनेको शैक्षिक परामर्श दिने हो जुन विशेष गरि बिदेशी शैक्षिक संस्था र उपलब्ध सुबिधाका बारेमा । साथै भिसा अप्लाई र डकुमेन्टेसनको काम गर्छौं ।
७) विद्यार्थीको रोजाई प्रायः कुन देश छ ? तपाईको संस्थाले कुन–कुन देशको लागि काम गर्छ ?
विद्यार्थीले ४ प्रकारले उच्च शिक्षाका लागि बिदेशका कलेज युनिभर्सिटी रोज्ने गर्दछन् । अस्ट्रेलिया अमेरिका युरोप र त्यसपछि अन्य पर्दछन् । हाम्रो संस्थाले बिशेषगरी युरोपका देशहरु फोकस गर्छांै । जस्तै फिनल्यान्ड, नर्वे, फ्रान्स लगायत अन्य भने बजारको माग अनुरुप अस्ट्रेलिया न्युजिल्यान्ड जस्ता देशको काम पनि गर्ने गर्दछौं ।
८) देशका युवा जनशक्ति पढाई र रोजगारीका लागि बिदेश जाने क्रम बढ्दो छ । यसले त देशलाई घाटा हुन्छ नि हैन ?
यो एकप्रकारको समस्या पनि हो । देशमा उच्च शिक्षाको माग धान्न नसक्नु र गुणस्तरीयता नहुनु साथै रोजगारीको अवसर नहुनुले पनि युवाहरु विभिन्न बहानामा बिदेशिन बाध्य भएका हुन । तर यसको सकारात्मक पाटो भनेको देशमा रेमिट्यान्स भित्रेको छ बिदेशबाट फर्किदा केही आर्थिक उपार्जन र सीप साथै शैक्षिक योग्यता बोकेर फर्किन पनि सक्छन् अब उनिहरुलाइ फर्काउन नेपाल सरकारले केही सोच्न जरुरी पनि छ ।
९) युवा र प्रेम एक अर्काका पर्याय हुन् ? आजभोलिको युवाहरुको प्रेम किन दिगो रहन्नँ ?
युव अवस्थामा प्रेम हुनु अति सामान्य कुरा हो । अर्थात युवा र प्रेमलाई एकअर्काका पर्याय मान्न सकिन्छ । युवा अवस्थाको प्रेम दिगो नहुनु भनेको परिपक्वताको कमी र अनावश्यक चाहना नै हो भन्न सकिन्छ ।
१०) अन्त्यमा .......
देश आर्थिक रुपान्तरणको अवस्थामा छ । युवाले आफ्नो सिपको सदुपयोग गर्नु आवश्यक छ । सबैले आ–आफ्नो ठाउँबाट उचित योगदान गर्ने हो भने सम्बृद्ध नेपालको सपना साकार हुन्छ ।