2026 April 30/ 10:19: 51am

    ज्याम्दी/सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन आग्रह गरेका छन् ।
    मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीमा नवनिर्मित स्वास्थ्य चौकी भवन हस्तान्तरण कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले शान्तिपूर्वक र सुरक्षित भएर बस्न पाउने जनताको हक भएकाले जनतलाई निश्चिन्त भई विश्वास गर्न आग्रह गरे । सरकारले दृढतापूर्वक त्यसको प्रत्याभूत हुने गरी काम गरिरहेको छ’–मन्त्री बास्कोटाले भने । स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवास जनताको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्ने कानून संसद्ले पारित गरेको प्रसंग उल्लेख गर्दै मन्त्री बाँस्कोटाले नेपाली जनतालाई शान्ति, समृद्धि र सुख दिलाउन सरकार निरन्तर खटिरहेको बताए । मन्त्री बाँस्कोटाले नेपालीको अधिकारको लडाइँ सकिएकाले अब उत्पादन र निर्माणको लागि लाग्ने बेला भएको बताए । ‘आपराधिक मानसिकता र कानूनबीच संयोजन हुन सक्दैन, सधैँ विद्रोही बनेर पनि केही पाइन्न’–उनले भने । ‘विकास र समृद्धिका लागि रातारात केही हुन्न, यसका लागि सरकारको तीव्र कोसिस जारी रहेको छ’– मन्त्री बाँस्कोटाले भने । 
    नागरिक इमान्दार र सच्चा भए स्वतः नराम्रा घटनाको अन्त्य हुने उल्लेख गर्दै सच्चा नागरिक भए भ्रष्टाचार पनि शून्य हुने बताए । कोरियन रेडक्रसका नेपाल प्रतिनिधि सनइ किमले भूकम्पले क्षतिग्रस्त स्वास्थ्य चौकीको भवन निर्माण भएपछि नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा विश्वस्त रहेको बताईन् । कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत, मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय महामन्त्री देवरत्न धाक्वा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका निमित्त प्रमुख नन्दराज अवस्थी, स्वास्थ्य चौकी ज्याम्दीका प्रमुख यदनुाथ चापागाई, निर्माण समितिका संयोजक हरिप्रसाद पराजुली लगायतले भुकम्प पछि निर्माण भएको स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिनु पर्ने बताए । 
    कार्यक्रममा जग्गा दान गर्ने निलकण्ठ पराजुली, शिवराम पराजुली, नानीराम पराजुली, हरिप्रसाद पराजुली, रघुनाथ पराजुली र मायादेवी पराजुलीलाई सम्मान गरिएको थियो भने निर्माण कार्यमा सहयोग पु¥याउने गणेशप्रसाद पराजुली, ज्ञानेन्द्र पराजुली, गोविन्द पराजुली र माधव पराजुलीलाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी काभ्रे मार्फत निर्माण गरिएको उक्त स्वास्थ्य चौकीमा झण्डै ८० लाख रुपैया खर्च भएको जिल्ला सभापति रघुवर चौ प्रधानले बताए । जिल्लामा १२ वटा स्वास्थ्य चौकी निर्माण गरिएकोमा ६ वटा हस्तान्तरण भईसकेको छ भने ४ वटा निर्माणको चरणमा रहेको र दुईवटा निर्माण कार्य सकिए पनि हस्तान्तरण गर्न बाँकी रहेको छ । जिल्लामा १ सय १४ वटा स्वास्थ्य चौकीहरु भुकम्पका कारण भत्किएका थिए । कार्यक्रममा स्वास्थ्यचौकी भवन निर्माण गर्न जग्गा प्रदान गर्ने स्थानीय समजसेवीलाई सम्मान गरियो । कोरियन रेडक्रसको रु ७५ लाखको सहयोगमा ज्याम्दीमा ११ कोठे स्वास्थ्यचौकी र एउटा आवास भवन निर्माण गरिएको हो ।