2026 May 01/ 08:24: 53am

बनेपा, भैसेपाटी/पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको आयोजनामा समावेशी शिक्षा सम्बन्धी एक दिने अभिमुखिकरण तालिम संचालन भएको छ ।
 बनेपा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय अन्तर्गत बाल विकास तथा पूर्व प्रा.वि. कक्षाका शिक्षिकाहरुको निम्ति संचालन भएको उक्त तालिममा बनेपा न.पा. भित्रका २२ वटा विद्यालयका शिक्षिकाहरु सहित गरी २९ जना सहभागी भएका थिए । संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको सभापतित्व सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिहं बादे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा प्रमुख अतिथी बादेले तालिमको महत्वमा प्रकाश पार्दै संस्था र विद्यालयलाई बनेपा नगरपालिका कार्यालयबाट दिन सकिनेसम्मका सहयोगहरु दिने र तत्कालको लागि पोर्टेज समाहित पूर्व प्रा.वि. अन्तर्गत संचालित छात्राबासमा रहेका विद्यार्थीहरुको लागि ब्लेङकेटहरु उपलब्ध गराउने बताउनु भयो । बादेले नगरमा स्थानीय पाठ्यक्रम तयारी गरि रहेको जानकारी सहित सहभागी शिक्षिकाहरुलाई तालिममा सिकेका विषयहरुलाई आफ्नो कार्य क्षेत्रमा पूर्ण रुपमा प्रयोग गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा  बनेपा न.पा. वडा नम्बर १२ का वडा अध्यक्ष  रामबहादुर कुँवर, संस्थाका सह सचिव बलराम दहाल, संस्थाका निर्देशक मणिराज श्रेष्ठ, को अर्डिनेटर रोसन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई समावेशी शिक्षा, फरक क्षमता भएका बालबालिकाहरुलाई पनि शिक्षाको मूलधारमा समावेश गराउनको निम्ति विकासमा ढिलाई तथा अपाङ्गता सम्बन्धी पहिचान र जानकारी दिदैँ सबैको लागि शिक्षा भन्ने मूल नारालाई सारथक तुल्याउनमा मद्दत गर्ने मुख्य उद्देश्यले संचालित उक्त तालिममा समावेशी शिक्षाको परिभाषा, यसका मान्यताहरु, बालबालिकाहरुको शिक्षा तथा अधिकार सम्बन्धी भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घोषणाहरु, समावशी शिक्षामा समावेश हुने बालबालिकाहरुको प्रकार, विकासमा ढिलाई तथा अपाङ्गताको राष्ट्रिय परिभाषा, वर्गिकरण, लक्षणहरु र पहिचान गर्नको लागि पोर्टेज तथा पुनस्र्थापन संस्थाले प्रयोग गर्ने पहिचान फारामका विषयहरुमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।