2026 May 01/ 07:26: 31am

बनेपा/नेपाल हृदयरोग निवारण प्रतिष्ठानको २५ औं बार्षिकोत्सव कार्यक्रम बनेपामा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभापति अशोक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुटु जोगाउँ भन्ने अभियानमा सबै नागरिक सहभागी हुनुपर्ने धारणा राखिएको थियो । 
नगर प्रमुख बादेले नगरपालिकाले नागरिकहरुलाई स्वस्थ राख्न आवश्यक पूर्वाधार निर्माण गरिरहेको बताउनु भयो । विहानको वाकिङ्गका लागि स्वस्थ स्थान चण्डेश्वरी देखि गोसाईस्थानसम्म पुग्नका लागि सिँढी सहितको मार्ग निर्माण तथा अन्य पूर्वाधारहरु मुटुलाई स्वस्थ राख्ने खालको निर्माण गरिरहेको बताउनु भएको थियो । खानेपानी र सरसफाईलाई प्राथमिकतामा राख्दै त्यसका लागि आवश्यक पूर्वाधारहरुको तयारीमा केहि अवरोध भए पनि पूरा हुने उहाँले बताउनु भयो । सभापति अशोक श्रेष्ठले मुटु जोगाउन विभिन्न निकायसँग सहकार्य गरेर जनचेतनामुलक कार्यक्रम गरिरहेको बताउनु भयो । उपसभापति ग्रुवेन तौजलेले खानपान र रहनसहन परिवर्तन गर्न आवश्यक रहेको बताउँदै सहभागीहरु मार्फत सबै नागरिकहरुमा चेतना फैलाउनु पर्ने बताउनु भयो । सचिव टिकाभक्त भोछिभोया, कोषाध्यक्ष रामप्यारी श्रेष्ठले संस्थाको बार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभामा केन्द्रिय अध्यक्ष दिपेन्द्रपुरुष ढकाल, जिल्लाका पूर्व अध्यक्ष हरिभक्त भोछिभोया, भक्तपुर जिल्ला अध्यक्ष जननीप्रसाद मुल्मी, ललितपुरका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, रामेछाप जिल्लाका अध्यक्ष, जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहमा गठन भएका उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संघले लायन्स क्लवसँगको सहकार्यमा मुटु परिक्षण सम्वन्धीको मेशिन खरिद गर्दै छ भने नियमित क्लिनिक संचालन गरिरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा संस्थाले आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ ।