खानीखोला/विकटता भएको जिल्लाको डाँडापारी स्थित खानीखोला गाउँपालिकाको बार्षिक आम्दानी न्यून छ । खानीखोला र महाभारत गाउँपालिकाको आम्दानी र अभाव धेरै हुँदा विशेष अनुदानको माग हुँदै आए पनि बजेटले समेटन् सकेको छैन ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले विशेष योजना पेश गरेको अवस्थामा संघ सरकारले बजेट विनियोजन गर्ने प्रस्ताव गरेको छ । उर्जा, सडक, संचार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतमा पछाडी परेको डाँडापारी क्षेत्रको विकास र समृद्धका लागि पहल भए पनि त्यहाँ हुने सम्भावित उद्योगहरु स्थापना गर्न अवरोध सिर्जना भएको छ । खानीखोलामा सिमेन्ट उद्योग खोल्ने प्रस्ताव परिक्षण हुँदा वडा अध्यक्ष सहितको टोलीले असहयोग गरेर फर्कायो । मिल्चेमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको सम्भाब्यता अध्ययनका लागि आएको टोली अवरोधका बीच फर्कन पुग्यो ।
गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको पहिलो आर्थिक वर्ष २०७४/०७५ मा १ लाख ६० हजार आम्दानी गरेको छ । चालु वर्ष २०७५/०७६ का लागि १० लाख लक्ष्य राखेकोमा लक्ष्य अनुसार राजश्व संकलन नहुने देखिएको छ । ग्रामिण भेगमा २२ वर्ष देखि जग्गाको कर नबुझाएको फेला परेको प्रवक्ता एवं वडा अध्यक्ष मानबहादुर गोलेले बताए । प्रति रोपनी बार्षिक ३० रुपैया राजश्व तोकेको खानीखोलाको ताल्ढुंगामा प्रति आना २ लाख रुपैयाँमा जग्गा खरिद विक्री हुन्छ । ब्यवसाय दर्ता, जग्गाको मालपोत कर तथा विभिन्न शिर्षकबाट आम्दानी गर्न लक्ष्य राखेको गाउँपालिकामा विभिन्न जडिबुटीका उद्योगहरुको स्थापना तथा कफि, अलैची, दुधका परिकार उत्पादन गर्ने उद्योग स्थापनाका लागि वातावरण तयार हुँदै गएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए ।





