अध्यक्षमा टोम
धुलिखेल/सरकारका प्रवत्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पहिलो वर्ष आधार वर्ष र दोश्रो वर्ष कार्यान्वयन बर्षका रुपमा लिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताएका छन् ।
‘गफ नै नगरी त कसरी गर्न सकिन्छ काम ? विपीले गफ गर्नु भएको थियो केपीले काम गर्न शुरु गर्नु भएको छ’–मन्त्री बास्कोटाले भने । गैरसरकारी संस्था महासंघ काभ्रे शाखाको १६ औ बार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिबेशनको उद्घाटन सभामा बोल्दै मन्त्री बास्कोटाले समग्र मुलुकको विकासका लागि सरकारले पहिलो वर्षलाई आधार वर्षका रुपमा लिएको बताए । दोश्रो वर्षका लागि सरकारले नीति तथा कार्यक्रम मार्फत आफ्ना योजनाहरु सार्वजनिक गरिसकेकाले त्यसको कार्यान्वयन मुख्य विषय भएको बताए । ‘नीति तथा कार्यक्रममा सम्माननिय राष्ट्रपति ज्यूले मेरो सरकार भन्नु भएकोमा भएको बहस प्रति सरकारको ध्यानाकर्षण भएको छ’–उनले भने –‘जस जसले विरोध गरेका छन् उहाँहरुलाई म भन्न चाहन्छु विपी कोईराला प्रधानमन्त्री हुँदा चीन गएका बखत के भनेर सम्बोधन गर्नु भएको थियो त्यसको रेकर्ड खोजेर हेर्नुस् ।’
लोकतन्त्रमा सरकारभन्दा बलियो सामाजिक सम्वन्ध हुने भएकाले समाजको सम्वन्धलाई टिकाईराख्न सामाजिक सद्भाव र सामाजिक खुशीको पक्षमा सरकार रहेको मन्त्री बास्कोटाले बताए । ‘समृद्धी भित्र सुख छ’–उनले भने –‘घटनालाई अतिरञ्जित गरेर राजनीति रंग दिनु जरुरी छैन, राम्रोलाई राम्रो र नराम्रोलाई आलोचना गर्न विपक्षीले सिक्दा हुन्छ ।’ सत्ता गुमेको छट्टपट्टिमा लोकतन्त्र खतरामा पुग्यो भन्नु आरोप बाहेक केहि नभएको मन्त्री बास्कोटाले बताए । सामाजिक संस्थाहरुको सरकार नियन्त्रणमा नभई नियमनमा लागेकाले कानुनमा अनावश्यक कुराहरु भए सच्चाउन सरकार प्रतिवद्ध रहेको मन्त्री बास्कोटाले बताए । सामाजिक संस्थाहरुलाई आफै भित्रको शुद्दता खोज्न मन्त्री बास्कोटाले सुझाव दिए । जिल्ला अध्यक्ष पदम दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद गोमा भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसी, राजनीतिक दलका नेताहरु रिता ढकाल, दिनेश लामा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, गैसस महासंघका पुर्व अध्यक्ष कृष्णचन्द्र आचार्य लगायतले सामाजिक संस्थाहरु भित्रको शुद्धिकरण आवश्यक रहेको बताएका थिए ।
अधिबेशनको बन्द सत्रले नयाँ समिति चयन गरेको छ । समितिमा टोमप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । सभामा कोषाध्यक्ष गिता रसाईली र सचिव गुणराज मोक्तानले प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिको उपाध्यक्ष दावा तामाङ, सचिव गुणराज मोक्तान, उपसचिव शान्ता अर्याल, कोषाध्यक्ष गंगा दोङ, सदस्यहरु रीता मानन्धर, कमल बञ्जारा, शान्ति वाईबा, प्रकाश रोका, निर्मला गौतम, चमार लामा (टासी), सुमन खड्का, रामकृष्ण चापागाई, खुशराज लामा, राजकुमार तामाङ लगायत निर्वाचित भएका छन् ।





