2024 April 26/ 05:16: 49pm

संगिता राना  मगर
बनेपा १४ साँगा काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
आजभोलि म पढाइमै ब्यस्त छु । साथै ट्राभल गर्न अलिक मन पराउने भएकाले प्रायःसाथीभाइ सँग घुम्न निस्किरहेको हुन्छु ।
२) तपाईलाई घुम्नका लागि मनपर्ने ठाउँ कुन कुन हो ?
नया ठाउँ प्रायः जाउ जस्तो लाग्छ । विशेषगरी चिनिएका ठाउँहरु मेरो रोजाइमा पर्छ । कहिले काहि साथीभाईले सजेस्ट गरेका र विभिन्न माध्यमबाट आकर्षक देखिएका स्थानहरुमा घुम्न जान मनपर्छ ।
३) जीवनमा शिक्षाको महत्व किन छ ? नेपालमा ब्यवहारिक शिक्षा छैन भन्ने गुनासो छ नि !
शिक्षाको महत्व सबैतिर छ । शिक्षा बिनाको जीवन अन्धकारै अन्धकार रहन्छ । अनौपचारिक शिक्षा त जहाँ जसरी पनि प्राप्त गरिएला तर औपचारिक शिक्षा मानिसको जीवनको मार्गदर्शक नै हो । हो नेपालमा भएको शिक्षा ब्यवहारिक छैन जसकारण बेरोजगारी बढ्दो छ ।
४) ब्यवहारिक शिक्षा नभएर हो या अवसर नभएर नेपालीहरु बिदेशिन हतारिन्छन् ?
दुबै कुरा खड्केको छ नेपालमा एकातिर ब्यवहारिक शिक्षा छैन जब ब्यवहारिक शिक्षा नै छैन भने अवसर कम हुने कुरा सामान्य नै हो । सिमित ब्यक्तिहरुमा अवसर घुमिरहँदा सम्भावना बोकेका युवाहरु शिक्षा र रोजगारीका लागि बिदेशिन बाध्यछन् ।
५) नेपालको सोचे अनुरुपको विकास नहुनुको कारण के हो जस्तो लाग्छ ?
नेपालको सोचे जस्तो विकास नहुनु हाम्रा नीति निर्माता र राजनीति गर्ने नेतृत्वमा दूरदर्शिता नहुनु हो । नेपालका जिम्मेवार ब्यक्तिले गर्ने सामाजिक काम देखावटी र आफ्नो फाइदा ज्यादा खोज्दा लगानी अनुसारको प्रतिफल निस्किन नसकेको हो ।
६) हामी सरकारलाई सधै सबै कुरामा दोष दिन्छौं तर आम मानिसको पनि दायित्व रहन्छ भन्ने किन बुझ्दैनौ ?
हो, आम मानिसको दायित्व रहन्छ तर सरकार र राजनीतिक दलले जनतालाई बिश्वास दिलाउने वातावरण निर्माण गर्न सकेका छैनन् जसकारण आम मानिस पनि आफ्नो दायित्वबाट पछि हटेको आभाष हुन्छ ।
७) युवाहरुको राजनीतिमा चासो नहुनुको कारण के होला ? युवाले राजनीति गर्नु गलत हो त ?
युवाहरुले राजनीतिमा चासो नदिनु राजनीतिलाइ हेर्ने दृष्टिकोण गलत हुनु र दलहरुले युवालाई अवसर नदिनु नै हो । साथै जनताले चुनावमा समेत युवाप्रति भरोसा नगर्नु अर्को कारण हो ।
८) युवाहरु देश विकासमा कसरी सहभागी बन्न सक्छन् ? हामी किन देशका बारेमा सोच्न सकिरहेका छैनौ ?
युवाहरु देश विकासमा विभिन्न माध्यमबाट सहभागी हुन सक्छन् । चाहे विकास निर्माण, ब्यवसाय, राष्ट्रसेवा अथवा समाजसेवा गरेर । देशको बारेमा नसोच्ने नेपाली को होला र ! आफ्नो दैनिक जीवनयापन सोच्दा सोच्दै मानिस देश भन्दा आफ्नो स्वार्थमा केन्द्रित हुनेरहेछ ।
९) सामाजिक सञ्जालको प्रयोग कत्तिको गर्नुहुन्छ ? तपाईका फलोअर कत्तिका छन् ?
सामाजिक सञ्जाल अब मानिसको जीवनको पर्याय नै बनिसकेको छ । मानिसले आज हरेक कुराको जानकारी सामाजिक सञ्जालबाट नै पाउने गर्दछ । म पनि त्यसमध्य नै पर्दछु । मेरा फलोअर्स चाहिँ हैन म चाहि धेरैको फलोअर्स हुँ ।
१०) अन्त्यमा....
अन्त्यमा हामी अग्रसरता अरुबाट हैन आफुबाट गर्नुपर्छ र सकारात्मक सोच लिएर हिड्ने बानी बसाल्नु पर्छ ।